भर्खरै :

भक्तपुर काण्डको संस्मरण र आजको सान्दर्भिकता

“प्रेम र युद्धमा सबथोक जायज हुन्छ” भन्ने कथन साहित्य र चलचित्रमा सुन्दा र हेर्दा जति रोमाञ्चक लाग्छ, वास्तविक यथार्थमा यस्तो भोग्नेको जीवन त्यति नै पीडादायी हुन्छ । भक्तपुर काण्डका प्रताडितहरूको कथा पनि योभन्दा कम थिएन । २०४५ भदौमा तात्कालीन राज्यसत्ताको दुरूपयोग गरी आफ्नो राजनैतिक प्रतिद्वन्द्वीलाई विभिन्न प्रतिशोध र दुःख दिएको कुरा हामीले हरेक वर्ष यस दिनमा सम्झँदै आएका छौँ । जसरी धेरै लामो पूर्वतयारीका साथ ह्योजु काण्ड घटाइयो, यो कुरा अमेरिकाले ओसामा बिनलादेनलाई पालेर ट्वीन टावरमा हमला गराइएको भन्दा धेरै फरक छैन । इतिहास दोहरिन्छ भन्ने सुन्दा अवास्तविक लाग्न सक्छ तर हुने र भएका उदाहरण धेरै छन् । नहुँदो हो त हामीले इतिहास किन पढ्न र बुझ्न पथ्र्याे र ?
विभिन्न अपुष्ट प्रमाणहरू जुटाई नेमकिपाका सक्रिय नेता कार्यकर्ताहरूलाई जनताको नजरमा गिराएर पार्टी र सिद्धान्तलाई निमिट्यान्न पार्नको लागि तात्कालीन पञ्चायत शासकहरूले चालेको कुकर्म हो भक्तपुर काण्ड । हाल अमेरिकाले रसिया र चीनलाई जसरी पनि युद्धमा होमाई, स्रोत साधन विनाश गराई, आर्थिक उन्नति रोकी दशकाँैसम्म आफ्नो बराबरी हुनबाट रोक्ने अभिप्राय पुष्टि हुन्छ । त्यसरी नै हिजोको दिनमा नेमकिपाको सफलतालाई रोक्न नेमकिपाबाट नै राष्ट्रिय पञ्चायत सदस्य भएका ह्योजूलाई नेमकिपाविरुद्ध नै प्रयोग गरियो र बलिको बोका बनाइयो । आफू बलियो भई जित्नेभन्दा पनि शत्रुलाई फुटाएर, शत्रुको शत्रुलाई मित्र बनाई अवसरवादको असली रूपरेखाको चित्रण गरेको देखिन्छ ।
हाल अमेरिकाले रसिया र चीनविरुद्ध युक्रेन, हङकङ र ताइवानलाई प्राकृतिक स्रोत साधन, जातीयता, धर्म, मानव अधिकार, प्रविधि, वाक् स्वतन्त्रता आदि कुरामा तर्कहीन र अपुस्ट तथ्यहरू जुटाएर संसारसामु नङ्ग्याउन खोज्दै छ । त्यसरी नै हिजो रोहित र अन्य कार्यकर्ताहरूलाई बेटुकका प्रमाण जुटाएर समाप्त पार्न खोजिएको जगजाहेर भइसकेको छ । पञ्चायत चुनावमा हारेको रिसइवि, भक्तपुरमा नेमकिपासँग वषौँसम्म जित्न सकिन्न भन्ने मनोविज्ञान, प्रहरी हिरासतमा रहेकालाई चरम यातना दिई लिइएको बयान, घटनास्थलभन्दा धेरै टाढा रहेकालाई अभियुक्त बनाउनु आदि कुराहरू जालसाजीपूर्ण देखिन्छ ।
अब रह्यो आजको परिवेशमा भक्तपुर काण्डको सान्दभिकता ।
हाल पनि सत्तामा रहेका पार्टीहरूको आचरण राणाशासन र पञ्चायतका शासकभन्दा कम छैनन् । यिनीहरू चुनाव जित्न र दम्भ देखाउन साम, दाम, दण्ड र भेद सबै प्रयोग गर्छन् । एक्काइसौँ शताब्दीको मानव अधिकार, लैङ्गिक समानता, वैज्ञानिक शिक्षा, नैसर्गिक हक र अधिकार त यी पार्टीका नेताहरूको सुगारटाइमात्र हो । यस्तो सुगारटाइ र राज्य शक्तिको दुरूपयोगले भोटको चुनाव त जितिएला तर देश विकास र जनताको मन असलीरूपमा कदापि जितिन्न । हालैका दिनहरूमा पनि ठूला पार्टीका नेताहरूले चुनाव जित्न अरु दलका नेता कार्यकर्ताहरूलाई ठेगान लगाउन भौतिक आक्रमणमा उत्रिन र त्यसको जिम्मेवारी पार्टीले लिनेजस्तो हिँस्रक राजनीतिलाई प्रसय दिएको देखिन्छ । हिजो भक्तपुरमा घटाइएको घटना अब पनि भक्तपुरमै फेरि नदोहो¥याउला भन्न सकिन्न । किनभने, दशकौँदेखि उनीहरूको प्रयास देशकै एक प्राचीन राजधानी भक्तपुर कब्जा गर्नमा रहेको देखिन्छ । हामीले यस कालो दिनको बारेमा भक्तपुरमा मात्र नभई देशभरिका जनतालाई बुझाउनुपर्छ । विगतमा नेपालको राज्यसत्ताले नेमकिपाविरुद्ध जस्तो घटना घटाइयो, भविष्यमा भारत र अमेरिकाले नेपालको कुनै भू–भागमा यस्तै घटना घटाउन सक्छन् । यसको लागि भक्तपुर सम्पूर्ण देशवासीहरूलाई एकजुट गराउन नेमकिपाले अग्रणी भूमिका निर्वाह गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *