के मन्त्री भ्रष्टाचारको पर्याय हो ?
- चैत्र ३०, २०८२
सहरदेखि गाउँ–गाउँका दुर्गम ठाउँहरूमा सबैभन्दा बढी व्यापारको रूपमा बिक्ने र आम्दानीको स्रोतको रूपमा रक्सीको प्रचुर मात्रामा प्रयोग भएको छ । खेतीपाती, व्यापार–व्यवसाय र अनेकौँ पेशामा लागिरहेका धेरैजसो मानिसहरूले आफूले गर्न लागिरहेका पेशामा उपलब्धि भएन भन्दै रक्सीका लाइसेन्स बनाइ स–साना बजार र बस्ती भएका ठाउँमा मात्र होइन, खोला, बगर, बाटो घाटो र जङ्गलका छेउ छेउमा कही कतै कटेज र छाप्रोहरू छन् भने त्यहाँ पक्कै पनि रक्सी नै पाइन्छ । आवतजावत गरिरहँदा थकानको लागि बस्नु पर्दा र केही भोक मेटाउने वस्तुको खोजी गर्दा त्यो बस्ती र कटेजका मालिकको भनाइ हुन्छ, “चिसो नास्ता पाइन्छ बस्नुस् खाएर जानुहोला ।” लाइसेन्स र ब्रान्डेड रक्सीमात्र होइन । गाउँ घरमा पनि धेरैजसो मान्छेहरू सामान्य व्यापारको वस्तु नै रक्सी भएको छ । विगतमा पनि ठाउँ–ठाउँमा रक्सीका भट्टी चलाउने गर्थे रे । आजभोली पनि घरेलु र ‘लोकल’ रक्सीको उत्पादन पनि कम छैन । जातिगत हिसाबले तामाङ, मगर, गुरुङ, भोटे, नेवार र जनजातिका घरमा रक्सी र जाँड तयार गर्ने गरेको भए पनि अहिले आएर बाहुन, क्षत्री, शिक्षित, महिला, पुरुषमात्र होइन स्वास्थ्यकर्मी समेतले रक्सी तयार गर्ने र त्यसको व्यापार गर्ने गरेको पाइएको छ । रक्सीको व्यापारले ठूलो लगानी गर्ने व्यापारी र मालिकले रक्सी बिक्रीबाट अथाह पैसा कमाएको देखिएको छ भने केही स–साना व्यापारीहरूलाई रक्सीले नै खाएको पनि छ । अहिले यातायात आवतजावत गर्ने ठाउँ, होटेल, रिसोर्ट, पार्टी, व्यक्तिगत बस्तीका साथै गोप्य वा सार्वजनिक ठाउँहरू रक्सीमय भएको अवस्था छ । शौचालयसमेत रक्सीको गन्ध आउने गरेको छ ।
उसो त रक्सीको व्यापार र उत्पादनमात्र होइन । यसको सेवनले पनि उत्तिकै गति लिएको छ । विशेष गरेर खुल्लारूपमा रक्सीको व्यापार अछाम, कैलाली, सुर्खेत, जुम्ला, कालीकोट, दैलेखलगायत कर्णाली र सुदूरपश्चिम प्रदेशका सबै ठाउँहरूमा बढी रक्सीलाई अव्यवस्थित तरिकाले बेचबिखन र सेवन गर्न छुट दिएको छ । देशका अन्य भाग र अरू प्रदेशमा पनि यसै गरी बिक्री वितरण र सेवन गर्ने कार्यमा नियन्त्रण र व्यस्थापन त पक्कै नहोला । रक्सी नै आनन्द, रक्सी नै आहार, रिस मेटाउने, रिस पोख्ने र पहिचानको माध्यम नै रक्सी भइराखेको बेला समाजमा असन्तुष्टीका आवाजहरू पनि त्यत्तिकै सुनिने गरेको पाइएको छ । ठाउँलाई सीमित र साँघुरो पारेर कुरा गर्ने हो भने दैलेखको पश्चिमी भाग चामुण्डाबिन्द्रासैनी नगरपालिका, ठाँटीकाँध गाउँपालिका, आठबिस नगरपालिकामा पनि रक्सी, उत्पादन, बिक्रीवितरण र सेवन गर्नेको सङ्ख्या अत्यधिक रहेको छ । रक्सी सेवन गर्नेमा उच्च ओहदाका जिम्मेवार सरोकारवालादेखि सर्वसाधारणसमेतले यसलाई सेवन र प्रयोग गरेको पाइएको छ । शिक्षित, अशिक्षित, जिम्मेवार र सर्वसाधारणसमेतले रक्सीलाई अन्धाधुन्ध तवरले सेवन गर्दा समाजमा कलह, झगडा, केटाकेटीलाई तनाव हुनुका साथै केटाकेटीलाई विद्यालयको दैनिक शिक्षा प्राप्तीमा बाधा आएको छ । वास्तविकरूपमा भन्दा केहीको त दिनचर्या नै रक्सीमा गएको छ । गाउँका धेरैजसो युवाहरू बिहान सबेरै उठ्ने जाँड रक्सीमा बतालिने र आफ्नो घरायसी काममा चासो नै नराख्ने समेत अवस्थामा पुगेको अवस्था छ ।
समय परिवर्तनसँगै हरेक कुरा परिवर्तन हुन्छ, मान्छेको सोच र विचारमा परिवर्तन हुन्छ । पुराना सनातनकालदेखि चलिआएका खराब कुरालाई त्याग्दै आधुनिक जमानाका नया कुरा समाजमा एक एक गरि लागू गर्नुपर्ने समाजलाई सुसंस्कृत, सम्पन्न र सभ्य समाज निर्माण गर्ने कार्यमा युवा समाजलाई लगाउनुपर्नेमा किन यसो भनी चिन्तन गर्ने र मनन् गर्ने पनि नभएका होइनन् । तर, सम्बन्धित निकाय, सरोकारवाला जिम्मेवार पक्ष, जनप्रतिनिधि, केन्द्र प्रदेश र स्थानीय सरकार नै सुशासन र शान्ति सुरक्षाका जिम्मेवार पक्ष हुन् । जनतालाई परेको समस्या समाधान गर्ने र समाजमा सौहाद्रपूर्ण वातावरणमा निर्माणको लागि हामी काम गर्छौ भनी जिम्मा लिएर गैसकेपछि कतिको जायज हुन्छ बेवास्ता गरेर बस्न ? जिम्मेवार राजनैतिक दल र तीनका कार्यकर्ताहरू पनि छन् । चुनावको बेला सबै कुरा ओकल्न पछि पर्नु हुन्न । चुनावको बेला अरू कुरा छोडौँ रक्सी नै वितरण गरेर भोट आफ्नो पोल्टामा पारेको देख्ने, सुन्ने प्रत्यक्षदर्शी हामीबीच नै बस्नुभएको छ । अरू कुरालाई छोडौ रक्सी खाएर समाजमा भाँडभैलो मच्चाउने र मच्चिएको बेला सुस्त र मस्तसँग रमाएर समस्या समाधानमा लाग्ने होइन भने जिम्मेवारी लिनुको कुनै अर्थ हुँदैन ।
जनताको घर घरमा गएर भात र रोटी पकाउने होइन । त्यो जनताले चाहेको पनि छैन । केबल समस्याहरूमध्येको एउटा प्रसङ्ग थियो, “रक्सी वितरण प्रणाली र सेवनको ।” प्रत्येक घरमा प्रायःजसो मान्छे जाँड र रक्सी सेवन गरी घर परिवार, समाज, स–साना बालबालिका, महिला दिदीबहिनीमाथि गरिने व्यवहारले उनीहरूलाई पिरोलिरहेको अवस्था छ र समाजको सभ्यता निर्माणमा रक्सी नै बाधक तत्व भएको अवस्थामा त्यसको नियन्त्रण, रोकथाम, प्रतिबन्ध गर्न सम्बन्धित निकाय र सरकारको बेलैमा ध्यान जाओस् । समाजमा आईलाग्ने बाधक तत्व समाधानको माध्यम सरकार होइन र ?
Leave a Reply