भर्खरै :

चामुण्डा विन्द्रासैनीमा भक्तपुर काण्ड भत्र्सना

दैलेख, भाद्र ८ गते । नेपाल मजदुर किसान पार्टीलाई समूल नष्ट गर्ने उद्देश्यले पञ्चायती राज्यस्तरबाट रचिएको भक्तपुर काण्ड (कालो दिन) को भत्र्सनामा पार्टीको दैलेख जिल्ला समितिको आयोजनामा बुधबार चामुण्डा विन्द्रासैनीमा प्रशिक्षण कार्यक्रम सम्पन्न भयो ।

कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य का. जग्य बहादुर शाहीले भक्तपुर काण्ड नेमकिपाविरुद्ध पञ्चायती सरकारको प्रतिशोध भएको स्पष्ट पार्नुभयो । भूकम्प पीडित जनतालाई पक्षपातपूर्वक राहत वितरण गर्ने व्यक्तिलाई बलीको बोको बनाई राज्य आतंक मच्चाइएको उल्लेख गर्दै उहाँले पार्टीका अध्यक्ष लगायत ६७ जना नेता कार्यकर्ता सर्वस्व हरणसहित फासीको सजाय माग गरिएको बताउनुभयो ।

अर्का केन्द्रीय सदस्य का. सरोजराज गोसाईले भक्तपुर काण्डको पृष्ठभूमि र घटनाक्रमबारे विस्तृत जानकारी गराउनुभयो । उहाँले देश र जनताको हितमा निरन्तर कार्यरत नेमकिपाको अस्तित्व नै समाप्त पार्न जनस्तरमा राज्य आतंक फैलाइएको चर्चा गर्दै उहाँले आगोसंग खेल्ने पंचायत जनप्रतिरोधको आगोमै समाप्त भएको स्पष्ट पार्नुभयो ।

जर्मनीका कम्युनिष्ट नेताहरुलाई समाप्त पार्न तत्कालीन हिटलरको फासीवादी सरकारले जर्मन संसद भवन राइखस्टाग मा आगलागी गरेको घटना सुनाउँदै सदस्य गोसाईले हाम्रो देशको प्रतिकृयावादी सरकारले फेरि पनि पार्टी र कार्यकर्ताविरुद्ध षड्यन्त्र गर्न सक्नेतर्फ सचेत रहन आग्रह गर्नुभयो ।

कार्यक्रममा पार्टीका अर्का केन्द्रीय सदस्य का. रविन्द्र ज्याख्वले निर्वाचनको मिति घोषणा भएपछिको कामचलाउ सरकारले नागरिकता विधेयक जस्तो देशको सार्वभौमसत्तासंग जोडिएको संवेदनशील विषय संसदबाट पारित गर्नु देशघाती भएको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *