भर्खरै :

नेपाल–चीन दौत्य सम्बन्ध : दिगो मित्रताका दृष्टान्तहरू

नेपाल–चीन दौत्य सम्बन्ध : दिगो मित्रताका दृष्टान्तहरू

म आ’को मास नहुँदै स्वामी ल्हासा जान्छु रे
हे मेरी सासू उहाँलाई रोक्नुस् यो एक बार है !

दुलही मेरी त्यो छोरोलाई रोक्न म सक्दिनँ
रोजगार छैन छोराको आज कसरी रोकूँ म ?

(हरि श्रेष्ठ, २०३१, नेवारी लोकगीत, प्रज्ञा प्रतिष्ठान)

काठमाडौँ उपत्यकाका नेवार समुदायले गुन्हिपुन्ही (गाईजात्रा) पर्वमा गाउँदै आएको एक प्राचीन गीतिकाव्य ‘जि वया ला लछि मदुनि’ (म आएको मास नहुँदै) आजभन्दा करिब २०० वर्षअगाडि लेखिएको मानिन्छ । यसलाई भक्तपुरतिर ‘सयँदे या मे’ अर्थात् ल्हासा (भोट) को गीत पनि भनिन्छ । यस गीतिकाव्यले तत्कालीन नेपालको आर्थिक तथा सामाजिक स्थिति र नेपालको ल्हासासँगको सम्बन्ध केलाउन मद्दत गर्दछ । करिब एक शताब्दीपछि नेपालका महाकवि लक्ष्मीप्रसाद देवकोटाले त्यही नेवारी गीतिकाव्यबाट प्रभावित भएर
(भनिन्छ) उस्तै पृष्ठभूमिमा लेख्नुभएको ‘मुनामदन’ मा पनि ल्हासाकै कुरा छ ।
नेपाल र चीनबीचको दौत्य सम्बन्ध कायम भएको पनि २०२२ अगस्त १ (२०७९ साउन १६) बाट ६७ वर्ष लाग्दै छ । तर, नेपाल चीनबीचको सामाजिक, सांस्कृतिक, आर्थिक र राजनीतिक सम्बन्ध प्राचीनकालदेखि नै हो भन्ने आधार प्रशस्त छन् । यसै सेरोफेरोमा प्रस्तुत आलेख तयार पारेको छु ।

भोटकै बाटो
सुरुआतमा विक्रमको २०३० मा प्रकाशित ज्यानबहादुर नेवाको ‘चीन भ्रमण’ को भूमिकाबाट एउटा अनुच्छेद साभार गरौँ :
माघ शुक्ल पञ्चमीमा ‘सरस्वती’ चीनबाट आइपुग्ने दिन हो भन्ने किंवदन्ती छ । अघिल्लो दिन चौँथीको रात केटाकेटीहरू सरस्वतीस्थानमा गएर जाग्राम बस्ने गर्दछन् । बालककालमा म पनि त्यस्तो जाग्राम बस्ने समूहमा सरिक हुन्थेँ । टाढा (चीन) देखि आउने भएकोले थकाइ लाग्ने ठानेर मध्यरात भएपछि हामी सुगन्धित चुवाको तेलले सरस्वतीको पाउ (मुर्तिमा) मोल्ने गथ्र्यौँ ।
आजभन्दा २५–३० वर्षअगाडि हुलका हुल केटाकेटी भक्तपुर सुडालस्थित ‘ल्हासापाको ससुद्यो’ जान्थे । चीनको ल्हासाबाट आएकी ‘सरस्वती’ भन्ने शाब्दिक अर्थ लाग्छ, ‘ल्हासापाको ससुद्यो’ को । माघ शुक्ल पञ्चमीदेखि चैत कृष्ण औँसीसम्म नेपालमा बसेर सरस्वती चीन फर्किन्छिन् भन्ने जनश्रुति छ । अक्षर सिक्ने भन्दै भक्तपुर नगरदेखि सुडाल ‘सरस्वती’ मन्दिर पुग्थे सयौँ केटाकेटी । यो लेखक पनि बालसखाहरूसँग एकपटक पुगेको थियो त्यहाँ । बिहान सखारै हिँडेर मन्दिर पुग्ने क्रममा केटाकेटीले यात्राको सेरोफेरो, साथीसङ्गाती र ठूलाबडाको कुराकानीबाट धेरै विषयवस्तु सिक्न पाउनु एउटा अलग पाटो पनि हो । त्यो सरस्वती मन्दिरमा पूजा गरेपछि पढ्न सिकिन्छ, परीक्षामा पास भइन्छ भन्ने कुरा किंवदन्तीमात्र हो भन्ने पनि लाग्थ्यो ।
नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) रचित ‘सय वर्षपछिको भक्तपुर’ पुस्तकमा पनि चीन र नेपालको ऐतिहासिक सम्बन्धका विविध आयाम उल्लिखित छन् । उहाँले ल्हासाबाट हरेक वर्ष जाडोयाममा गुरुमाहरूको दल आवतजावत गरिरहन्थे भनेर लेख्नुभएको छ । चीनबाट ३ हजार वर्षअगाडि मञ्जुश्री आई नेपाल उपत्यकालाई आवादयोग्य बनाएको जनश्रुति जीवित नै छ । मञ्जुश्री वा सरस्वतीको कथा भने आर्यजातिको अपव्याख्याको कारण हुन गएको अध्यक्ष रोहितको तर्क छ । मञ्जुश्री नभई ‘मञ्चु सेसं’ हुनुपर्ने तर्क गर्दै अध्यक्ष रोहित लेख्नुहुन्छ – “चिनियाँ भाषामा मङ्गोल जातिलाई ‘मञ्चु’ भनिन्छ र ‘सेसं’ को अर्थ गुरु वा शिक्षक हुन्छ ।” उहाँले ३ हजारदेखि ४ हजार वर्षअगाडि उत्तरतिरबाट मङ्गोल, चिनियाँ र भोटे जातिका मध्यपाषाणकालीन मातृसत्तात्मक झुन्डहरू काठमाडौँ उपत्यका प्रवेश गरेको र साँक्व (साँखु), फुचो (फुलचोकी), द्यमाच्वजस्ता उच्च ठाउँमा बसोबास गर्न थालेको उल्लेख गर्नुभएको छ । साँखुलाई नेवारहरू सँको पनि भन्छन्, भोटलाई सायँ वा सँ भनिन्छ, ‘को’ को अर्थ चिनियाँ भाषामा ‘देश’ हुन्छ । नेपालभाषामा ‘को’ को अर्थ तल भन्ने पनि हुन्छ, त्यस मानेमा भोटको तल भन्ने पनि अर्थ लाग्छ । फुचोको अर्थ चिनियाँ भाषामा हावा वा बतास लाग्ने डाँडो भन्ने अर्थ लाग्छ । त्यस्तै, भक्तपुर र काभ्रेको सिमानामा पर्ने साँगा (‘सँ’ को अर्थ भोट र ‘गा’ को अर्थ खाल्टो) पनि भोटसँग जोडिएको भनेर अथ्र्याउन सकिन्छ ।
नेवारहरू चङ्गालाई भुटिमाली वा भुटिमा भन्छन् । भोटबाटै आएकोले त्यसो भनिएको हो । स्वनामधन्य लेखक सौरभको विश्लेषण पनि यस्तै छ । सौरभको ‘असङ्गत’ पुस्तकमा यस्तै थुप्रै उदाहरण पाइन्छन् । चीनमा पेत्साई भन्ने रायोलाई नेवारले पाछै भन्छन् । चीनमा मानिसको दिसा मलको रूपमा प्रयोग हुन्थ्यो, काठमाडौँ उपत्यकाका किसानहरू पनि त्यसै गर्थे । चीनमा पत्नीको उमेर पुरुषको भन्दा बढी हुन्थ्यो, नेवार किसानमा पनि त्यस्तो प्रचलन थियो, घरायसी काम गर्न सजिलो बनाउन त्यसो गरिएको हुनुपर्दछ । ‘चीन जाने बाटो’ शीर्षकको आलेखमा लेखक सौरभले लसुन, अदुवा, तोरी, सस्र्युँ, भटमास, मुला, खर्बुजा, आरु, भोगटे, लप्सी, भृङ्गराज (नेवारीमा भिलायस्वाँ), चियालगायत अनगिन्ती सामान चीनको बाटो भएरै नेपाल आएको लेखेका छन् । सौरभको स्पष्टोक्ति छ – “जनजीवन, कृषि उत्पादन, जीविकाको प्राचीन झुकाव उत्तरतिरै छ, उपत्यकावासीको मात्र होइन, अन्यत्रको पनि ।”
चीनका हुयान साङले नेपालको भ्रमण गरी आफ्नो अनुभव लेखेका थिए । सातौँ शताब्दीकी भृकुटी र १३ औँ शताब्दीका अरनिकोले बढाएको मित्रताको हात आज पनि फैलिँदो छ । त्यसैगरी, आजभन्दा करिब ४ सय वर्षअघि प्रताप मल्लको पालामा नेपाल चीन र भारतको व्यापारिक केन्द्र बनेको थियो । यसबाट के स्पष्ट हुन्छ भने नेपाल र चीन परापूर्वकालदेखि नै एक घनिष्ट मित्रका रूपमा रहिआएका छन् ।

 

नयाँ चीनसँगको सम्बन्ध
सन् १९४९ को अक्टोबरमा सम्पन्न चिनियाँ क्रान्तिपश्चात् नेपाल र चीनबीचको सम्बन्ध अझ गाढा भयो । समाजवादी चीनले कुनै स्थार्थ नराखेर, कुनै दबाब नदिएर नेपाल र नेपालीको समग्र हितका लागि मित्रवत् सहयोग गर्दै आएको छ । सच्चा मित्र र निकट छिमेकीको हैसियतले चीनले नेपालको विकास निर्माणमा यथेष्ट सहयोग पु¥याउँदै आएको छ ।
विद्वान कूटनीतिज्ञ हृषिकेश शाहको ‘प्रारब्ध र पुरुषार्थ’ भन्ने संस्मरण पुस्तकमा लेखिएको छ – “नेपालसित सन् १९५५ मा दौत्य सम्बन्ध स्थापना भएदेखि यता चीनले सधैँ नै विवेकपूर्ण छवि प्रकट गर्दै आएको छ । आर्थिक सम्बन्ध र सीमा विषयमा चीन बडो उदार देखिएको छ ।” सन् १९५३ मा नवोदित चीनसँगको मित्रता प्रवद्र्धन गर्ने उद्देश्यले नेपालमा नेपाल–चीन मैत्री सङ्घको गठन भएको यहाँ उल्लेखनीय छ । सन् १९५३ मै महाकवि लक्ष्मीप्रसाद देवकोटाको नेतृत्वमा एउटा युवा प्रतिनिधिमण्डलले चीनको भ्रमण गरी नयाँ चीनप्रति नेपालको मैत्रीभाव र समर्थन व्यक्त गरेको थियो । सन् १९५५ देखि आजसम्म नेपाल र चीनका राष्ट्राध्यक्ष, प्रधानमन्त्रीहरू, उच्चस्तरीय नेता र अधिकारीहरूको भ्रमणको अवसरमा भएका विचार विनिमयबाट दुई देशबीचको सम्बन्ध उचाइमा पुगेको आभास मिल्दछ  ।

अर्का विद्वान लेखक निरञ्जन भट्टराईले ‘नेपाल–चीन सम्बन्ध’ नामक पुस्तकमा भन्नुभएझैँ नेपालले चीनलाई भरपर्दो मित्रको रूपमा आदर गर्ने गरेकोे छ । चीनले पञ्चशील सिद्धान्तको आधारमा परराष्ट्र नीतिको अनुसरण गर्दैआएको नेपाललाई असल छिमेकीको रूपमा सम्मान गरिआएको छ । दुई देशबीच राम्रो समझदारी छ । मूलभूत रूपमा कुनै समस्या छैन । चीनले नेपालको आन्तरिक मामिलामा कुनै हस्तक्षेप पनि गर्दैन, सद्भाव राख्नु बेग्लै कुरा हो । चीनले नेपालप्रतिको व्यवहारमा कहिल्यै पनि ठूलोराष्ट्र अहङ्कार (शोभनिजम्) प्रस्तुत गरेको छैन । सन् १९६० सम्म सम्पन्न चिनियाँ प्रधानमन्त्री चाउ एनलाइको दुईवटा भ्रमणले पनि चीनले नेपाललाई कति महत्वपूर्ण ठान्छ भन्ने प्रस्ट हुन्छ । चीनले नेपालको अर्को छिमेकी भारतसँगको सम्बन्ध पनि राम्रो होस् भन्ने इच्छा राख्दैआएको छ । विद्वान हृषिकेश शाहले ‘प्रारब्ध र पुरुषार्थ’ पुस्तकमै प्रधानमन्त्री चाउ एनलाइसँगको भेटको सन्दर्भमा चाउ एनलाइको एउटा भनाइ राख्नुभएको छ, “नेपाल भारतसित मित्रवत् हुनैपर्छ तर चीनप्रति दुस्मनी नराखीकन ।” चीनले मित्रको अर्को मित्र देशसँगको सम्बन्ध नबिग्रियोस् भन्ने कामना गर्नु अति मूल्यवान् कुरा हो । यो कुरा २०४० को दशकमा चीनका लागि नेपाली राजदूत भएर काम गरेका यदुनाथ खनालबारे संयुक्त राष्ट्रसङ्घको नेपाली स्थायी प्रतिनिधिसमेत भएका जयराज आचार्यले लेखेको पुस्तकमा खनालको उद्धृत विचारबाट पनि पुष्टि हुन्छ । त्यस पुस्तकमा उल्लेख छ, “चिनियाँहरू यथार्थवादी छन् । उनीहरू नेपाल–चीन सम्बन्ध, नेपाल–भारत सम्बन्ध र चीन–भारत सम्बन्ध अलगअलग र स्वतन्त्र सम्बन्ध हुन् भन्ने मान्छन् । मेरो विचारमा चिनियाँहरू नेपाल–चीन मैत्रीलाई महत्व दिन्छन् र हाम्रो स्वतन्त्रता एवम् सार्वभौमिकताको सम्मान गर्छन् । यस विषयमा उनीहरूका नेताहरूले विशेष ध्यान दिन्छन् । फेरि, उनीहरूले नेपाल–चीन सम्बन्धलाई जतिसुकै महत्व दिए पनि त्यो नेपाल–भारत मैत्रीको स्थानापन्न हुन सक्तैन भन्ने पनि मानेका छन् ।”
सन् १९६० देखि नेपाल र चीनबीच आवासीय राजदूतहरू पठाउने बन्दोवस्त हुनथाल्यो । सन् १९६१ मा चीनसँग सीमा सन्धि बिनाविवाद सम्पन्न भयो । त्यही वर्ष नेपाल र तिब्बत प्रदेशबीच आवागमन र व्यापार बढाउने उद्देश्यले काठमाडौँ–कोदारी राजमार्ग निर्माण गर्ने सम्झौतामा हस्ताक्षर भयो । नेपाल र आधुनिक चीनका बीच पहिलो व्यापार तथा आर्थिक सम्झौता सन् १९५६ मा भएको थियो । त्यो सम्झौतापछि चीनले आर्थिक सहायता प्रदान गर्न सुरु ग¥यो । त्यसपछि निरन्तर बढ्दो व्रmममा आर्थिक र प्राविधिक सहायता दिने काम गरिरहेको छ । विगत ६० वर्षमा चीनले आफ्नो खर्चमा नेपालमा ३१ वटाभन्दा बढी परियोजना सफलतापूर्वक निर्माण गरिदिएको छ । चीनले दिने आर्थिक र प्राविधिक सहायता विकासको लागि पूर्वाधार निर्माण गर्ने वा नेपालको आयात निर्भरता घटाउने चरित्रका छन् । कोदारी राजमार्ग एउटा उम्दा उदाहरण हुनसक्छ । चीनले नेपालमा पूर्वाधार विकासका लागि आठवटा महत्वपूर्ण राजमार्ग र सडक निर्माण गरिदिएको छ । चीनको कुनै पनि सहायतामा कुनै पूर्वसर्त राखिएको देखिँदैन । त्यस्तै, चीनले प्रदान गरेको सहायता रकम कहाँ र कसरी खर्च गर्ने भन्ने कुरामा निर्णय लिन नेपाल स्वतन्त्र रहेको छ । पछिल्ला दशकमा चीनले नेपाललाई अनुदानमात्र होइन, दीर्घकालीन ऋणसमेत दिन थालेको छ । यो ऋण निःसर्त हुनु अत्यन्तै सकारात्मक छ ।
कोभिड–१९ विरुद्धको लडाइँमा चीनले नेपाललाई विविध सहयोग गरेको छ । लाखौँ मात्रा खोप, एन – ९५ मास्क, हाइड्रोजन–अक्सिजन कन्सन्ट्रेटर, पीपीई लगायतका अत्यावश्यकीय स्वास्थ्य सामग्री प्रदान गरी नेपालीलाई गुन लगाउने प्रयास गरेको छ चीनले ।

नेपालको बैगुनी राजनीति
सन् १९९८ मा चीनका लागि नेपालका राजदूत भएका राजेश्वर आचार्यले आफ्नो एउटा संस्मरणात्मक आलेखमा चीनसँग पारवहन सम्झौता गर्नको लागि गरेको प्रयासबारे उल्लेख गर्नुभएको छ । सन् २०१५ को भूकम्पलगत्तै भारतले गरेको नाकाबन्दीबीच सन् २०१६ मा तत्कालीन प्रधानमन्त्री केपी ओलीले चीनसँग पारवहन सम्झौता गरेपछि भारत झस्किएको थियो ।
पूर्वराजदूत आचार्यले आफ्नो कार्यकालमा एकदिन चिनियाँ अधिकारीसँग पारवहन सम्झौता गर्ने प्रस्ताव राख्दा लिखित मस्यौदा ल्याउन आग्रह भएअनुरूप आफैले लेखेर परराष्ट्र मन्त्रालयमा पठाएको र त्यसैको लागि तीनपटक नेपाल आउनुभएको रहेछ । उहाँको चार वर्षको कार्यकालमा नेपालमा ५ जना प्रधानमन्त्री परिवर्तन भए । अनेक प्रयास गरेपछि सो मस्यौदा सन् २००० मा चिनियाँ पक्षलाई बुझाइयो । त्यसलाई हार्दिक रूपमा लिँदै केही संशोधन गरेर छोटो समयमै फिर्ता गरेछन् । तर, काठमाडौँबाट जवाफै गएन । आचार्यका शब्द यस्ता छन् –“पत्र लेखेँ, फोन गरेँ, भेटेर लबिङ गरेँ – जति गर्दा पनि काम अघि बढेन । मलाई व्यक्तिगत रूपमा यसमा खल्लो लागिरहन्छ ।” सन् २०१६ को पारवहन सम्झौता नेपालको सार्वभौमिकतासँग जोडिएको सम्झौता हो । सम्झौताबाट नेपाल मध्यएसिया, रसिया र युरोपको बाटोसँग जोडिएको छ । सडकमार्गमात्र होइन, चीनको बाटो हुँदै समुद्रसम्म पहुँच प्राप्त भएको छ । देशको अर्थतन्त्रको निम्ति मात्र नभई देशको स्वाभिमान रक्षाको प्रश्नसँग पनि यो सम्झौता जोडिएको छ । दुःख लाग्छ, नेपाली शासकहरूको कमजोर मानसिकता र भारतसामु झुक्ने प्रवृत्तिको कारण चीनसँगको पारवहन सम्झौता कार्यान्वयन हुनसकेको छैन ।
अन्त्यमा, संसारको समृद्धिविना आफ्नोमात्र समृद्धिको अर्थ हुँदैन भन्दै चीनले ‘बेल्ट एन्ड रोड इनिसिअटिभ’ परियोजना अगाडि सारेको छ । नेपालले बीआरआईमा सहमति त जनाएको छ तर त्यसको क्रियान्वयनमा ठोस पहल तथा उत्साह देखाइरहेको छैन । बरु बीआरआईबाट आत्तिएर संरा अमेरिकाले चीनविरुद्ध आफ्नो सैन्य रणनीतिअन्तर्गत अगाडि सारेको एमसीसी परियोजनामा सहभागी भएको छ नेपाल । एउटा विशाल सोच लिएको छिमेकीको सार्वभौमिकता रक्षासँग जोडिएको विषयमा सतही विश्लेषण गरेर लिइएको निर्णयले नेपाल–चीन सम्बन्ध र विश्वमै पनि कस्तो दुष्प्रभाव पर्ला भनेर राष्ट्रिय सोच लिएर बसेका नागरिकहरू अत्यन्त चिन्तित भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *