भर्खरै :

सिद्धान्तहीन एकताभन्दा फूट झन् राम्रो

सिद्धान्त र विचार मिलेको आधारमा राजनीतिक पार्टीहरूको एकता हुनु अस्वाभाविक होइन । तर, नेपालका कति दलहरू सिद्धान्त र विचारभन्दा निर्वाचनमा जित्ने हिसाबले एकीकरण या एकता भइरहेको देखिन्छ । उनीहरूको एकताको उद्देश्य बढीभन्दा बढी संसद्को सीट जितेर सरकारको नेतृत्व गर्ने या सरकारमा सामेल हुने हो । एमाले र माओवादी मिलेर नेकपा गठन, सङ्घीय समाजवादी फोरमसँग एकता गरेर समाजवादी पार्टी गठन, समाजवादी पार्टी र राजपाबीच एकता भएर जसपा गठन आदि पछिल्ला उदाहरणहरू हुन् । मधेसी दलहरूबीचको एकता पनि संसद्मा ठूलो दल बनाउने ध्येयले भएको हो । सिद्धान्त र विचार नमिले पनि एकता भएको कारण बीच–बीचमा पार्टी फुट्ने क्रम चलेको हो । एकता लामो समयसम्म टिकेन । नेकपा फुट्यो । जसपा फुट्यो, अरू दलहरू पनि फुटे । यसरी सिद्धान्त र विचार छोडेर एकता भएकै कारण माक्र्सले सिद्धान्तहीन एकताभन्दा फूट झन् राम्रो भनेका थिए ।
नेपालमा पार्टी फूटका अनेक कारण छन् । कम्युनिस्ट पार्टी माक्र्सवाद, लेनिनवाद र माओ विचार छोडेर अवसरवादी, संशोधनवादी बनेपछि, अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवादको विरोध नगरेपछि पार्टी फुट्यो । विदेशी दबाब र शान्तिपूर्ण तरिकाले समाजवाद स्थापना हुन्छ या क्रान्ति हुन्छ भन्ने कुराले दलमा मतभेद बढ्यो र पार्टी टुक्रियो । गाउँ–ठाउँमा भइरहेको जालीफटाहा, जमिनदार र शोषकहरूको विरोधमा कति कम्युनिस्ट पार्टीहरू किसान सङ्घर्ष गर्न चाहँदैनन् । वर्गसङ्घर्ष त झनै गर्न चाहँदैनन् । हाल नवलपरासीका किसानहरू जमिनदार, जालीफटाहाहरूबाट पीडित छन् । ऋणको लागि कागज बनाएर उनीहरूले गरिब किसानहरूलाई ठगिरहेका छन् या लाखौँ रकम असुलिरहेका हुन् । पार्टी एकताको नाउँमा भित्रभित्र गुटबन्दीको खेल भइरहेको हुन्छ । गुट, उपगुटका नेताहरूको आ–आफ्नै विचार हुन्छ । पार्टी फुट हुनुमा गुट उपगुटभित्रको भागबन्डा नमिलेर पनि हो । यी यावत कारणले पार्टी फुटेको देखिन्छ ।
दलका हरेक नेताहरूले खोटो सैद्धान्तिक र अव्यवहारिक पाइलाको विरोध गर्नुपर्छ । खोटो विचारको विरोध नगरी मौन बस्नु या टुलुटुलु हेरेर बस्नु पनि देश, जनता, पार्टी र क्रान्तिलाई धोका दिनु नै हो । एकताको नाउँमा क्रान्तिकारी बाटो छोडेपछि, देशघाती र जनविरोधी सन्धि र सम्झौतामा हस्ताक्षर या विश्वासघात भएपछि पार्टी टुक्रिन्छ । यसकारण, हरेक कम्युनिस्ट पार्टीले माक्र्सवाद, लेनिनवाद र माओ विचारधारालाई मार्गनिर्देशक बनाएर अघि बढ्नुपर्छ, त्यसबारे जनतामा सुसूचित गर्नुपर्छ । एकताको नाउँमा सिद्धान्त छोड्नु हुँदैन । हरेक कम्युनिस्ट पार्टीले माक्र्सवादी अडान कायम राख्नुपर्छ । यसकारण, खराब एकताभन्दा फूट झन् राम्रो भनिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *