भर्खरै :

नेपालभाषा साहित्य तःमुंज्या कामदार वर्गको दबु

भक्तपुर, ८ भदौ । “नेपालभाषा साहित्य तःमुंज्या कामदार वर्गको दबु हो । राष्ट्रिय र अन्तर्राष्ट्रिय विषयलाई तःमुंज्याले आवाज उठाउँदै आएको छ ।”
उक्त भनाइ नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले नेपालभाषा साहित्य तःमुंज्याको आयोजनामा बुधबार भएको कार्यक्रममा व्यक्त गर्नुभएको हो ।
उहाँले भन्नुभयो, “यसपालिको तःमुंज्याको दबुमा नेपाली लेण्डुपहरूको विरोध हुनेछ । देशघाती नागरिकता विधेयक, एमसीसी सम्झौता, एसपीपी समझदारीको विरोध तःमुंज्याको दबुले गर्नेछ ।”
कोशी, गण्डक, महाकाली सन्धिको विरोध तःमुंज्याको दबुले गर्दै आएको चर्चा गर्दै उहाँले भन्नुभयो, “यसपालिको तःमुंज्याको दबुमा लुम्बिनीमा ध्यान गर्न आएका भारतीय प्रधानमन्त्री मोदीलाई अरूण चार जलविद्युत् परियोजना ‘प्रसाद’ दिएको र पश्चिम सेती जलविद्युत् आयोजना भारतीय र कम्पनीलाई दिएकोको विरोध हुनेछ ।
उहाँले भन्नुभयो, “सदाझैँ यसपालिको रोपाइँको बेला रासायनिक मल अभाव भयो । महँगी पनि भयो । यो सबैको विरोध तःमुंज्याको दबुमा हुनेछ ।”
केही दिनअगाडि एकजना सचिवले सिंहदरबार भ्रष्टाचारको अखडा भएको बताएको उल्लेख गर्र्दैै सचिव सुवालले बजेट निर्माणमा बिचौलिया प्रवेशले सचिवको भनाइमा सत्यता रहेको बताउनुभयो ।
उहाँले तःमुंज्याको दब्बुले नयाँ पुस्तालाई देशभक्त र सुसंस्कृत बनाउन भूमिका निर्वाह गर्ने कुरा उल्लेख गर्र्दै नयाँ पुस्तालाई देश र समाजको सेवामा समर्पित हुन उत्साहित गर्नेछ भन्नुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य एवं बाग्मती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले नेपालभाषा साहित्य तःमुंज्यामार्फत देशभर छरिएर रहेका भाषाप्रेमी तथा संस्कृतिप्रेमीहरूलाई एकत्रित गरेर समेट्दै लैजानुपर्ने आवश्यकता औँल्याउनुभयो ।
नेमकिपा भनसका अध्यक्ष नारायणबहादुर दुवालले नेपालभाषा साहित्य तःमुंज्या राजनीतिक सङ्घर्ष गर्ने दबु रहेको बताउनुभयो ।
नेपालभाषा साहित्य तःमुंज्याका अध्यक्ष आशाकुमार चिकबन्जारको सभापतित्वमा भएको उक्त कार्यक्रममा भनपा वडा नं. १ का वडाध्यक्ष श्यामकृष्ण खत्री, कृष्णबहादुर दुगुजू, लक्ष्मीनारायण खत्री, लक्ष्मीसुन्दर सुवाल र अम्बिका न्याइच्याईले पनि बोल्नुभएको थियो ।
भेलाले श्यामकृष्ण खत्रीको अध्यक्षतामा ४२ सदस्यीय ४२ औँ नेपालभाषा साहित्य तःमुज्या सम्मेलन तयारी समिति गठन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *