भर्खरै :

सरकारको नेतृत्व बदल्नु आमूल परिवर्तन होइन

सरकारको नेतृत्व बदल्नु आमूल परिवर्तन होइन

पुँजीवादी राज्यसत्ता पल्टाएर समाजवाद निर्माण गर्नु माक्र्सवादको सार हो । पुँजीवादी व्यवस्थामा सरकारको नेतृत्व बदलिरहन्छ । तर, सरकारको नेतृत्व बदल्नु नै आमूल परिवर्तन होइन, समाजवादी क्रान्ति होइन । नेपालका अधिकांश कम्युनिस्ट पार्टीहरूको मार्गनिर्देशक सिद्धान्त माक्र्सवाद–लेनिनवाद राखिएको छ । तर, ती दलहरू मार्गनिर्देशक सिद्धान्तअनुसार लागिरहेका छैनन् । कतिपय कम्युनिस्ट पार्टी भनिएका दलका नेताहरू माक्र्सवाद–लेनिनवादको उच्चारण नै गर्दैनन् भने कति नेताहरू माक्र्सवाद–लेनिनवादअनुसार अघि बढ्न नमिल्ने फुक्छन् । उनीहरू माक्र्सवादलाई हेरफेर गर्न चाहन्छन् । माक्र्सवादलाई हेरफेर गर्नु भनेको संशोधन गर्नु हो । उनीहरू संशोधनवादीहरू हुन् । संशोधनवादीहरू क्रान्ति शान्तिपूर्वक हुन्छन् भन्ने मान्यता राख्छन् । तिनीहरू शान्तिपूर्ण तरिकाबाट समाजवाद आउने विचार व्यक्त गर्छन् ।
कतिपय कम्युनिस्ट नामका पार्टीहरू समेत अहिले वर्गसङ्घर्षको आवश्यकता ठान्दैनन् । हालको सङ्घीय गणतान्त्रिक व्यवस्थाबाटै समाजवाद ल्याउन सकिन्छ भन्ने मान्यता राख्ने दलहरू पनि छन् । कुनै दल माक्र्सवाद नमान्ने तर लेनिनवाद मान्ने दल पनि छन् त कुनै दल माक्र्सवाद–लेनिनवाद मान्छन् तर माओ त्सेतुङ विचार मान्दैनन् । कुनै दल माक्र्सवाद–लेनिनवाद र माओ त्सेतुङ विचारधारालाई मार्गनिर्देशक मानेर समाजवाद अभियानमा जुटिरहेको छ । यसैलाई आत्मसात गरेर नेपाल मजदुर किसान पार्टी लागिरहेको छ । कुनै दलले चीनले नमानेको या चिनियाँ कम्युनिस्ट पार्टीले समेत नमानेको ‘माओवाद’ लाई आत्मसात गरिरहेको छ । अर्काथरी नेताहरू वर्गसङ्घर्ष गर्ने दल कुनै हालतमा कम्युनिस्ट हुनसक्दैन भनी ठोकुवा गर्छन् । यसरी नेपालका कम्युनिस्ट पार्टीहरू विभाजित छन् ।
कुनै कम्युनिस्ट पार्टी निर्वाचनलाई उपयोग नै गर्दैनन् त कुनै प्रतिक्रियावादीभन्दा प्रतिक्रियावादी सङ्घसंस्थाभित्र पसेर देश र जनताको इमानदारीपूर्वक सेवा गर्नुपर्छ भनी लागिपरेको छ । कुनै दल पुँजीवादी व्यवस्थाभित्र पसेर उपयोग नै नगर्ने त कुनै उपयोग गरेर देश र जनताको निम्ति लड्ने दल पनि छन् । हो, पुँजीवादी निर्वाचनलाई उपयोग गरेर देश र जनताको सेवा गर्न सक्छ तर आमूल परिवर्तन सम्भव हुँदैन । आमूल परिवर्तनको निम्ति क्रान्ति नगरी सुखै छैन । क्रान्ति शान्तिपूर्ण तरिकाबाट सम्भव छैन । कम्युनिस्टहरूले माक्र्सवाद–लेनिनवादलाई पनि आफू अनुकूल परिभाषा गर्न थालेका छन् । पुँजीवादी व्यवस्थाभित्र रहेर कुनै कम्युनिस्ट पार्टीको नेतृत्वमा शासन चलाउनु भनेको पुँजीवादको अन्त्य होइन, आमूल परिवर्तन त झनै होइन । विगतमा माओवादीको नेतृत्वमा सरकार बने पनि व्यवस्था पुँजीवाद नै हो । त्यस्तै माधव नेपाल, झलनाथ खनाल, केपी ओली जसको नेतृत्वमा सरकार बने पनि पुँजीवादी व्यवस्था नै हो । समाजवादी सिद्धान्त र विचारअनुसारको सरकार नभएसम्म या बहुमत जनताको प्रतिनिधित्व गर्ने दलको सरकार नबनेसम्म देशमा समाजवाद लागू हुनेछैन, त्यो व्यवस्था ल्याउन क्रान्ति जरुरी छ, क्रान्तिले मात्रै समाजवादी व्यवस्था स्थापना हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *