भर्खरै :

ख्वप विश्वविद्यालयलाई स्वीकृति नदिनु राजनीतिक पूर्वाग्रह

भक्तपुर, ३ भदौ । ख्वप मा.वि.मा कक्षा ११ मा भर्ना भएका नवआगन्तुक विद्यार्थीहरूको स्वागत तथा अभिमुखीकरण कार्यक्रम शुक्रबार विद्यालय प्राङ्गणमा सम्पन्न भयो ।
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) को प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा अध्यक्ष बिजुक्छँेले शैक्षिक क्षेत्रको विषयमा नीतिगत निर्णय गर्नुभन्दा पहिले बुद्धिजीवीहरूबीच व्यापक छलफल आवश्यक गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
कक्षा ११ र १२ लाई विद्यालय तहमा राख्नु त्रुटिपूर्ण निर्णय भएको धारणा उहाँले व्यक्त गर्नुभयो ।
“संसदीय समितिले एकमतले सिफारिस गरेको ख्वप विश्वविद्यालयलाई स्वीकृति नदिनु राजनीतिक पूर्वाग्रह हो । ख्वप विश्वविद्यालयको स्वीकृति भएमा विद्यार्थीले रू. १५ लाखमा एमबीबीएसको पढाइ पूरा गर्न पाउनेछ”, उहाँले भन्नुभयो ।
शैक्षिक माफियाहरूको कारण ख्वप विश्वविद्यालयलाई स्वीकृति नदिएको अध्यक्ष बिजुक्छेँले स्पष्ट पार्नुभयो ।
शिक्षा उत्पादनश्रमसँग जोडिएमात्र बेरोजगारी समस्या समाधान हुने स्पष्ट पार्दै समाजवादी व्यवस्थामा शिक्षालाई श्रमसँग जोडिएकै कारण सबैले रोजगारी पाउने अध्यक्ष बिजुक्छेँले बताउनुभयो ।
राजनीति देश र जनताको इमानदारीपूर्वक सेवा गर्ने हुनुपर्ने धारणा राख्दै अध्यक्ष बिजुक्छेँले इमानदार राजनीतिक कार्यकर्ताहरूमात्र नेमकिपामा टिक्न सक्ने बताउनुभयो ।
“समाजवादी व्यवस्थाले मात्र समाजलाई अनुशासित र शान्तिपूर्ण बनाउन सक्छ । उत्पादनका मुख्य मुख्य साधन र सेवा सामाजिकीकरण गर्ने, व्यक्तित्व विकासमा समान अवसर हुने, शिक्षा–स्वास्थ्य निःशुल्क हुने, श्रमलाई सम्मान गर्ने शिक्षा, योग्यताअनुसारको काम र कामअनुसारको ज्यालाको व्यवस्था हुने, शोषण र अन्यायविरूद्धको हक हुने व्यवस्था नै समाजवादी व्यवस्था हो”, उहाँले भन्नुभयो ।
काठमाडौँ महानगरमा फोहोरको समस्या सृजना हुनुमा महानगरमात्र होइन केन्द्रीय सरकार पनि दोषी रहेको धारणा राख्दै अध्यक्ष बिजुक्छेँले फोहोरको उचित विसर्जनमा केन्द्रीय सरकारले विशेष पहल गर्नुपर्ने बताउनुभयो ।
जीवनको हरेक पाइलामा सङ्घर्ष गर्नुपर्ने चर्चा गर्दै राजनीतिबाट अलग्ग हुने निर्णय लिनु जीवनको ठूलो भूल हुने उहाँले बताउनुभयो ।
माक्र्सवादी सिद्धान्तअनुसार शान्तिपूर्णरूपमा निर्वाचनको माध्यमबाट समाजवाद स्थापना नहुने स्पष्ट पार्दै अध्यक्ष बिजुक्छेँले क्रान्ति निर्मम हुने बताउनुभयो ।
पुँजीवादी सत्तालाई ध्वस्त नबनाएसम्म समाजवाद स्थापना नहुने उहाँको कथन थियो ।
सम्पन्न परिवारका छोरोछारीले पेशा, व्यवसाय वा जागिर नखाई देश र जनताको सेवामा आफूलाई समर्पित गर्नुपर्ने दोहो¥याउँदै अध्यक्ष रोहितले टाल्स्टाय र रवीन्द्रनाथ टैगोरले साहित्यमार्फत समाजको सेवा गरेको बताउनुभयो ।
नेमकिपाका सचिव एवं सङ्घीय सांसद प्रेम सुवालले ख्वप मा.वि. स्थापनाका परिवेशबारे चर्चा गर्दै सर्वसाधारण जनताका छोराछोरीलाई उच्च शिक्षाको अवसर प्रदान गरी एक घर एक स्नातक तयार गर्ने र समाजलाई बुद्धिजीवीकरण गर्ने उद्देश्य ख्वप मा.वि.को रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “भक्तपुर नगरपालिकाबाट सञ्चालन हुने ख्वप विश्वविद्यालयलाई स्वीकृति नदिई सर्वसाधारण जनतालाई शिक्षाबाट वञ्चित गर्ने शासक पार्टीहरू राणा शासनकै पदचिह्नमा हिँडेका छन् ।”
सरकारको नेतृत्वमा पुग्ने व्यक्तिहरू राजनीतिकरूपमा इमानदार नभएसम्म देशको विकास नहुने स्पष्ट पार्दै सांसद सुवालले देशको शिक्षा क्षेत्र शैक्षिक माफियाको चङ्गुलमा परिरहेको छ भन्नुभयो ।
“स्वदेशमा रोजगारी नपाएको कारण सर्वसाधारण जनताका छोराछोरीहरू ११० भन्दा बढी देशमा श्रम गर्न जान बाध्य छन् । देशको अर्थतन्त्र रेमिट्यान्सको भरमा रहेको जोखिमपूर्ण हो ।” उहाँले भन्नुभयो ।
संसद्बाट हालै पारित नागरिकता विधेयक देशघाती रहेको धारणा राख्दै उहाँले भन्नुभयो, “यो विधेयकमा नेपाली नागरिकसँग विवाह गरेका विदेशी महिलाले तत्काल नागरिकता पाउने व्यवस्था छ । नेपाली महिलाले भारतीय पुरूषसँग विवाह गरेमा नागरिकताका लागि ७ वर्ष कुर्नुपर्छ । अमेरिकामा विवाहपछि ३ वर्र्ष, बेलायतमा निवेदन दिन ३ वर्ष अगाडिदेखि बसोबास गर्नुपर्छ । बङ्गलादेशमा ५ वर्ष, भुटानमा जन्मेको बच्चाले नागरिकता पाएपछि, माल्दिभ्समा १२ वर्षपछि मात्र नागरिकताको प्रकृया सुरू हुने व्यवस्था छ ।” “२०६३ सालयता ३ जनाको सहीछापमा सरजमिन मुचुल्का गराई जन्मको आधारमा नेपाली नागरिकता विदेशीलाई समेत दिइयो । त्यो खारेज गर्नुपर्दछ ।” उहाँले भन्नुभयो ।
वरिष्ठ शिक्षाविद् प्रा.डा. विद्यानाथ कोइरालाले इतिहास र संस्कृतिको धनी भक्तपुर नगरको विद्यालयमा अध्ययन गर्न पाउनु गौरवपूर्ण अवसर भएको बताउनुभयो ।
शिक्षा व्यवहारभन्दा पर हुन नहुने धारणा राख्दै उहाँले शिक्षा व्यवहारिक र श्रमसँग सम्बन्धित हुनुपर्नेमा जोड दिनुभयो ।
उहाँले भन्नुभयो, “हाम्रो परम्परागत जीवनशैली र संस्कृति विज्ञानसम्मत छ । हामीले हाम्रो मस्तिष्क र मुटुलाई जोड्ने शिक्षा दिनु आवश्यक छ । पूर्वजहरूको ज्ञानलाई समायोजन गरी नयाँ पुस्तालाई शिक्षा दिनुपर्ने अहिलेको आवश्यकता हो ।”
प्रविधिमैत्री ज्ञानले मानव मस्तिष्क शून्य बन्दै जानु खतरनाक लक्षण हो, उहाँले भन्नुभयो ।
राजनीति पेशा हुन नसक्ने धारणा राख्दै उहाँले राजनीतिको मूल उद्देश्य देश र जनताको सेवा गर्नु नै हो भन्नुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य एवं बाग्मती प्रदेशसभाका सदस्य सुरेन्द्रराज गोसाईले देशको जिम्मेवार सुसंस्कृत र चेतनशील नागरिक बन्ने उद्देश्यकासाथ अध्ययन गर्न विद्यार्थीहरूलाई सुझाव दिनुभयो ।
उहाँले भन्नुभयो, “शैक्षिक क्षेत्रमा अब्बल भएजस्तै राजनीतिमा पनि अब्बल भएमात्र देश विकास सम्भव छ ।”
सत्तामा गएका पार्टीहरू राजनीतिकरूपमा इमानदार र जिम्मेवार नभएकै कारण नेपाली जनताले दुःख पाइरहेको केन्द्रीय सदस्य गोसाईले बताउनुभयो ।
उहाँले भन्नुभयो, “अध्यक्ष बिजुक्छेँद्वारा लिखित ‘सय वर्षपछिको भक्तपुर’, ‘जेलका चिठीहरू’, ‘हजुरबाका चिठीहरू’, ‘राजनीतिक कार्यकर्ता बन्ने भाइबहिनीहरूलाई चिठी’ लगायतका पुस्तकहरू अध्ययन गर्न विद्यार्थीहरूलाई अनुरोध गर्दछु ।”
सहिद धर्मभक्त मानव अङ्ग प्रत्यारोपण केन्द्रका निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले भनपाद्वारा सञ्चालित शैक्षिक संस्थानहरूमा अध्ययन गरेका विद्यार्थीहरू देशभर उत्कृष्टताका साथ अगाडि बढिरहेकोमा खुसी व्यक्त गर्नुभयो ।
नेपालमा पहिलोपटक कलेजो प्रत्यारोपण भक्तपुरमा भएको उहाँले बताउनुभयो ।
डा. श्रेष्ठले भन्नुभयो, “विद्यार्थीले छनोट गर्ने विषय र इमानदारीपूर्वक गरिने प्रयासले नै देशको भविष्य निर्धारण हुनेछ ।”
कार्यक्रमका सभापति एवं भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले भनपाले कला, संस्कृतिको संरक्षण र विज्ञान तथा प्रविधिलाई पछ्याउँदै भक्तपुर नगरमा विकास निर्र्माणका कामहरू भइरहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “भक्तपुरलाई शिक्षा र संस्कृतिको केन्द्रको रूपमा विकास गर्ने लक्ष्यका साथ भनपाका जनप्रतिनिधिहरू क्रियाशील छन् ।”
हाम्रा शैक्षिक संस्थानहरूमा एक्काइसौँ शताब्दीका चुनौतीहरू सामना गरी अगाडि बढ्न सक्ने नयाँ पुस्ता तयार गर्ने क्षमता राख्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
विद्यालयका प्राचार्य प्रकाशकुमार श्रेष्ठले स्वागत गर्नुभएको उक्त कार्यक्रममा ख्वप कलेजका प्राचार्य रूपक जोशी र बीए तथा एमए अङ्ग्रेजी विषयका इन्चार्ज कमिनिका न्याइच्याईले पनि बोल्नुभएको थियो ।
कार्यक्रममा कक्षा १२ का विद्यार्थीहरूले सांस्कृतिक प्रस्तुतिहरू प्रदर्शन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *