भर्खरै :

कृषि बालीमा कीटाणु र रोगको प्रकोप अत्याधिक वृद्धि

कृषि बालीमा कीटाणु र रोगको प्रकोप अत्याधिक वृद्धि

देशभरि जलवायु परिवर्तनको प्रभाव बढिरहेको छ । तर, सरोकारवाला जिम्मेवार सरकारी पक्षले ध्यान नदिँदा दैलेखको पश्चिमी भेगका ठाँटीकाँध गाउँपालिका र आठबिस नगरपलिकामा पनि कीटाणु र रोगको प्रकोप वृद्धिले कृषकको अन्न बालीमा ¥हास आएको छ ।
विगत लामो समयदेखि आफ्नै पुरानो परम्परागत शैलीमा खेतीपाती गर्दै आएको भए पनि अहिलेसम्म सरोकारवाला पक्षहरू आफ्नै व्यक्तिगत काममा व्यस्त छन् । तर कृषकको समस्या समाधानमा कुनै पनि चासो नदेखाएको पीडित कृषकहरूले गुनासो पोख्दै आएका छन् । २०७४ सालको स्थानीय निर्वाचनपश्चात् सर्वसाधारण जनता र किसानको पक्षमा कसैले केही काम गर्छन् कि भन्ने आशा गरिएको भए पनि चुनावी नाराबाहेक त्यसभन्दा बढी केही चासो नदेखाउँदा समस्या ज्यूँका त्यूँ नै देखिएको छ, कुनै राहतको महसुस भएको छैन ।
अघिल्लो कार्यकालको स्थानीय सरोकारवालाले जनताको आँखामा छारो हाल्न र भ्रम फाल्न केवल माटो परीक्षणको कुरा गरेर प्रत्येक किसानलाई आ–आफ्नो खेतबारीबाट माटो उठाउन लगाए पनि त्यो माटो परीक्षण भयो भएन वा परीक्षण गर्ने माटो परीक्षककहाँ पुग्यो वा पुगेन अत्तोपत्तो भएन । किसानको स्थानीय ठाउँमा कृषिविज्ञ र माटो परीक्षण केन्द्र स्थापना गरी कृषि लक्षित काम व्यवस्थित तवरबाट सञ्चालन गरिनु भन्ने चाहना र माग हुँदाहुँदै पनि जिम्मेवार सरोकारवालाहरूले बिनायोजनाको रकम छुट्याएर अव्यवस्थित र मनलाग्दो हिसाबले सरकारी रकमको दुरूपयोगमात्र गरेका छन् । वास्तविक पीडितको हातमा छुट्याइएको रकम परेको छैन ।
यहाँ लगाइने सबै मौसमका खाद्यान्न, फलफुल, तरकारी तथा मसलाजन्य र सबै प्रकारका खेतीबालीमा प्रत्यक्ष देखिने कीटाणुका साथै परिक्षणबाट मात्र देखिने भित्री रोगका कारण किसानको परिश्रम त्यतिकै खेर गएको छ । विशेष गरेर वर्षे बालीअन्तर्गत यहाँको मुख्य बाली मकै पसाउने बेलादेखि नै पात सुकेर आउने गरेको र मकैको कोसा÷फल त्यति राम्रो नहुने समस्या देखिएको छ भने धानमा राम्रोसँग बाला नै नलागी सुक्ने गरेको छ । त्यस्तै काँक्रो, फर्सी, खुर्सानीलगायत सबै बालीमा पात पहेँलिने, कुहिने र फल नै नलागी बिरुवाहरू मरेको देखिएको छ ।
सरकार र सरोकारवाला पक्षले कृषिमा आधुनिकीकरण अपनाई नयाँ खेती प्रणाली, माटो परीक्षणअनुसार नयाँ बीउका साथै खेतीपातीमा निरास भएका कृषकहरूलाई आकर्षक गर्ने खालका कार्यक्रम सञ्चालन गर्नुपर्ने थियो । कृषि उत्पादनको ¥हासलाई न्यूनीकरण गरी कृषिप्रधान देशको इज्जत राख्न सरकार लागिपर्नु पर्ने देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *