भर्खरै :

श्रमिक वर्गको प्रतिरोधको संस्कृति

नेवार समाजको सांस्कृतिक महामेला – गुन्हीपुन्ही (जनैपूर्णिमादेखि अष्टमीसम्मको नौदिने पर्व) को ‘नौ बाजा’ को सङ्गीतमा निमग्न छ भक्तपुर नगर अहिले । ‘गिनि त्वं’ को तालमा ‘बृहत् समूह नाच’ नाच्दै मस्त छ यो नगर । अनेक नाच, प्रहसन र गीतसङ्गीतमा झुमेको छ भक्तपुर । कोभिड–१९ महामारीको दुई वर्षको अन्तरालपछि भक्तपुरको रङ्गमञ्च जमेको छ । रसरङ्गले जीवनलाई रङ्मङ्याइरहेको छ ।
इतिहास एवम् संस्कृतिविद् जगदीशशमशेर राणाले २०४५ सालमा प्रकाशित गरेको एउटा चर्चित पुस्तकमा ‘भक्तपुर साँच्चै नै हाम्रो नेपाल राज्यको सङ्गीत र नृत्यको राजधानी’ भनेका छन् । उनी अगाडि भन्छन्, “(भक्तपुर) कमसेकम राजा जयस्थिति मल्लको पालि १४ औँ शताब्दीको नै यस्तो थियो । यस्तै रहेको छ – हाम्रो नाचगानको राजधानी, यो भक्तपुर सहर, आज पनि ।”
अक्टोबरको अन्तिम दिनदेखि तीन दिनसम्म मेक्सिकोमा ‘मृतकको दिन’ (डे अफ द डेड) भव्य रूपमा मनाइन्छ । परिवार र साथीहरू जम्मा भएर मृतकको स्मरण गरिन्छ । खप्परजस्ता मुकुन्डो लगाएर सयपत्री फूल, मृतकको तस्बिर, मृतकलाई मन पर्ने खानेकुरा आदि लिई चिहानघारी पुग्छन् । नेपालमा मृतकप्रति श्रद्धाञ्जली दिन मनाइने गाईजात्रा ‘डे अफ द डेड’ सँग मिल्दोजुल्दो छ । जीवनमा दुःख छ, आँशु छ तर आँशुमाथिको विजय नै जीवन हो भन्ने सुन्दर दर्शन सिकाइरहेको छ गुन्हीपुन्ही संस्कृतिले । यसै सेरोफेरोमा संस्कृतिको विविध आयामबारे केही घोत्लिन मन लागेको छ ।
संस्कृतिको संरक्षक
राजनीतिक इतिहासजत्तिकै लामो परम्परा बोकेको भक्तपुरको गीतसङ्गीतलगायत अनेक प्रकारका सांस्कृतिक धरोहर कसरी संरक्षित भए भन्ने प्रश्नमा धेरैजना धेरैपटक घोत्लिएको हुनुपर्छ  । परम्परागत कलासंस्कृतिको बिँडो भक्तपुरका श्रमजीवी वर्गका जनताले नै कसरी थामिरहेका होलान् ? कलासंस्कृति र तल्लो वर्गका जनताबीचको सम्बन्ध के हो त ? उपल्लो वर्गको ‘फर्माइस’ को विषय मानिएको गीतसङ्गीत तल्लो वर्गमा कसरी स¥यो ? आधुनिकताले ढाक्दै लगेको समाजमा परम्परागत कला र संस्कृति कसरी जीवन्त हुन्छन् ? यी प्रश्नको जवाफ दिन कम्ती असजिलो छैन ।


भक्तपुरका श्रमिक जनतालाई भुलाउन वा अल्मल्याउन विभिन्न सांस्कृतिक विधाहरू अस्तित्वमा आए भन्ने तर्क गर्नेदेखि इतिहासको आवश्यकता पूर्ति गर्न यी नानाभाँतीका सांस्कृतिक परम्परा अद्यापि जीवन्त भएको विचार स्वाभाविक रूपमा पाइन्छन् । कलासंस्कृति जोगाउने ठेक्का के श्रमिक वर्गका जनताको मात्र हो भन्ने प्रश्न गर्ने युवाहरू पनि नभएका होइनन् । संस्कृति जोगाउने क्रममा हाम्रो आर्थिक श्रीवृद्धि कहिल्यै भएन भन्नेको सङ्ख्या पनि कम छैन । ‘नवदुर्गा’ नाच चलाउने वनमाला समुदायका केटाकेटी पढाइ छोडेर हिँड्नुपर्दाको पीडाको कथा वा शब्दचित्र वा डक्युमेन्ट्री बनाउने हो भने साह्रै मार्मिक हुँदो हो । राज्यले कलासंस्कृतिका रक्षकलाई के दियो त ? पुरातत्व विभाग, प्रज्ञा प्रतिष्ठान, संस्कृति मन्त्रालय के हेरेर बसेका छन् ? के अर्थ हाम्रा कलासंस्कृतिको यदि तिनबाट हाम्रो जीवनस्तर उकास्नमा टेवा मिल्दैन भने ? जस्ता प्रश्न स्वाभाविकै रूपमा उठिरहेका छन् ।
आजकल व्यावसायिक रूपमा गीत गाउने एक कलाकारले एउटा गीत प्रस्तुत गरेबापत हजारौँ वा लाखौँ रुपियाँ पाउँछ, एउटा प्रहसनमा अभिनय गरेबापत मोटो रकम पारिश्रमिक लिने कलाकार पनि यही समाजमा छन् । तर, रहर वा बाध्यता जेसुकै होस्, कलासंस्कृतिमा पारङ्गत बनेका हाम्रा कलाकारहरूलाई जीविका धान्न धौधौ भइरहेको छ । घरमा एक छाक टार्न मुस्किल भएको पीडा भोग्न विवश परम्परागत गीत, सङ्गीत वा नृत्यका ‘गुरु’ का कथाव्यथाले पनि जोकोहीलाई द्रवित बनाउनसक्छ । अर्कोतिर हिजोआज सांस्कृतिक क्षेत्रमा विकृतिहरू देखिएपछि दुःख मनाउ गर्ने पनि प्रशस्तै भेटिन्छन् । कति जना त कलासंस्कृतिको नाममा किसानमजदुरलाई दास युगमा दास लडाएर मनोरञ्जन लिएझैँ जनतालाई शासक वर्गले मनोरञ्जनको साधन बनाई शोषण गरेको विचार राख्ने साथीभाइ पनि छन् । के ठिक के बेठिक ? अलमलमा पर्नसक्छौँ । तसर्थ, हाम्रा चाडपर्व एवम् जात्रा र नाचगानबारे वैज्ञानिक अध्ययनअनुसन्धान हुनु आवश्यक छ । यी परम्परागत सांस्कृतिक विधाहरूको संरक्षणको निम्ति त झन् गहिरो अनुसन्धान आवश्यक छ ।
लेखक राणा (२०४५) का अनुसार पनि भक्तपुरका ‘श्रमजीवी या ज्यापूहरूले भक्तपुरको नाचगान परम्परालाई आजसम्म पनि सम्हालिराखेका छन् – विचित्रको मौखिक प्रणाली र गुरु परम्पराद्वारा ।’ त्यसैले अधिकांश चाडपर्व देशको उत्पादनसँग जोडिन पुगेको छ । किसान एवम् कर्मीको सहयोग वा प्रत्यक्ष उपस्थितिविना कुनै पनि जात्रा वा पर्व सञ्चालन गर्न असम्भव छ । अर्को एक ठाउँमा लेखक राणा थप्छन्, ‘उत्तरदायित्व, स्वावलम्बन, सामाजिकीकरण, भक्तिजस्ता आधारभूत विषयमा अडेको या परम्पराको खम्बामा कीरा लाग्न दिनुहुन्न‘।’
संस्कृति समय एवम् युगसापेक्ष भएन भने हराउँदै जानु स्वाभाविकै हुन्छ । कुनै कुराको उपयोगिता स्थापित गर्न नसकेपछि त्यो वस्तु वा संस्कृति हराउनु अन्यथा हुँदैन । एक युगको तत्कालीन आवश्यकता पूरा गर्न सुरुआत भएको कलासंस्कृति आजको समाजको निम्ति कति सुहाउँदो छ भन्ने आधारमा यसको मूल्याङ्कन हुनुपर्दछ । कलासंस्कृति भनेको जड चिज होइन, यो परिवर्तनशील हुन्छ । समाजको चेतनास्तरसँगै संस्कृतिमा परिवर्तन आउँछ ।
कलासंस्कृतिको कद
संस्कृतिविद् प्रेम खत्रीको पुस्तक संस्कृति र अनुभूतिका आयामहरू (२०७०) का केही हरफहरू यहाँ उद्धृत गर्नु सान्दर्भिक छ, “नेपालमा बासोबास गर्ने जातिहरूको आआफ्ना वातावरणीय अनुकूलतामा र अनुभवको आधारमा विकसित र स्थापित भएर रहेका चालचलन, रीतिरिवाज, भेषभूषा, आमोदप्रमोद, शिल्पव्यवसाय, धार्मिक मान्यता र भाषा एव् साहित्य आदि मानसिक चिन्तनका उपजहरूको समष्टि नै हाम्रो देशको राष्ट्रिय संस्कृति हो ।’
प्रश्न उठ्छ, के छ हाम्रा परम्परागत कलासंस्कृतिमा, जसले गर्दा सयौँ वर्षौँदेखि यसले निरन्तरता पाइरहेको छ । बिनाअर्थको थियो भने यो यति लामो समयसम्म टिक्नेसक्ने थिएन । मानिसको इच्छाले मात्र कलासंस्कृति जीवित रहँदैन । इच्छाले मात्र सबै कुरा निर्धारण गर्दैन पनि । भनौँ, यस्ता परम्परागत नाचगान कुनै एक व्यक्तिको रहरले मात्र बाँच्ने कुरा पनि होइन । गाईजात्राको क्रममा निस्किने सयौँ नाच टोली एकदुई व्यक्तिको प्रयासले धान्न सकिने कुरा होइन । गाईजात्राका नौ दिन भक्तपुर जात्रामय हुनुको पछाडि के कति भौतिक पारस्थितिले काम ग¥यो खोजबिन हुनैपर्दछ । अथवा भनौँ, भक्तपुरका जात्रा, पर्व, लोकनाच÷गीत र सङ्गीतबारे भौतिकवादी व्याख्या एवम् विश्लेषणको आवश्यकता टड्कारो छ ।


भक्तपुरका रीतिरिवाज यहाँको कृषि उत्पादनसँग जोडिएका छन् । चाडैपिच्छे फरकफरक एवम् विशेष खाद्य परिकार बनाउने संस्कृति छ । ती खानाका परिकार कृषि उत्पादनसँग जोडिएको पाइन्छ । तिहारमा बनाइने मुटुमारी (रोटी), योमरी पूर्णिमामा खाइने योमरी, दिगू पूजा (देवाली) मा पकाइने चटामरी धानसँग जोडिएका चाड हुन् । सकिमाङा पूर्णेमा पकाइने पिँडालु, चथाःमा भुटिने भटमास, केराउ, मकै, गहुँ, सिमी आदि गेडागुडी, माघे सङ्क्रान्तिमा खाइने घिउचाकु, बिस्केट र दसैँमा खाइने मासु आदि कृषि उत्पादनसँग जोडिएकै उपज हुन् ।
गजब गुन्हीपुन्ही (गाईजात्रा)
खेतीपातीमा सबभन्दा महत्वपूर्ण धान रोपाइँ सकिएपछि फुर्सदिलो समयमा गुन्हीपुन्हीको तयारी सुरु हुन्छ । सामान्यतः भक्तपुरमा असार महिनामा रोपाइँ सकिएको मानिन्छ । ‘मानो रोपेर मुरी फलाउन’ रोपाइँमा किसानहरू ज्यान फालेरै मेहनत गर्दछन् । धानको ब्याड राख्नेदेखि बिउ हुर्काउन, खेत खन्न, रातबिरात खटेर खेतमा पानी लगाउन, ग¥हा सम्याउन र रोप्न ठूलो परिश्रम लाग्छ । धान रोपिसकेर पनि किसानले समयसमयमा पानीको मात्रा मिलाउनु पर्दछ† बढीघटी पानीले धान बिग्रिएला भन्ने पिर गर्नैपर्छ† केही हप्तामा झार उम्रिन्छ र गोडमेल गर्न हिँड्नैपर्छ । यसरी आफ्नो मेहनतबाट लहलह झुलेको धानखेतको आलीमा बसेर किसान सन्तोषको सास फेर्छन् र गुनगुनाउँछन् । किसानको मन रसिलो र भरिलो हुनथाल्छ । साउन कृष्ण चतुर्थीमा मनाइने गथामुग च¥हे (घण्टाकर्ण पर्व) बाट गाईजात्राको धाँ, लालाखिं, पछिमा र अन्य बाजा बज्न थाल्छन् । साँझ घिन्ताङगिसीको तालमा अभ्यास नाच सुरु हुन्छ । किसानहरूको फुर्सदिलो समयको उपयोग हुन्छ । पुराना पुस्ताले नयाँ पुस्तालाई आफ्नो कला हस्तान्तरण गर्नथाल्छन् । सिक्न र सिकाउने विशेष तरिका छ । गुरुशिष्यको सम्बन्ध गजबै हुन्छ । नासःद्यो (कला देउता) को पूजा पनि गरिन्छ । खोजबिनको सोच सामान्य सोचात्न्दा निकै गहिरो हुन्छ ।
जीवनको एउटा अत्यावश्यकीय पाटो मनोरञ्जन हो । गीतसङ्गीत मनोरञ्जनका उत्कृष्ट साधन हुन् । किसान–मजदुरको निम्ति चाडपर्व मनोरञ्जनको माध्यम बन्छ । मनोरञ्जनका यी अवसर नभएको भए ती खानलाउन धौधौ हुने श्रमिक वर्गका जनता कसरी जिउँदा हुँदा हुन् ¤ सायद त्यसैले किसानमजदुर जस्तोसुकै कठिन जीवन भोग्न परे पनि निराश हुँदैनन् । गाईजात्रामा देखाइने गाइँचा नाच, झ्याउरी, ख्याल (प्रहसन) देखि माक (बाँदर), फाकंदली, भैल (भैरव), देवी, खिचा (कुकुर), ख्या (ख्याक), सिंह, म्हेखा (मयूर) आदि दर्जनौँ प्रकारका नाचहरूले मानिसको जीवनमा धेरै रसरङ्ग भर्दछन् । विभिन्न जीवसँगको सानिध्यताबाट तिनको नक्कल हुँदैगएको देखिन्छ । प्रकृतिको अभिव्यक्ति कलामार्फत भयो । प्रकृतिलाई प्रेमपूर्वक आत्मसात् गरियो । प्रकृतिलाई साथी बनाइयो । प्रकृतिको रक्षा मानव सभ्यताको अस्तित्वसँग जोडिएको छ भन्ने शिक्षा सिकाउँछ संस्कृतिले ।
क्वाती (नेपाली शब्दकोषमा क्वाँटी) खाने पूर्णिमाको रूपमा पनि चर्चित छ गुन्हीपुन्ही । केही दिन पानीमा भिजाइएका नौथरी गेडागुडीे सेवनको महत्वबारे आधुनिक विज्ञानले धेरै अनुसन्धान गरिसकेको छ । आजभन्दा २५ वर्षअगाडि प्रकाशित एक अनुसन्धानअनुसार
(हेर्नुस्, नौलो आयाम मासिक, २०५५) मानिसको यौैवन जोगाउन क्वाती सहयोगी हुनसक्छ । टुसाएको अन्नमा सामान्य गेडागुडीमा भन्दा बढ्ता पोषक तत्व पाइन्छ । टुसाएको गेडागुडीमा मानिसको निम्ति अत्यावश्यकीय विभिन्न रसायन (इन्जाइम, भिटामिन, लवण तथा खनिज) हरू सक्रिय हुन्छन् । टुसाएको गेडागुडीमा कार्वोहाइड्रेटको भन्दा प्रोटिनको मात्रा बढ्न जान्छ, गेडागुडीमा रहेको प्रोटिन मानिसले पचाउन सजिलो हुने गरी टुक्रिन्छ ।
हास्यव्यङ्ग्यपर्वको नयाँ आयाम
गुन्हीपुन्ही वर्षभरका असन्तुष्टि पोख्ने अवसर पनि हो । यसपटकको गुन्हीपुन्ही पर्वमा समसामयिक राजनीतिक तथा सामाजिक विकृतिमाथि व्यङ्ग्य गर्दै कार्टुनचित्र, गाइँचा (प्यारोडी) तथा प्रहसन प्रदर्शन भइरहेको छ । खासगरेर एमसीसी सम्झौता गर्ने र एसपीपी सम्झौता पारित गर्न खोज्ने शासक दलहरूप्रतिको तिखो व्यङ्ग्य प्रहार गरिएका प्रस्तुतिमा सर्वसाधारण चाख लगाएर हेरिरहेका देखिन्छन् । सीमा अतिक्रमण तथा नागरिकता विधेयक पारित गरिएको विषयहरू पनि व्यङ्ग्यका विषय बनेका छन् ।
आजभन्दा पाँच दशकअगाडिसम्म सासूबुहारी, श्रीमान्श्रीमती, मालिकनोकर, मोहीतल्सिङबीचका असन्तुष्टिहरू गुन्हीपुन्हीमा छताछुल्ल हुन्थे । विभिन्नखाले अश्लिल व्यङ्ग्य नै गुन्हीपुन्हीको विशेषताजस्तै थियो एक समयमा । २०२०–२०२१ सालतिर भियतनाममाथि अमेरिकी आक्रमणको विषयमा व्यङ्ग्य प्रस्तुत भएको पुरानो पुस्ता सगौरव बताउँछ अद्यापि । मूर्तिचोरी, जङ्गलविनास, शोषक तथा सामन्तहरूका अन्याय–अत्याचारबारे बोल्ने केही छुट थियो निरङ्कुश व्यवस्थामा पनि । तर, यस्ता राजनीतिक प्रस्तुति गर्दा अत्यन्तै सजग हुनुपर्ने परिस्थिति थियो । कलाकारहरूका त्यस्ता प्रस्तुतिको कारण पञ्चायती व्यवस्था तथा साम्राज्यवादी शक्तिको कोपभाजन भएका घटना पनि नभएका होइनन् ।


अन्त्यमा, भक्तपुर नगरपालिकाले गुन्हीपुन्हीमा प्रस्तुत हुने लोपोन्मुख र जीवन्त विभिन्न सांस्कृतिक विधाहरू संरक्षण तथा संवद्र्धनको निम्ति यसपालि पनि विविधि प्रयास गरिरहेको छ । यस्ता खुला सांस्कृतिक गतिविधिमा बालबालिकादेखि पाकोपुस्ताको सकृयता देखिन्छ । यसले व्यक्तिवादीबाट आरोपित युवापुस्ता अझै सामाजिक छन् है भन्ने सन्देश पनि दिइरहेको दर्शाउँछ । यो समयमा काठमाडौँ उपत्यकामात्र होइन, डोटी होस् कि डडेलधुरा, दैलेख होस् कि जुम्ला, कास्की होस् कि म्याग्दी अथवा धनकुटा होस् कि भोजपुर, नेवारहरूको सानो सांस्कृतिक राज्य उल्लासमय भएको छ । समग्र देशको अङ्गप्रत्यङ्गमा उमङ्गको जवानी छल्किरहेको छ । यो पुरानो पुस्ताको ज्ञान तथा सीप हस्तान्तरणको चक्र जुगजुग चलिरहोस् ! श्रमिक वर्गको प्रतिरोधको संस्कृति अझ जिउँदो जाग्दो होस् !

Leave a Reply

Your email address will not be published. Required fields are marked *