भर्खरै :

भक्तपुरको गाईजात्रा : छुट्टै सांस्कृतिक विशेषता

गुन्हिपुन्हिको भोलिपल्ट सापारुको दिन दिनभरिजसो ताहामचा, विभिन्न बाजागाजा तथा नाचगानहरूको नगर परिक्रमा भइरहन्छ । साँझपख लाक्वःलाछेँबाट निकालिने परालबाट बनाइएको भैल द्यको प्रतीक मानिने भैल द्य र नकिंजु अजिमाको प्रतीक मानिने ताहामचा हुन् । भैल द्यको ताहामचा जहाँबाट सुरु भएको हो त्यही ल्याएर टुङ्गिएपछि खोलामा लगेर बगाइन्छ र उक्त दिनको जात्रा समापन हुन्छ ।
भैल द्य ल्याइने क्रममा बजाइने बाजाहरू धाँ, लाला खिँ, तँ, भुछ्या र सिछ्या हुन् । माथि उल्लेखित गीतकै लयमा खिँ र धाँले पालैपालो तालबद्ध पारेर घिन्ताङघिसी खेलाउँदै नगर परिक्रमा गराइन्छ । अत्यन्त मीठो सुनिने ताल बज्दै गरेको सङ्गीतमा भक्तपुरवासी नै झुम्ने गर्दछन् । धिमे बाजा त नबजाइँदो रहेछ । भैल द्य ल्याउने क्रममा हतारहतार गरेजस्तो घिन्ताङघिसीको ताल नबजाइँदो रहेछ । सुन्दै आनन्द आउने र उही तालमा घिन्ताङघिसीको भाका गाउँदै रम्ने रहेछ । कतिपय ताहामचासँग घिन्ताङघिसी नचाउँदा धिमे बाजाको प्रयोग गरेका छन् । पुरानो पुस्ता वा भनौँ बाजेबज्यैहरूलाई सोध्यौँ भने घिन्ताङघिसी खेल्दा वा बजाउँदा उनीहरू धिमे बाजा प्रयोग नगरिएको बताउँछन् । के धिमे बाजा साँच्चै घिन्ताङघिसीमा बजाउनु नै पर्ने हो त ? के हामी ‘ताहामचा गना तय्…’ को भाका बिर्सेर ‘रप पौ रप पौ जेरी आधा पौ’ गाउँदै गाईजात्रा हाम्रो हो भनेर फूर्तिमात्र गर्दै बस्ने हो त ? के हामीले धाँ बाजा र खिँ बाजामा बजाइने घिन्ताङघिसीको बोलीलाई बिस्तारै लयबद्धरूपमा ताल नबजाई छिटोछिटो हत्तारहत्तार बजाउँदै जात्राको शोभा बिगार्दे जाने हो त ? अहिलेको दृश्य हेर्दा खिँ बाजामा नयाँ पुस्ताको ध्यान निकै कम भएको देखिन्छ । त्यसको कारण भनेको टोल–टोलमा रहेका दाफाहरूमा नयाँ पुस्ताको सहभागिता कम हुनु हो । के हामीले दाफा गाउन बजाउन नसिक्ने ? दाफा कमजोर हुनु भनेको जात्रा पर्व कमजोर हुनु हो । के हामीले जात्रा पर्व नबचाउने ? कुनै पनि टोलमा जात्रा व्यवस्थापन गर्नकै निम्ति दाफा बनाइएको हुन्छ । उही दाफाका सदस्यहरूले बाजा बजाउने दाफाका गीत या भजन गाउने गर्दछन् । कुनै बाजाको लोकप्रियता बढ्नु र त्यसको व्यापकरूपमा प्रयोग हुनु एउटा पक्ष हो भने परम्परा र संस्कृतिलाई चलाउनु या जीवन्तता दिनु अर्काे पक्ष हो । जात्राको रूप र विशेषता के हो ? त्यतातिर ध्यान दियौँ भने हाम्रो पुर्खाले सिर्जेको सम्पत्ति, हाम्रो कला र संस्कृति बचाउन सक्छौँ भन्ने कुरामा दुईमत नहोला ।

ऐतिहासिक नगरी भक्तपुरको बारेमा
भक्तपुर जिल्ला नेपालको सबैभन्दा सानो जिल्ला हो । यसमध्ये ऐतिहासिक नगरी भक्तपुर पनि पर्दछ । भक्तपुर नगरले जम्मा ६.८८ वर्ग किमिमात्र ओगटेको छ । यसले सांस्कृतिक धरोहरको रूपमा विश्व जगतमा नेपालको प्रतिनिधित्व गर्दछ । विश्व सम्पदा सूचीमा सूचिकृत विभिन्न सम्पदाहरू नै भक्तपुर नगरको पहिचान हो । त्यही पहिचानलाई नै युनेस्कोले सन् १९९५ मा विश्व सम्पदा सूचीमा सूचिकृत गरेको हो ।
भक्तपुर नगर विभिन्न मूर्त तथा अमूर्त सम्पदाले भरिपूर्ण नगर हो । हरेक महिनाजसो जात्रा, पर्व खाली नहुने नगर हो भक्तपुर । बिस्का जात्रा, सापारु (गाईजात्रा) आदि भक्तपुरका अतुल्य पर्व÷जात्राहरू हुन् । गुन्हिपुन्हिको पछिल्लो दिन भक्तपुरमा सापारु मनाइने गरिन्छ । सापारुको विशेषता भने वर्षभरि दिवङ्गत भएका व्यक्तिहरूको सम्झनामा बाँसको ताहामचा बनाई नगर परिक्रमा गराउनु हो भने भक्तपुर नगरको विभिन्न टोल–टोलका सांस्कृतिक एवम् परम्परागत बाजागाजा, नाचगान एवम् नृत्यहरू प्रस्तुत गर्नु पनि हो ।
जहाँ जात्रा हुन्छ, त्यहाँ बाजा बज्छ । भक्तपुरको पहिचान यस्ता जात्रा चाडपर्वले नै बनाएको छ । जुन आज होइन परापूर्वकालदेखि नै चल्दै एक पुस्ताबाट अर्काेलाई हस्तान्तरण र पुस्तान्तरण हुँदै अहिलेसम्म जीवन्तता पाइरहेको छ । सापारुको दिन भक्तपुरमा बिहानदेखि नै एउटा गीत गुञ्जिएको हुन्छ । त्यो हो ‘ताहा मचा गना तय्, ग्वखँ प्वाले तय्, ग्वखँ प्वाले मन्हंयसा खुसीं चुइक छ्वय् ।’ यही गीतलाई गुन्हिपुन्हिको दिन तलेजुबाट ल्याइने घिन्ताङघिसीमा मुवालीँ बाजामा लयबद्धरूपमा बजाउँदै नगर परिक्रमा गराइन्थ्यो । दुःखको कुरा, २०७९ सालको गुन्हिपुन्हिमा त्यो सुन्न पाइएन । साथै हनुमान एक जोडी पनि हुन्थ्यो त्यो पनि थिएन । के यो जात्रामा ¥हास आएको पहिलो चिह्न हो ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *