भर्खरै :

विदेशीहरूलाई जथाभावी नेपाली नागरिकता दिनु गलत : अध्यक्ष बिजुक्छेँ

विदेशीहरूलाई जथाभावी नेपाली नागरिकता दिनु गलत : अध्यक्ष बिजुक्छेँ

पोखरा, २१ साउन । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले विदेशीलाई नागरिकता दिएपछि अर्बपति, खर्बपति नयाँ नागरिकसँग नेपाली व्यवसायीहरूले प्रतिस्पर्धा गर्न नसक्ने बताउँदै भारतीय एकाधिकार पुँजीले नेपाली व्यवसायीहरूलाई नाङलो पसलेमा परिणत गर्ने प्रस्ट पानुभयो ।
शनिबार पोखरामा ख्वप भक्तपुर मिनिबस यातायात प्रालिको प्रथम साधारणसभाको उद्घाटन गर्दै अध्यक्ष बिजुक्छेँले विदेशीलाई जथाभावी नागरिकता दिन नहुनेमा जोड दिनुभयो ।
उहाँले भन्नुभयो, “विदेशीलाई नागरिकता दिंदै जाँदा कुनै दिन राष्ट्रपति र प्रधानमन्त्री विदेशी बन्नेछन् ।”
उहाँले नागरिकतालाई गाडीको टिकटजस्तो सस्तो गर्दा देशको सार्वभौमिकता गुम्ने र यसले अन्ततः भारतीय विस्तारवादको सेवा गर्ने बताउनुभयो ।
भक्तपुरको सल्लाघारीमा रूख ढलेर दुर्घटना हुनुमा सेना जिम्मेवार भएको चर्चा गर्दै अध्यक्ष बिजुक्छेँले अन्तर्राष्ट्रिय मान्यताअनुसार सेनाको व्यारेक बस्तीबाट १२ किमि टाढा हुनुपर्ने बताउनुभयो ।
२० वर्ष पुरानो गाडी विस्थापित गर्ने सरकारको निर्णय देशको अहित र भारतीय गाडी कम्पनीको हितमा हुने धारणा राख्दै नेमकिपाले सरकारको यो निर्णयको सदनमा लगातार विरोध गरेको उहाँले बताउनुभयो ।
समसामयिक अन्तर्राष्ट्रिय परिस्थितिबारे विश्लेषण गर्दै उहाँले युक्रेन युद्धमा चीनले पश्चिमा मोर्चालाई साथ नदिएको र रुसलाई साथ दिएको रिसमा थाइवान मुद्दामा चीनलाई फसाउन संरा अमेरिकाले दुष्प्रयास गरिरहेको बताउनुभयो ।
एसियामा युद्ध हुनु नेपाल र नेपाली जनताको पनि दुःखको कारण हुने भएकोले एसियाली देशमा युद्ध थोपर्ने संरा अमेरिका नेतृत्वको पश्चिमा षड्यन्त्रको नेपाली जनताले पनि विरोध गर्नुपर्ने उहाँले बताउनुभयो ।
युक्रेन युद्धमा संरा अमेरिका नेतृत्वको मोर्चालाई साथ दिनु नेपाल सरकारको गल्ती भएको र यसले नेपाललाई पनि संरा अमेरिकी नेतृत्वको मोर्चाको चङ्गुलमा फसाउने अध्यक्ष बिजुक्छेँले बताउनुभयो ।
आयोजक संस्थाका अध्यक्ष गणेशप्रसाद लोहलाको सभापतित्वमा भएको साधारणसभामा नेमकिपाका केन्द्रीय सदस्य तथा बाग्मती प्रदेश सभाका सांसद सुरेन्द्रराज गोसाई, नेपाल यातायात व्यवसायी सङ्घका अध्यक्ष विजय स्वाँर, वरिष्ठ उपाध्यक्ष सरोज सियला, ऐनबहादुर शाही, हरिशरण केसी, महासचिव टेकनाथ गौतम, सचिव भानुभक्त बराल, कोटेश्वर पूर्व यातायात व्यवसायी सङ्घका अध्यक्ष बलराम त्वानाबासु, नेपाल राष्ट्रिय यातायात व्यवसायी सङ्घ गण्डकी प्रदेश समितिका संयोजक केदार पौडेल, ख्वप भक्तपुर मिनिबस यातायात प्रालिका कानुनी सल्लाहकार रामप्रसाद प्रजापति र किरण न्यौपानेलगायतले बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *