भर्खरै :

भक्तपुरको खानेपानी व्यवस्थापन र आपूर्तिबारे केयूकेएलको ध्यानाकर्षण

भक्तपुरको खानेपानी व्यवस्थापन र आपूर्तिबारे केयूकेएलको ध्यानाकर्षण

भक्तपुर, २३ साउन । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग काठमाडौँ उपत्यका खानेपानी लि.का कार्यकारी निर्देशक सञ्जीव विक्रम राणाले सोमबार भेट गर्नुभयो । भेटमा उहाँहरूबीच भक्तपुरको खानेपानी व्यवस्थापन र नियमित आपूर्तिबारे छलफल भयो ।
सोही क्रममा नगर प्रमुख प्रजापतिले भक्तपुर नगरपालिका वडा नं. ३ र ४ मा नियमितरूपमा खानेपानी वितरण नभएको जनगुनासो रहेको अवगत गराउनुभयो । उहाँले भक्तपुरको टोल टोलमा वर्षाको समयमा समेत नियमित खानेपानी वितरण नहुँदा स्थानीय जनता खानेपानीबाट वञ्चित हुनुपरेको हुँदा काठमाडौँ उपत्यका खानेपानी लिमिटेडका पदाधिकारीहरूले ध्यान दिनुपर्ने बताउनुभयो ।
उहाँले मेलम्चीको पानी नियमित नहुञ्जेलसम्म बोडेबाट भक्तपुरमा आइरहेको पानीको मात्रा बढाइ सहज बनाउनुपर्नेतर्फ निर्देशक राणाको ध्यानाकर्षण गराउनुभयो । प्रमुख प्रजापतिले मेलम्चीको पानी शीघ्र काठमाडौँ उपत्यकामा ल्याउनुपर्नेमा जोड दिनुभयो ।
केयूकेएलका कार्यकारी निर्देशक सञ्जीवविक्रम राणाले बोडेको पानीको मात्रा बढाएर भक्तपुरमा पठाउनेतर्फ आफूहरू सकारात्मक रहेको र तत्काल सरोकारवाला पदाधिकारीहरूसँग छलफल गरी व्यवस्थापन गर्ने बताउँदै भक्तपुरको खानेपानी समस्या समाधानको लागि आवश्यक पहल गर्ने बताउनुभयो । उहाँले केही प्राविधिक समस्याको कारणले खानेपानी वितरणमा असहजता आएको बताउनुभयो ।
मेलम्चीको पानी यथाशीघ्र उपत्यकामा नियमितरूपमा काम भइरहेको अवगत गराउँदै निर्देशक राणाले मेलम्चीको विकल्पमा सिस्नेरी खानेपानी योजनाको काम भइरहेको जानकारी पनि सो अवसरमा दिनुभयो ।

Leave a Reply

Your email address will not be published.