भर्खरै :

जुम्लामा भक्तपुर काण्डको भत्र्सना तथा नागरिकता विधेयक खारेजीको माग गर्दै विरोध प्रदर्शन

जुम्ला, १० भदौ । नेपाल मजदुर किसान पार्टीविरूद्धको पञ्चायती राज्यस्तरको षड्यन्त्रको विरोधमा जिल्लाको सदरमुकाममा एक कार्यक्रमको आयोजना गरिएको छ ।
नेमकिपा, जुम्ला जिल्ला समितिले आयोजना गरेको कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य सरोजराज गोसाईले सत्ता र शक्तिको निम्ति पञ्चायती व्यवस्थाका हिमायतीहरूले जनप्रिय नेता तथा कार्यकर्तारूलाई षड्यन्त्रको सिकार बनाएको स्पष्ट पार्नुभयो ।
उहाँले भन्नुभयो, पञ्चायती व्यवस्थाले आगोसँग खेलेको थियो, आफै त्यो आगोमा डढेर खरानी भयो । किनभने, भक्तपुर काण्डले पञ्चायती व्यवस्था ढाल्न किसान र श्रमिकहरूलाई उत्प्रेरित गरेको थियो ।”
केन्द्रीय सदस्य गोसाईले देशको भूअखण्डता एवम् सार्वभौमिकताको रक्षार्थ सङ्घर्ष गर्दै आएका देशभक्त शक्तिविरूद्ध षड्यन्त्र विगतमा पनि भएको थियो, अब पनि नहोला भन्न सकिन्न भन्नुभयो ।
उहाँले नेमकिपाले भारतीय एकाधिकार पुँजी र विस्तारवादी नीतिविरूद्ध सङ्घर्ष गरिरहेको उल्लेख गर्दै अमेरिकी साम्राज्यवादविरूद्ध अविराम सङ्घर्षमा डटिरहेको नेमकिपाविरूद्ध आजका शासक वर्गबाट फेरि षड्यन्त्र हुनसक्ने तर्क गर्नुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य रवीन्द्र ज्याख्वले भक्तपुर काण्ड राजनीतिक षड्यन्त्र भएको भन्दै पश्चिम नेपालका नेमकिपाका कार्यकर्ताहरूसमेत पीडित भएको धारणा राख्नुभयो । उहाँले इतिहास दोहोरिन्छ तर फरक ढङ्गले भन्दै इतिहासबाट सिक्नुपर्ने तर्क गर्नुभयो ।
नेमकिपा, जुम्ला जिल्ला समितिका अध्यक्ष पूर्णलाल खत्रीको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेमकिपा जुम्ला जिल्ला समितिका सदस्य लालबहादुर बुढाले पनि बोल्नुभएको थियो । कार्यक्रममा सहभागीबीच अन्तरक्रिया पनि भएको थियो ।
त्यस्तै, देशघाती नागरिकता विधेयकको विरोधमा नेपाल मजदुर किसान पार्टी, जुम्ला जिल्ला समितिले शुक्रबार जुलुस प्रदर्शनको आयोजना गरेको छ ।
देशघाती नागरिकता विधेयक खारेज गर, नयाँ लेन्डुप दोर्जेहरू होसियार, भारतीय विस्तारवाद मुर्दावाद, अमेरिकी साम्राज्यवाद मुर्दावाद–लगायतका नारासहित जुलुसले जुम्लाको सदरमुकाम खलंगा बजार परिक्रमा गरेको थियो ।
प्रदर्शनपछि आयोजित कोणसभामा नेमकिपाका केन्द्रीय सदस्य रवीन्द्र ज्याख्वले नागरिकता विधेयकले नेपालको सार्वभौमिकता समाप्त हुने खतरा रहेको तर्क गर्नुभयो । उहाँले भारतीय नागरिकहरूलाई नागरिकता दिलाउन विधेयक ल्याइएको भन्दै देश फिजी बन्ने खतरा रहेको भनाइ राख्नुभयो ।
केन्द्रीय सदस्य ज्याख्वले नागरिकता विधेयकमार्फत भारतीयहरू नेपालको सार्वभौम संसदमा पस्ने, मन्त्री प्रधानमन्त्री भई देशलाई भारतमा गाभ्ने षड्यन्त्र गरिरहेको भनाइ राख्नुभयो । उहाँले आगामी निर्वाचनमा देशघाती पार्टीहरूविरूद्ध मतदान गरेर दण्डित गर्नुपर्ने विचार राख्नुभयो ।
नेमकिपाले देशका विभिन्न भागमा यस्तै जुलुस प्रदर्शन तथा सभाको आयोजना गरेर नागरिकता विधेयकको विरोध गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *