भर्खरै :

लोकमानविरुद्ध महाअभियोगको चर्चा मरेको बाघको जुँगा उखेल्ने खेल

लोकमान सिंह कार्कीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त पदमा नियुक्त गर्दाखेरि नै सचेत र लोकतन्त्रका निम्ति लडेका नेपाली जनताको विमति र विरोध थियो। तत्कालीन चुनावी सरकारलाई निर्देशित गरिरहेको उच्चस्तरीय राजनीतिक परामर्श समितिले नयाँ दिल्ली समेतको दबाबमा कार्कीलाई उक्त पदमा नियुक्त गरेको चर्चा त्यतिखेरै चुलिएको थियो। अख्तियार प्रमुख कार्कीले हाँक्न त ‘साना माछा’ लाई मात्र होइन ‘ठूला माछा’ लाई पनि जालमा पार्ने डिङ हाँकेका थिए। तर उनको कार्यकालको तीन वर्षमा १०–२० हजार घूस लिएको अभियोग लागेका एक–दुई दर्जन तल्लो श्रेणीका कर्मचारीबाहेक कसैको विरुद्ध न अनुसन्धान भयो न विशेष अदालतमा मुद्दा दर्ता भयो। तीन वर्षपछि जब कार्कीको आँत केही बढ्यो, नेका, एमाले र एमाओवादी नेताहरूलाई सोधपुछका निम्ति पत्र काटे, ती दलका नेताहरूबीच खेलाबैला मच्चियो। अख्तियारमा लोकमान मण्डलीलाई बसालेर ढुक्कले कमाउ धन्दा गरिरहेका शासक दलका नेताहरूको निन्द्रा हरायो। अनि लोकमानले पदको दुरुपयोग गर्‍यो, आफ्ना भाइभतिजाको हितका निम्ति अधिकारै नभएको अधिकार प्रयोग गर्‍यो भनी कुर्लन थाले। अर्कोतिर लोकमान सिंह कार्कीसित संविधान र कानुनले अपेक्षा गरेको योग्यता नै छैन र उनको नियुक्ति बदर हुनुपर्ने माग दाबीसहितको रितको पुनरावलोकनको निवेदन सर्वोच्च अदालतमा विचाराधीन थियो। जबसम्म त्यस मुद्दामा सर्वोच्चको फैसला आएन, लोकमानविरुद्ध महाअभियोग लगाउने वा नलगाउने निर्णय गरी सिफारिस गर्न बनेको संसदीय समिति निष्कृयप्रायः बस्यो। समिति अनेकानेक बहानाबाजी गरेर त्यसलाई ढिलो गर्दै रह्यो। सर्वोच्च अदालतबाट पुनरावलोकन रितमाथि सुनुवाइ गर्दै लोकमानसिंह कार्कीसित अख्तियारको प्रमुख आयुक्त हुने योग्यता नै नभएकोले उनको नियुक्ति खारेज हुने र अख्तियारको प्रमुख आयुक्त पदमा योग्यता पुगेको अरु व्यक्तिलाई नियुक्त गर्न आदेश भयो।
सर्वोच्चको फैसलालाई शिरोधार्य गरी लोकमानसिंह कार्की अख्तियारमात्र होइन, देशै छोडेर भारत र क्यानाडाको यात्रा (सके स्थायी बसोबास) मा निस्किसकेपछि संसदको महाअभियोग समिति तातेको छ। लोकमानविरुद्ध महाभियोग लगाउनैपर्ने र लगाउन नपर्ने भनी बहस गरेर भत्ता पचाउन सक्रिय भएको नाटक गर्दैछ। महाभियोग लगाउनै थियो भने समय छँदै निर्णय गर्नुपर्थ्यो, सर्वोच्च अदालतजस्तो न्यायपालिकाको सर्वोच्च अङ्गले हटाइसकेपछि बहसमा उत्रनु मरेको बाघको जुँगा उखेल्ने खेलभन्दा बढी केही होइन। त्यस्ता रङ्गीन स्यालहरूको स्याल हुहयाँमा नेपाली जनता लागिरहन सक्दैनन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *