भर्खरै :

चुनाव जित्नमा केन्द्रित गठबन्धन अनैतिक

सिराहा, ४ भदौ । “पञ्चायती व्यवस्थाले नेमकिपालाई नष्ट गर्न खोजे पनि त्यो आफै नष्ट भयो । सत्यको पक्षमा लड्नेहरूको विजय सुनिश्चित छ ।”
उक्त भनाइ नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भदौ ९ गतेको कालो दिनको भत्र्सनामा सिराहाको लाहानमा आयोजित कार्यकर्ता भेलामा बोल्दै उहाँले विचार र सिद्धान्त मिल्ने पार्टीहरूबीच संयुक्त मोर्चा वा पार्टी एकता सम्भव भए पनि हाल सरकारी दलहरूबीच निर्वाचनको लागि भएको गठबन्धन अनैतिक र जसरी भए पनि चुनाव जित्नेमा केन्द्रित भएको बताउनुभयो ।
केन्द्रीय सदस्य प्रजापतिले शासक दलहरू निर्वाचनलाई जनताको राजनैतिक चेतनास्तर उठाउने अवसरभन्दा अकुत सम्पति कमाउने व्यापार गरिरहेको बताउँदै राजनीति व्यापार होइन, देश र जनताको निःस्वार्थ सेवा गर्ने हो भन्नुभयो ।
उहाँले वर्तमान शासकहरूले कामदार वर्गको हित नगर्ने हुँदा नेपाल मजदुर किसान पार्टीले स्थापनाकालदेखि नै देशमा समाजवादी व्यवस्था स्थापनाको निम्ति कार्य गर्दै आएको जानकारी दिनुभयो ।
कार्यक्रममा नेपाल क्रान्तिकारी शिक्षक सङ्घका केन्द्रीय सहसचिव जगनाथ सुजखुले पार्टीलाई समूल नष्ट गर्न पञ्चायती राज्यस्तरबाट २०४५ भदौ ९ गते रचिएकोे षड्यन्त्रको सङ्क्षिप्त इतिहासको स्मरण गर्दै हरेक वर्ष यो दिनलाई कालो दिवसको रूपमा मनाई यस्ता घटनाबाट पाठ सिक्नुपर्ने र कार्यकर्ताहरू एकजुट भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रमका सभापति एवं नेमकिपा सिराहाका जिल्ला अध्यक्ष विजयकुमार महत्तोले नक्कली कम्युनिस्टहरूको पहिचान गरी भ्रष्टाचारी नेताहरूलाई आउँदा निर्वाचनमा हराउन जनता सचेत हुनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा नेमकिपा सिराहाका हरिनारायण महत्तो, रामविलाश यादव, राजकुमार पासवान, गीताकुमारी सिं, जागेश्वर कामदलगायतले बोल्नुभएको थियो । कार्यक्रमको औचित्यबारे नेपाल इन्जिनियरिङ समाजका उपाध्यक्ष नरेश खत्रीले बताउनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *