भर्खरै :

वागीश्वरीमा सामाजिक सर्वेक्षणको तथ्याङ्क प्रस्तुतीकरण कार्यक्रम

वागीश्वरीमा सामाजिक सर्वेक्षणको तथ्याङ्क प्रस्तुतीकरण कार्यक्रम

भक्तपुर, २३ साउन । वागीश्वरी कलेज, कमलविनायकमा स्नातक तहको प्रथम वर्षमा समाजशास्त्र अध्ययनरत विद्यार्थीहरूले साउन १० गते सम्पन्न गरेको सामाजिक सर्वेक्षणको तथ्याङ्क प्रस्तुतीकरण कार्यक्रम सोमबार सम्पन्न भयो ।
उक्त तथ्याङ्क प्रस्तुतीकरण कार्यक्रममा वागीश्वरी कलेजका संयोजक ज्ञानसागर प्रजापतिले भक्तपुर नगरमा जनप्रतिनिधि तथा किसानहरूले गरेको सरसफाइ नै सामाजिक क्रान्तिको उदाहरण भएको प्रस्ट्याउँदै सुरुवाती सरसफाइका दिनहरूमा सामाजिक भेदभाव र छुवाछुतविरुद्ध कठिन सङ्घर्ष गरेको घटना स्मरण गर्नुभयो । हरेक राम्रो कामको सुखद परिणाम आउन समय लागे पनि त्यसको लागि गरेको त्याग र तपस्या खेर नजाने कुरामा उहाँले जोड दिनुभयो ।
उपत्यकाका तीन सहरमध्ये भक्तपुर नगर सफा र व्यवस्थित भएको कुरा पाठ्यपुस्तकमा छापिनु नै देशैभरि सकारात्मक सन्देश प्रवाह हुुनु हो भन्दै उहाँले वर्तमान समयमा छुवाछुत र लैङ्गिक भेदभावमा व्यापक कमी आएको विचार राख्नुभयो । उहाँ भन्नुहुन्छ, “छोराले बासी भात खान नहुने, जुठो खान नहुनेजस्ता कुरा अब इतिहासको पानामा सीमित भइसकेको छ ।”
वागीश्वरी कलेजका प्राचार्य धनकुमार श्रेष्ठले शिक्षक तयार भए विद्यार्थी तयार हुने बताउँदै कक्षाकोठाको सिकाइ व्यवहारमा उतारी समाजसम्म प्रसार गर्नुपर्ने कुरामा जोड दिनुभयो ।
वागीश्वरी कलेजका विद्यार्थीहरूले गरेको सर्वेक्षणको विश्लेषणको आधारमा स्थानीय तहले नीति निर्माणको कार्यक्रम ल्याउनु सुखद रहेको चर्चा गर्दै उहाँले अध्ययन अनुसन्धानले विद्यार्थीको चेतनास्तर फराकिलो बनाउनुका साथै आत्मविश्वास बढाउने विचार राख्नुभयो ।
समाजशास्त्रका शिक्षिका सुशिला कर्माचार्यले समाजको अध्ययन गरेका विद्यार्थीहरूले समस्त नागरिक र समुदायलाई सचेत गर्दै परिवर्तनतर्फ अभिप्रेरित गर्नुपर्नेमा जोड दिनुभयो ।
मानविकी सङ्कायका प्रमुख राजन फेलुले विद्यार्थीहरूको अध्ययन अनुसन्धानले थप मूर्त रूप लिने विश्वास व्यक्त गर्दै शुभकामना दिनुभयो ।
कार्यक्रममा ‘लैङ्गिक असमानता’ को प्रस्तुति दिने विद्यार्थीहरूमा अञ्जली सुवाल, सुजिता मचामसी, रोजिना ख्युञ्जू, सविना वन, रमिला ख्याजू, विनिता तिमिल्सिना हुनुहुन्थ्यो । देवका कार्की, सुजिता विक, सुमन मचामसी, सोनु खत्री, वितिसा थापार रोहन सैंजू, सविता फुयाल र राधिका केसीले ‘फोहोरमैला व्यवस्थापन’ विषयमा प्रस्तुति गर्नुभएको थियो ।
समाजशास्त्रका शिक्षक अम्बर श्रेष्ठको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा विद्यार्थी रेशा बासीले पनि बोल्नुभएको थियो । भनपा वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वको उपस्थितिमा सो कार्यक्रम सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *