भर्खरै :

नगर प्रमुख प्रजापतिसँग सुरुङ्गा नगरपालिकाका प्रमुख गीता चौधरीको भेट

भक्तपुर, २९ साउन । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग सप्तरी जिल्लाका प्रतिनिधिसभा सदस्य तेजुलाल चौधरी र सप्तरी जिल्लाकै सुरुङ्गा नगरपालिकाका प्रमुख गीता चौधरीले आइतबार नपा सभाकक्षमा भेट गर्नुभयो । नगर प्रमुख प्रजापतिले उहाँहरूलाई खादा र भादगाउँले टोपीले स्वागत गर्नुभएको थियो ।
भेटमा उहाँहरूबीच शिक्षा, स्वास्थ्य, विकास निर्माणलगायतका विषयमा अनुभव आदानप्रदान भयो ।
प्रमुख प्रजापतिले संविधानको भावनाअनुसार प्रत्येक नागरिकलाई शारीरिक व्यायामको अधिकार प्रदान गर्ने उद्देश्यले भक्तपुर नपाले टोल–टोलमा खुला व्यायामशाला स्थापना गरेको, २०७२ सालको भूकम्पबाट भत्केका अधिकांश सम्पदाहरूको पुनःनिर्माण सम्पन्न भइसकेको र उच्च शिक्षा हासिल गर्नबाट वञ्चित नहोस् भनी रु. ५ लाखसम्मका शैक्षिक ऋणको व्यवस्था गर्दै आइरहेको बताउनुभयो ।
भक्तपुरमा सामुदायिक र संस्थागत विद्यालयहरूबीच प्रतिस्पर्धा हुने गरेको स्मरण गर्दै शिक्षाकै जगबाट भक्तपुर आज शैक्षिक गन्तव्यस्थलको रूपमा विकास भएको हो भन्नुभयो ।
भेटमा प्रतिनिधिसभाका सांसद तेजुलाल चौधरीले भक्तपुर नपाले शिक्षामा गरिरहेको योगदान उल्लेखनीय भएको चर्चा गर्दै यहाँबाट धेरै कुरा सिक्न भक्तपुर भ्रमणमा आएको बताउनुभयो ।
उहाँले भक्तपुरले जस्तै अन्य स्थानीय तहले शिक्षा र स्वास्थ्य क्षेत्रमा उदारणीय ढङ्गले काम गर्न सके देशको विकास हुन धेरै समय नलाग्ने बताउनुभयो ।
सुरुङ्गा नगरपालिकाका प्रमुख गीता चौधरीले सुरुङ्गा नगरपालिका प्रदेश नं. २ को सप्तरी जिल्लाको प्रसिद्ध सुरुङ्गा पहाडको नामबाट नामकरण गरिएको नगरपालिका रहेको हाल ११ वटा वडामा विभाजित रहेको बताउनुभयो ।
भ्रष्टाचार, आर्थिक अनियमितताका कारण देशको विकास झन् पछि पर्दै गएको बताउँदै उहाँले शिक्षित समाजले देशलाई अगाडि बढाउन मद्दत पु¥याउने विचार राख्नुभयो ।
भेटमा भक्तपुर नपाका उपप्रमुख रजनी जोशी, सुनपा ७ सप्तरीका दिनेश यादव, सुनपा ९ सप्तरीका विद्यानन्द चौधरी, वडा नं. २ का अध्यक्ष इन्द्रदेव यादव र वडा नं. २ का अमरेश यादवको पनि उपस्थिति थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *