भर्खरै :

साउन, सोमबार, शिवजी र स्वाङ

  • श्रावण २७, २०७९
  • इन्द्रकुमार श्रेष्ठ
  • विचार
साउन, सोमबार, शिवजी र स्वाङ

पहिला पश्चिम नेपालको कुनैै परिवारमा श्राद्ध गर्दा बिरालोले दुःख दिएपछि श्राद्ध गर्ने ठाउँ र पण्डित तथा जजमानलाई नछोओस् भनेर त्यसका खुट्टामा बलियो डोरीले बाँधिएको थियो रे ¤ यो सब देखिरहेको नातिले पछि हजुरबाआमाको श्राद्ध गर्दा छिमेकीको घरबाट ल्याएर भए पनि बिरालो बाँध्न थालेछ । आजकल पनि त्यतातिर श्राद्ध गर्दा त्यसैगरी बिरालो बाँध्ने चलन छ रे ¤ आजकल यो प्रसङ्गलाई उखानजस्तो ठानी, समाजमा देखिने गरेको कुनै चित्तनबुझ्दो चलनलाई ‘श्राद्धमा बिरालो बाँधेजस्तो’ भन्ने गरिएको छ ।
हुन त संस्कारहरू हाम्रा गौरव र पहिचान हुन् तर तीमध्ये अधिकांश अन्धविश्वासका आधारमा चलेका र टाठाबाठालाई फाइदा पु¥याउने खालका देखिन्छन् । त्यसरी नै चलिआएका तर कुनै पनि वैज्ञानिक कारण नभएका सामाजिक संस्कारलाई कोही बुज्झकीले बुझाउन खोज्यो भने उसको प्रयास सफल हुँदैन । ज्ञानी र धार्मिक पल्टिएको समाजका अगाडि उसको बोली अज्ञानी र पापी बनिदिन्छ । त्यतिमात्र होइन, अलि कडा तरिकाले विरोध गर्नेले त धार्मिक विश्वासमा खलल पु¥याई समाज भाँड्न खोजेको आरोपमा सजाय पाउन पनि बेर छैन । यसैले पनि हाम्रो समाजमा पुस्तौँदेखि जरो गाडेर रहेका कुसंस्कारहरू परिमार्जन हुँदै घट्नुको साटो विकृतिको चमक पाएर बढ्न थालेका छन् । यसैमध्येको एउटा, साउनमा हरिया चुरा र हरिया कपडा लगाउने ‘नवचलन’ पनि हो ।
फ्रान्सेली कथाकार मोपासाको एउटा चर्चित कथा छ ः द नेकलेस शीर्षकको । त्यसमा एउटी गहनाप्रिय महिलाले पार्टीमा जानका लागि साथीसँग हिराको हार माग्छिन् । साथीले दिन्छिन् पनि तर दुर्भाग्यवश त्यो हार, पार्टीमा नाच्दानाच्दै हराउँछ । त्यो हार हराएपछि त्यस्तै हार साथीलाई तिर्नका लागि उनले थुप्रै पैसा ऋण लिनुपर्ने हुन्छ । उक्त ऋण तिर्नका लागि उनले धेरै नै हन्डर र दुःख खेप्नुपर्छ । धेरै समयपछि पो उनै साथीबाट थाहा हुन्छ ः उक्त हार त नक्कली पो रहेछ ¤ यस मार्मिक कथाका कथाकार भन्छन्, “संसारभरका महिलाको कुनै जात हुँदैन । तिनीहरू सबै गहनाप्रिय हुन्छन् ।”
हुन पनि महिलाका नाककान छेडिएका हुन्छन् । गहना लाउनु, शृङ्गार पार्नु उनीहरूको विशेषता र सुन्दरता नै हो । त्यसैले महिलाहरू स्वाभाविकरूपमा सधैँ सिँगारिएरै हिँड्छन् । बजार, पार्टी, भोजभतेर कतै जानुप¥यो भने उनीहरूलाई सिँगारिनै धेरै बेर लाग्छ । त्यतिले नपुगेर कति त हरेक पटक ब्युटी पार्लर नै पनि जाँदा रहेछन् ¤ एउटा खास उमेरमा त सिँगारिनु पनि उमेरजन्य विशेषता नै हो । तर सत्तरी असी वर्षे महिलाको पनि कपाल काटेर छोटो पारिएको देखिन्छ । कतिले त लट्ठी टेकेर मन्दिर जाँदा पनि लालीपाउडर, नङपालिस, लिपिस्टिक लाउँछन् ¤
अरू बेला टिकटकमा व्यस्त रहने फुर्सदिला र सिँगारप्रिय महिलाहरूका लागि कुनै खास चाडबाड आउनु र भोजभतेरमा जान पाउनु भनेको गहनाकपडा देखाउने एउटा सुनौला मौका पनि हुँदोरहेछ ¤ साउन महिनालाई यही रूपमा प्रयोग गरिएको देखिन्छ ।
भनिन्छ– डेढदशकजति अघि भारतको बनारसस्थित एउटा चुरा कम्पनीले विभिन्न रङका चुरा उत्पादन गर्नुपर्नेमा गल्तीवश हरियै हरिया रङका मात्र चुरा बनाएछ । कामदारहरूले गरेको उक्त गल्तीका कारण, कम्पनी मालिकलाई तनाव हुने नै भयो । अनि हतारहतार व्यवस्थापकहरूको आकस्मिक बैठक बसेछ । कामदारहरूलाई गाली गरेर वा सजाय दिएर हुनेवाला केही थिएन । लगातार दुईवटा त्यस्ता बैठक बस्दा पनि कुनै निष्कर्ष निस्कन सकेनछ ¤ आखिरमा कम्पनीकै एकजना चतुर म्यानेजरले उक्त गल्तीबाट भएको घाटालाई पनि नाफामा बदल्ने एउटा अचुक उपाय सोचेछ ।
बुद्धले ज्ञान प्राप्त गर्दाझैँ फेला पारिएको उपायअनुसार, त्यतातिरका एकजना विख्यात ‘बाबा’ लाई बोलाइएछ । ती बाबालाई प्रवचन गर्ने क्रममा ‘साउनमा महिलाहरूले हरियो चुरा लगाएमा सुखशान्ति र धर्म हुने, चिताएको कुरा पुग्ने’ भन्न राजी गराइएछ । त्यसका लागि ‘बाबा’ ले मोटो रकम पनि लिएछन् !
केही दिनपछि त्यतै नजिकै ठूलै जनमानसको भव्य उपस्थितिमा प्रवचन कार्यक्रम हुँदै थियो । उक्त कार्यक्रममा ‘बाबा’ ले बढ्तै हाउभाउका साथ आफ्नो ‘प्रवचन क्षमता’ देखाउन कुनै कञ्जुस्याइँ गरेनछन् । अनि त के चाहियो र ¤ साउन महिना पनि लाग्नै आँटेको थियो । ‘बाबा’ को ‘प्रवचन–उपदेश’ पालना गर्न महिलाहरू अधीर हुन थाले । बजारमा लगत्तै जताततै हरिया चुरा देखिएसँगै किन्नेको भिड पनि ह्वात्तै बढ्यो । ‘साउनमा महिलाहरूले हरियो चुरा लगाएमा सुखशान्ति र धर्म हुने, चिताएको कुरा पुग्ने’ बाबावाणीले यस्तो काम गरेछ कि, पहिला बढी उत्पादन गरिएका हरिया चुराले नपुगेर उक्त चुरा कम्पनीले फेरि थप उत्पादन गर्नुपरेछ !
यसरी बिस्तारै, ‘साउनमा हरियो चुरा ¤’ को चलन जताततै फैलियो । ‘धर्म’ गर्न मरिमेट्ने यो नयाँ चलन नेपाली समाजमा पनि धुँवासरि फैलियो । हरियो चुराका साथमा कसैले हरिया कपडा थपिदियो होला ¤ अब साउनसँग बिस्तारै सोमबार र शिवजीको किस्सा पनि जोडजाड गर्दै उक्काउन थालियो । सकेसम्म साउनभरि नै, नसके सोमबारका सोमबार मन्दिर जाने र माछामासु नखाने स्वाङ पनि रचियो । गुरु पुरोहितहरूले शिवजीको पूजा लाइदिएर र शिवजीका लागि अर्पण गरिएको दान लिइदिएर भक्तिनीहरूलाई सुखशान्ति दिलाए !
धन्य छ यो साउन महिना !

Leave a Reply

Your email address will not be published. Required fields are marked *