भर्खरै :

नयाँ पुस्तालाई वैज्ञानिक र व्यवहारिक शिक्षा दिन सकेमात्र समाजको आमूल परिवर्तन गर्न सकिने

भक्तपुर, १४ भदौ । नेपाल मजदुर किसान पार्टी भनपा–४, बोलाछेँ एकाइ समितिको आयोजनामा सोमबार भक्तपुर काण्ड (कालो दिवस) को संस्मरण तथा भत्र्सना कार्यक्रम सम्पन्न भयो ।
नेमकिपाका केन्द्रीय सदस्य एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सन् १९१२ मा रुसमा बोल्सेविक पार्टीका मैलिनोभ्स्कीले जार शासकविरुद्ध चर्काचर्का भाषण गर्ने भए पनि पछि उनी वर्ग शत्रुसित मिलेको पोल खुलेको र १९१७ को अक्टोबर क्रान्तिपश्चात् उनलाई सार्वजनिकरूपमा मृत्युदण्ड दिइएको दृष्टान्त सुनाउँदै हरेक व्यक्तिलाई शङ्काको दृष्टिकोणले हेर्नुपर्ने माक्र्सको भनाइबाट पाठ सिक्दै अघि बढ्नुपर्ने बताउनुभयो ।
राज्यस्तरबाट रचिएको भक्तपुर काण्डको कठिन परिस्थितिमा राजनीतिक बन्दीहरूले जेलमा भोग्नुपरेका अनेक पीडा र यातनाबारे स्मरण गराउँदै जेलभित्र पनि वर्ग शत्रुविरुद्ध सङ्गठित भई सङ्घर्षलाई तीव्र अगाडि बढाएको र शत्रुले जस्तोसुकै अनर्गल प्रचार गरे तापनि राजनीतिक तथा सैद्धान्तिक ज्ञान र व्यवहारबाट अन्य कैदीहरूबीच सकारात्मक भावना जागृत गर्न सकिएको तथ्य प्रस्तुत गर्नुभयो ।
नयाँ पुस्तालाई वैज्ञानिक र व्यवहारिक शिक्षा दिन सकेमात्र समाजको आमूल परिवर्तन गर्न सकिने उल्लेख गर्दै उहाँले सरकारले ख्वप विश्वविद्यालयसम्बन्धी विधेयकलाई अगाडि बढाउनुपर्ने आवश्यकतामाथि जोड दिनुभयो । संसदीय व्यवस्थाबाट क्रान्ति सम्भव नभएको पुष्टि गर्दै उहाँले नेमकिपाले क्रान्तिकारी संसद्वादलाई अगाडि बढाउँदै आएको चर्चा गर्नुभयो ।
नेमकिपा भनसका सदस्य कृष्णगोविन्द लाखाले आगामी निर्वाचनमा भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवादका मतियारहरूलाई परास्ट गर्नुपर्ने भनाइ व्यक्त गर्दै सैद्धान्तिक र वैचारिक खुराकका लागि पार्टी प्रकाशनको अन्तरक्रिया, छलफललाई निरन्तररूपमा सञ्चालन गर्न जोड दिनुभयो ।
पत्रकार समाज नेपालका उपाध्यक्ष उद्धव सुजखूले जर्मनमा भएको राइखन्स्टाइनको आगलागी काण्ड, केरलामा विधान सभाभङ्ग आदि विभिन्न पुँजीवादी जालझेल र षड्यन्त्रबारे नयाँ पुस्तालाई जानकार दिनन इतिहासबारे बताउनुपर्ने खाँचो उल्लेख गर्दै वर्ग शत्रुविरुद्ध हरपल सचेत भई सङ्घर्षलाई निरन्तरता दिन जरुरी रहेको विचार व्यक्त गर्नुभयो ।
नेमकिपा भनसका उपाध्यक्ष एवम् भनपा–४ नं वडाका वडाध्यक्ष उपेन्द्र सुवालले लेनिनवादी नीतिअनुरूप प्रतिक्रियावादीभन्दा प्रतिक्रियावादी सङ्घसंस्थामा गएर जनताको सेवा गर्ने कामदेखि पञ्चहरू त्रसित भई पार्टीको समूल नष्ट गर्न राज्यस्तरबाट भक्तपुर काण्ड रचिएको बताउनुभयो ।
नेमकिपा बोलाछेँ समिति इन्चार्ज एच.एस. सुवालको सभापतित्वमा भएको उक्त कार्यक्रममा आयोजक समितिका पञ्चरत्न सैंजू, कृष्णलक्ष्मी दुवाल, प्रेमलक्ष्मी त्वायनालगायतले बोल्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *