मार्गनिर्देशनबारे भाइबहिनीलाई चिठी–६
- चैत्र ३०, २०८२
विश्व स्वास्थ्य सङ्गठनको परिभाषाअनुसार मुख एवं अनुहारको दुखाइ, मुख तथा घाँटीको क्यान्सर, मुखको सङ्क्रमण, जन्मदै तालु तथा ओठ चिरेको, गिँजासम्बन्धी रोग, दाँत कीराले खाने तथा झर्ने, दाँतमा प्वाल पर्ने तथा अन्य मुखसम्बन्धी रोगहरूबाट मुक्त हुने अवस्थाको रूपमा मुख स्वास्थ्यलाई व्याख्या गरेको छ । झट्ट हेर्दा यी समस्याहरू सामान्य लाग्ने तथा सजिलै उपचार गर्न सकिने भए तापनि वार्षिकरूपमा नेपालमा मुख तथा दाँतसम्बन्धी रोगीहरूको सङ्ख्या नाटकीयरूपमा बढ्दै गइरहेको छ । हरेक घरमा लगभग हरेक सदस्यको मुखमा केही न केही समस्याहरू रहेको पाइन्छ ।
नेपालमा मुख स्वास्थ्यको अवस्था हेर्ने हो भने पनि एकदमै दयनीय रहेको छ । जनचेतनाको अभावको साथसाथै स्वास्थ्य सेवामा पहुँचको पनि अभाव रहेको छ । सन् २००४ मा गरिएको पाथफाइन्डर सर्भे हेर्ने हो भने पनि करिब ६४ प्रतिशत व्यक्तिहरू दाँत दुख्ने समस्याबाट ग्रसित छन । यसैगरी, करिब ४४ प्रतिशत (३५–३९ वर्ष) व्यक्ति गिँजा तथा गिँजाको वरिपरिको हड्डीको जटिल समस्याबाट ग्रस्त रहेका छन् । बालबालिकाको साथसाथै वयस्क व्यक्तिहरू पनि दाँत कीराले खाने र त्यसको सङ्क्रमण हड्डीसम्मै पुग्ने रोगबाट ग्रसित छन् । मुख स्वास्थ्य राम्रो बनाउन ब्रस गर्ने व्यक्तिहरू ग्रामीण भेगमा एकदमै कम रहेका छन् । जनसङ्ख्याको उल्लेख्य समूह दाँत जोगाउने भन्दा पनि दाँत निकाल्ने उपचार गराउन बाध्य छन् । मुख स्वास्थ्यसम्बन्धी जनचेतनाको अभाव वयस्क व्यक्तिहरूमा एकदमै धेरै रहेको छ । यसबाहेक मुख तथा अनुहारको दुर्घटना, खुँडेपन र एचआत्ी सङ्क्रमणबाट मुखमा हुने समस्या पनि ठूलै रूपमा देखिएको छ ।
धेरैजसो नेपालीहरूका लागि मुखसम्बन्धी रोगहरूको उपचार महँगो पर्ने गरेको छ । सीमान्तकृत तथा कम आय हुने जनसङ्ख्याको लागि निजी क्षेत्रको दन्त स्वास्थ्य सेवा लिन नसकिने गरी महँगो छ । देशभित्र अवैध सेवा प्रदायकहरूको सङ्ख्या पनि बढिरहेको छ । बिरामीहरू परम्परागत उपचारपद्धति र अवैधानिक सेवा प्रदायकहरूकहाँ जाँदा उनीहरूको स्वास्थ्यमा खतराको स्थिति उत्पन्न भएको छ । हाल यस्तो अवैध उपचार कार्य रोकथामको लागि कानुनी प्रावधान नरहेको अवस्था छ । हाल नेपालमा दाँत र गिँजाको रोगले प्रभावित जनसङ्ख्या, मुखसम्बन्धी अर्बुद रोगबाट पीडित जनसङ्ख्या एवं अवस्थाबारे समग्र तथ्याङ्कको कमी रहेको अवस्था छ ।
हालको स्रोत साधनले सामाजिक तथा आर्थिकरूपले कमजोर रहेका जनसमुदायको पहुँचमा आधारभूत मुख स्वास्थ्य सेवा पु¥याउनु, मुख स्वास्थ्य सेवालाई समतामूलक र उपयुक्त साधनस्रोतसहितको सेवाको रूपमा व्यवस्थित गर्नु नेपाल सरकारको अगाडि ठूलो चुनौती रहेको छ । जनसाङ्ख्यिक बनोट, आधुनिकीकरणको साथै नेपालीहरूको आहारमा आएको परिवर्तनले गर्दा मुखसम्बन्धी समस्या बढेको अनुमान गरिन्छ । आधारभूत मुख स्वास्थ्यको पहुँचमा कमी, असमान÷असन्तुलित जनशक्तिको वितरण र हाल विद्यमान कमजोर स्वास्थ्य स्थितिको कारण अधिकांश नेपाली जनताको मुख स्वास्थ्य समस्या सम्बोधन हुन नसकेको अवस्था छ ।
स्वास्थ्य बीमा कार्यक्रम स्वास्थ्य सेवा उपयोगको क्रममा हुने अनियोजित खर्चको जोखिमलाई अग्रीम व्यवस्थापन गर्दै वित्तीय संरक्षण प्रदान गर्ने अवधारणाअन्तर्गत सरकारले ल्याएको सामाजिक सुरक्षाको एक महत्वपूर्ण कार्यक्रम हो । समस्त नेपाली नागरिकलाई सर्वसुलभरूपमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न र स्वास्थ्य सेवा उपभोगमा सुधार ल्याउनका लागि सामाजिक स्वास्थ्य बीमाको आधारमा सबैका लागि स्वास्थ्य सेवा सुनिश्चित गर्ने उद्देश्यका साथ २०७२ सालमा सामाजिक स्वास्थ्य सुरक्षाको रूपमा सुरुवात भएको यो कार्यक्रम हाल स्वास्थ्य बीमा बोर्डले सञ्चालन गर्दै आएको छ ।
नेपालको संविधानले आधारभूत स्वास्थ्य सेवालाई निःशुल्क र सामाजिक सुरक्षाको हक प्रदान गरेको छ । वर्तमान संविधानको धारा ५१ (ज) मा नागरिकका आधारभूत आवश्यकता सम्बन्धी नीतिअन्तर्गत नागरिकको स्वास्थ्य बीमा सुनिश्चित गर्दै स्वास्थ्य उपचारमा पहुँचको व्यवस्था मिलाउने उल्लेख छ । गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्ने नागरिकको अधिकारको संरक्षण गर्न, स्वास्थ्य बीमाद्वारा पूर्व भुक्तानीको माध्यमबाट बीमितको आर्थिक जोखिम न्यूनीकरण गर्न तथा स्वास्थ्य सेवा प्रदायकको दक्षता र जवाफदेहीता अभिवृद्धि गरी स्वास्थ्य सेवामा आम नागरिकको सहज पहुँच सुनिश्चित गर्न स्वास्थ्य बीमाको व्यवस्था गरिएको भनी बीमा बोर्डको आधिकारिक वेवसाइटमा उल्लेख गरिएको छ ।
स्वास्थ्य बीमा जनताको पहुँच स्वास्थ्यमा सजिलै पु¥याउने हेतुले ल्याइएको हो । तर, बीमामा मुख तथा दन्त स्वास्थ्यलाई उचित तरिकाले समेटिएको छैन । अझै भन्नुपर्दा हेपिएको छ । विश्व स्वास्थ्य सङ्गठनको परिभाषामा परेका मुख एवं अनुहारको दुखाइ, मुख तथा घाँटीको क्यान्सर, मुखको सङ्क्रमण, जन्मदै तालु तथा ओठ चिरेको, गिँजासम्बन्धी रोग, दाँत कीराले खाने तथा झर्ने, दाँतमा प्वाल पर्ने तथा अन्य मुखसम्बन्धी रोगहरूको बारेमा बीमा मौन रहेको छ ।
बीमाले समेटिएका विषयहरू वा उपचारहरू दाँत निकाल्ने, सामान्य जीआइसी वा कम्पोजिट भर्ने र दाँतको एक्सरे रहेका छन् । दन्तस्वास्थ्य समस्याहरूको अनुपातमा उपचारको व्यवस्था अति नै नगन्य रहेको छ । जसले गर्दा बिरामीहरू कि त उपचारविहीन भएर बस्नुपरेको छ कि त महँगो शुल्क तिरेर निजी क्लिनिक वा अस्पतालमा उपचार गर्न बाध्य हुनुपरेको छ । त्यस्तै, अहिले सरकारले बीमा कार्यक्रम सरकारी अस्पतालहरूबाट मात्रै प्रदान गर्ने निर्णय गरेको छ । कतिपय सरकारी अस्पताल वा रिफरल अस्पतालहरूमा सामान्य दन्त उपचारमात्रै हुने गरेको छ । केही समय अघिसम्म निजी अस्पताल वा कलेजमा रिफरल लिएर जाने गरिएको भए तापनि अहिले त्यो अवस्था पनि छैन । जसले गर्दा बिरामीहरू धेरै नै समस्यामा पर्ने गरेका छन् । बिरामीहरू उपचार नहुने र रिफरल पनि नहुने दोहोरो मारमा परेका छन् ।
नेपाल सरकारले स्वास्थ्य नीति र नसर्ने रोगसम्बन्धी कार्यनीतिसँग समन्वय गरेर कार्य गर्ने गरी नेपाल मुख स्वास्थ्य नीति २०७१ पनि तर्जुमा गरेको छ । मुख स्वास्थ्यको प्रद्र्धधन तथा रोगहरूको नियन्त्रण गर्ने, मुख स्वास्थ्यसम्बन्धी सेवामा सबैको पहुँच सुनिश्चित गर्ने, निरन्तर निगरानी, अनुगमन तथा मूल्याङ्कन र अनुसन्धानलाई प्राथमिकता दिने, स्वास्थ्य नीति तथा प्रणालीमा मुख स्वास्थ्यमा प्राथमिकीकरण गर्ने, मुख स्वास्थ्यको विकासको लागि अन्य क्षेत्रहरूसँग साझेदारी गर्ने र स्वाथ्य प्रणालीको सुदृढीकरण गर्नेलगायतका यस नीतिका महत्वाकाङ्क्षी उद्देश्यहरू छन् । सन् २०२४ सम्म केन्द्रमा विशिष्ट सेवा रहेको रिफरल अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्रदेखि सबै अस्पतालहरूमा उपचार गर्ने जनशक्तिको दरबन्दी सिर्जना गर्नेलगायतका लक्ष्य राखेको राष्ट्रिय मुख स्वास्थ्य नीतिको कार्यान्वयन भने निकै नै फितलो भएको प्रस्ट देख्न सकिन्छ ।
मुख स्वास्थ्य नीतिमा उल्लेख गरिएका समस्याहरूलाई पनि स्वास्थ्य बीमा कार्यक्रममा समेटिएको छैन । जसले गर्दा नीति तथा कार्यक्रम र बीमा कार्यक्रम एकआपसमा टाढिएका छन् । जसको मारमा भने जसको लागि बीमा कार्यक्रम ल्याइएको हो, ती गरिब तथा सिमान्तकृत जनता परेका छन् । यी समस्याहरूको समाधान भनेको बीमा बोर्ड र सरकारले दन्त चिकित्सासम्बन्धी विभिन्न समुदायहरू, डेन्टल कलेजका प्रतिनिधिहरू र दन्त चिकित्साका विभिन्न विज्ञहरूसँग समन्वय गरेर समस्याहरूको पहिचान गर्ने र कसरी निरूपण गर्ने भन्ने दिशामा अघि बढ्नुपर्दछ । कुनकुन समस्याहरूमा कुनकुन उपचार विधिहरू बीमा कार्यक्रममा समावेश गर्नुपर्दछ भनेर बृहद अन्तत्र्रिmया कार्यक्रम आयोजना गर्नुपर्दछ । जसले गर्दा सामान्य जनताको मुख तथा दाँतसम्बन्धी रोगहरूको सही उपचार निःशुल्करूपमा उपलब्ध हुनेछ ।
(डाक्टर रिजाल काठमाडौँ विश्वविद्यालय, कलेज अफ डेन्टल सर्जरी, पेरियोडोन्टिक्स विभागमा लेक्चररको रूपमा कार्यरत छन् । )
–स्वास्थ्य खबरपत्रिकाबाट
Leave a Reply