भर्खरै :

एमसीसीको समर्थन गर्नेहरू कम्युनिस्ट हुन नसक्ने

एमसीसीको समर्थन गर्नेहरू कम्युनिस्ट हुन नसक्ने

भक्तपुर, २९ साउन । मदन भण्डारी एसियाली विद्यालयको निमन्त्रणामा नेपाल आएका विभिन्न देशका विद्यार्थी प्रतिनिधिमण्डल टोलीले सोमबार भक्तपुर नगरपालिकाको स्थलगत अवलोकन भ्रमण गरेको छ ।
भक्तपुर नगरपालिकाले शिक्षा, स्वास्थ्य, सरसफाइ, संस्कृति संरक्षण आदि विषयमा गरिरहेको उदाहरणीय कार्यबारे अवलोकन भ्रमणमा आएको उक्त टोलीले भक्तपुर नपाबाट सञ्चालित ख्वप कलेज र ख्वप इन्जिनियरिङ कलेज र ख्वप अस्पताल र भक्तपुरका सांस्कृतिक सम्पदाहरूको अभिरुचिपूर्वक अवलोकन ग¥यो ।
अवलोकन भ्रमणपश्चात् भक्तपुर नगरपालिकामा आयोजित स्वागत तथा अन्तरक्रिया कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नेमकिपाका जनप्रतिनिधिहरूले कामदार वर्गको हितमा निरन्तर काम गर्दै आइरहेको बताउँदै घरदैलो नर्सिङ सेवा, वडा–वडामा स्वास्थ्य केन्द्र, नगरपालिकाको १०० बेडको अस्पताल सञ्चालन गर्दै २०–२५ मिनेटभित्र नागरिकहरूलाई स्वास्थ्य केन्द्र पुग्ने व्यवस्था मिलाउँदै आएको अवगत गराउनुभयो ।
देशको राजनैतिक आन्दोलनमा महत्वपूर्ण भूमिका खेल्दै आएको नेपाल मजदुर किसान पार्टी पुँजीवादी सरकारमा नगई संसदमा प्रखर प्रतिपक्षको भूमिका खेल्ने पार्टी भएको बताउँदै उहाँले नेमकिपाका निर्वाचित प्रतिनिधिहरूले संसद र प्रदेश सभामा जनताका हितविपरीतका विधेयकहरूको विरोध गर्ने र जनपक्षीय कानुनलाई अगाडि बढाउने काम गरिरहेको बताउनुभयो । उहाँले देशघाती एमसीसी र एसपीपीको विषयमा विरोध गर्दै त्यसलाई पारित नगराउन सडक र सदनमा निरन्तर आवाज उठाउँदै आएको जानकारी दिनुभयो । उहाँले एमसीसीको समर्थन गर्नेहरू कम्युनिस्ट हुन नसक्ने प्रस्ट पार्नुभयो ।
प्रमुख प्रजापतिले निर्वाचनबाट समाजवाद स्थापना हुनेमा नेमकिपा विश्वास गर्दैन र वर्गसङ्घर्षको माध्यमबाट समाजमा आमूल परिवर्तन गर्ने नेमकिपाको उद्देश्य हो भन्नुभयो ।
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले लेख्नुभएको ‘सय वर्षपछिको भक्तपुर’ र ‘५० वर्षपछिको नेपाल’ बारे पुस्तकलाई आधार बनाई भक्तपुर नपाले काम गर्दै आएको चर्चा गर्दै उहाँले शिक्षा, स्वास्थ्य, सम्पदा पुनःनिर्माण, सरसफाइजस्ता जनताका आधारभूत विषयहरूलाई नगरपालिकाले प्राथमिकताका साथ जोड दिँदै आएको बताउनुभयो ।
भक्तपुर नपाका उपप्रमुख रजनी जोशीले विश्व सम्पदामा सूचिकृत नगर भक्तपुरलाई सफा, सुन्दर, स्वस्थ र सभ्य नगरको रुपमा विकास गर्दै शिक्षा र स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकतामा राखी ‘पुर्खाले सिर्जेको सम्पति, हाम्रो कला र सस्ंकृति’ भन्ने नाराका साथ भक्तपुरलाई ज्ञान विज्ञानको केन्द्र र आन्तरिक एवं बाह्य पर्यटकहरूका लागि उत्कृष्ट गन्तव्यस्थल बनाउने लक्ष्यका साथ अगाडि बढिरहेको बताउनुभयो ।
भक्तपुर नपाका जनप्रतिनिधिहरूले नगरवासीहरूमाझ चुनावी घोषणापत्रमार्फत प्रतिबद्धता व्यक्त गरेअनुसार निरन्तर जनताको सेवामा लागिरहेको बताउँदै उपप्रमुख जोशीले नगरपालिकाद्वारा सञ्चालित विभिन्न शिक्षण संस्थाहरूमा अध्ययन–अनुसन्धानहरूमा जोड दिँदै आएको बताउनुभयो ।
कार्यक्रममा मदन भण्डारी एसियाली विद्यालयका संयोजक एवम् पूर्वसांसद बलराम बास्कोटाले भक्तपुर नपाले समाजवादी नीतिअनुरुप शिक्षा, स्वास्थ्य क्षेत्रमा काम गरिरहेको चर्चा गर्दै नेमकिपाको विचार र सिद्धान्तप्रति आफ्नो ऐक्यबद्धता रहेको बताउनुभयो । उहाँले एमसीसी र एसपीपीजस्ता देशघाती सम्झौता नेपालको संसदबाट अनुमोदन हुनु नेपालको लागि घातक भएको बताउनुभयो ।
एमिल्कर काब्राल स्कूल घानाका प्रतिनिधि मार्टिनले नेमकिपाले अङ्गालेको माक्र्सवाद– लेनिनवादबाट आफू धेरै प्रभावित भएको बताउँदै नेपाली जनता अन्यायका विरुद्ध सङ्घर्षशील, इमानदार र देशभक्त रहेको बताउनुभयो ।
बङ्गलादेशी मजदुर पार्टीका प्रतिनिधि सीडीई एहेमड बोहरानले भक्तपुर नपाले शिक्षा, स्वास्थ्य क्षेत्रमा गरिरहेको काम प्रशंसनीय रहेको उल्लेख गर्दै नपाको काम देशकै लागि उदाहरणीय छ भन्नुभयो ।
कार्यक्रममा भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले पनि बोल्नुभएको थियो । प्रशासकीय अधिकृत दामोदर सुवालले भक्तपुर नगरपालिकाको विषयमा भिडियोसहितको प्रस्तुतीकरण देखाउनुभएको थियो ।
कार्यक्रममा उपस्थित प्रतिनिधिहरूले भक्तपुरमा जातीय छुवाछूतको अवस्था, महिला राजनीतिक सक्षमताको अवस्था, भक्तपुरलगायत अन्य जिल्लामा पार्टीको गतिविधि, नपाले प्रदान गर्दै आएको शैक्षिक ऋण, भक्तपुरको विकास मोडललगायतको विषयमा जिज्ञासामाथि नगर प्रमुख प्रजापतिले बुँदागतरूपमा प्रस्ट पार्नुभएको थियो ।
भ्रमण टोलीमा अर्जेन्टिना, संरा अमेरिका, ब्राजिल, घाना, दक्षिण अफ्रिका, प्यालेस्टाइन, थाइल्यान्ड, मलेसिया, भारत, श्रीलङ्का, बङ्गलादेश, जोर्डन, पाकिस्तान, स्पेन र क्युवा गरी १५ देशका प्रतिनिधिहरू सहभागी थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *