भर्खरै :

भैरव रिसालद्वारा लिखित पुस्तक ‘छानिएका रचना’ को लोकार्पण

भैरव रिसालद्वारा लिखित पुस्तक ‘छानिएका रचना’ को लोकार्पण

काठमाडौँ, २८ साउन । सिमल बुक पब्लिकेसन, नयाँ बानेश्वरले शनिबार भैरव रिसालद्वारा लिखित पुस्तक ‘छानिएका रचना’ एक विशेष समारोहबीच लोकार्पण ग¥यो ।
पूर्वसभामुख, सीमाविद्, पूर्वमन्त्री, विभिन्न पत्रिकाका सम्पादक, प्रकाशक, समालोचक, अन्वेषक, कानुनविद्, विभिन्न प्रकाशनमा आबद्ध व्यक्तित्व, प्राध्यापक तथा लेखकहरूबीच उक्त पुस्तक समाजसेवी एवं चिकित्सक गौरीशङ्करलाल दास, वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी, लेखक एवं वरिष्ठ पत्रकार भैरव रिसाल र लेखक एवं अन्वेषक गोविन्द सार्की नेपालीले संयुक्तरूपमा लोकार्पण गर्नुभएको हो ।
पुरानो बानेश्वरको एक पार्टी प्यालेसमा आयोजित सो समारोहमा अतिथि गौरीशङ्करलाल दासले बहुआयामिक व्यक्तिका धनी भैरव रिसाल जीवनका हरेक क्षेत्रमा काम गरेर देश र जनताको सेवामा जुटेको बताउनुभयो ।
उहाँले लेखक रिसालको सक्रिय जीवनको शुभकामना व्यक्त गर्नुभयो ।
वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीले लेखक रिसाल लेखकसँगै राजनीतिमा पनि लागेको चर्चा गर्दै देश अघि नबढेसम्म विकास सम्भव छैन भन्नुभयो ।
वृद्ध जीवनमा पनि उत्तिकै सक्रिय भइरहनु सबैको निम्ति अनुकरणीय रहेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “काम गर, त्यसै नबस, हरेकले आफ्नो जीवन सक्रिय बनाउनुपर्छ ।”
पुस्तकका लेखक एवं वरिष्ठ पत्रकार भैरव रिसालले आफ्नो पुस्तकको लोकार्पण आफूभन्दा ज्येष्ठ र विज्ञहरूमार्फत गर्न पाएकोमा खुसी व्यक्त गर्दै दुःख–सुख बाँडेर, देश र जनताको निम्ति काम गरेर बिताएको जीवन सार्थक हुने विश्वास व्यक्त गर्नुभयो ।
‘मजदुर’ र ‘श्रमिक’मा छापिएका लेखहरूबाटै छानेर पुस्तक प्रकाशन गरेको सन्दर्भ उल्लेख गर्दै लेखक रिसालले भन्नुभयो, “लोभ मान्छेमा पैसा, धन सम्पत्तिमा पनि त्यति हुँदैन होला तर नाममा भने अति नै प्रबल हुँदो रहेछ ।”
पुस्तक लोकार्पणका सभापति एवं अन्वेषक डा. गोविन्द सार्की नेपालीले ऊर्जाशील, हँसिलो, जाँगरिलो, आँटिलो रिसालको व्यक्तित्वबारे चर्चा गर्दै हरेक नागरिकले ऊर्जाशील, कर्मशीलहरूको शिक्षा र अनुभवबाट सिक्नुपर्छ भन्नुभयो ।
लेखक भैरव रिसालको भेट या कुराकानीबाट ऊर्जा थप्न, ज्ञान गुणका कुरा सिक्न, अनुभव सँगाल्न सहयोग पुगेको प्रसङ्ग उल्लेख गर्दै उहाँले उहाँको आस्था, निष्ठा, श्रम र मेहनतबाट सबैमा ऊर्जा मिल्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा पुस्तकका निम्ति रचना छनोट गर्ने भरतराज पोखरेल, सिमल बुक प्रकाशनका प्रमुख कमल ढकाल र सिर्जना शर्माले पनि लेखक रिसाल र पुस्तकबारे आ–आफ्नो विचार व्यक्त गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *