भर्खरै :

गणतन्त्रमा हुकुमी शासन चल्दैन

गणतन्त्रमा राजतन्त्रमा जस्तो हुकुमी शासन चल्दैन । राज्यको ऐन कानुनको आधारमा सरकार चलेको हुन्छ । तर, गणतन्त्र आइसकेको १३/१४ वर्ष भइसक्दा पनि गणतन्त्र संस्थागत भएको देखिँदैन । राजतन्त्र अत्य भए पनि अहिले पनि सामन्तका अवशेषहरू बाँकी छन् । हिजो राजा र राज परिवारका केही सामन्तहरू थिए भने अहिले धेरै नवधनाढ्य, नवसामन्त र नयाँ खानदानीहरूको हालीमुहाली छ । हिजो एक जना राजा थिए भने अहिले धेरै राजाहरू जन्मेको राजनीतिक विश्लेषकहरूको टिप्पणी छ । हिजो राजा र राज परिवारका सदस्यहरू मन्दिर–मन्दिरमा पुगेर प्रार्थना गनर्,े जात्रामा सम्मिलित भएझैँ अहिले राष्ट्रपति, प्रधानमन्त्री या शासक नेताहरू पनि मेला, जात्रामा सम्मिलित भइरहेको हामीले देखिरहेका छौँ । अहिलेका शासक दलका नेता कार्यकर्ताहरू बिचौलिया, दलाल, ठेकेदार, तस्कर, गुण्डा, भ्रष्टाचारीहरूको वरिपरि घुमिरहेका छन् । तिनीहरूकै भरमा सरकार र ठूला पार्टी चलिरहेको देखिन्छ ।
भन्न त शासकहरू आफूलाई जनसेवक भन्छन्, जनताको सेवा गर्नु नै आफ्नो कर्तव्य ठान्छन् । तर, व्यवहारमा त्यो पटक्कै देखिएको छैन । आफूलाई ठूला र शक्तिशाली ठान्छन् । ठूलो भएको आधारमा सच्चा ठान्छन् । सत्य र न्यायको आधार दल ठूलो होइन । ठूलो दललाई नै सच्चाइ ठान्ने हो भने ठूला दलहरू पनि समयअनुसार सानो ठूलो भएका छन् । शासकहरूमा अझैँ सामन्त चरित्र यथावत छ । उनीहरू अरूलाई गन्दैनन् । अझ तिनीहरू साना दललाई फुटाउने प्रयास गर्छन् । अनेक लोभलालच देखाएर नेता, कार्यकर्ता चोर्ने प्रयास गर्छन् । साना दललाई उठ्नै दिँदैनन् । ठूला दलका नेताहरू साना दलमाथि उठ्ला भनेरै अनेक नियम या प्रावधान खडा गर्छन् । मतसीमा यसको ज्वलन्त उदाहरण हो । मतको आधारमा कुनै दल राष्ट्रिय र कुनै दल अराष्ट्रिय हुनसक्दैन । ठूलो दल भएर पनि देशविरोधी भएका छन् । जनविरोधी भएका छन् । सन्धि सम्झौता गर्ने दलहरू के देशविरोधी होइनन् ? देशको हितमा काम गर्ने अधिकांश दल ठूला दलहरू नै हुन् ।
गणतन्त्रकालका शासकहरूमा पनि राजतन्त्रको प्रवृत्ति देखिएको छ । गणतन्त्रवादी शासकहरूलाई नयाँ खानदानी वर्गमा पु¥याउने काम सिद्धान्तहीन स्वार्थी नेता, तस्कर, व्यापारी, कमिसनखोरहरूले गरिरहेका छन् । सरकार टिकाउने या सरकार लामो समयसम्म सञ्चालन गर्ने नाउँमा राजावादीहरूलाई समेत सरकारमा सामेल गराउने या मन्त्री बनाउने कम्युनिस्ट शासकहरू पनि छन् । अब हुन लागेको निर्वाचनमा पनि स्थानीय तहको निर्वाचनमा झैँ राजावादी दलसँग तालमेल गर्ने कुरा बेलाबखत सञ्चारमाध्यममा आइरहेको छ । निर्वाचनमा जसरी भए पनि जित्ने या सीटको सङ्ख्या बढाउन सिद्धान्त र विचारको मतलब नै राखेको हुँदैन । भ्रष्टाचारी, ठेकेदार, कमिसनखोर र ठूलठूला धनाढ्य व्यापारीहरूसँग मात्र होइन, विदेशी कम्पनीसँग मिलेर निर्वाचनमा अनियमितता र धाँधली गर्ने, पैसाको छेलोखेलो गर्ने काम प्रत्येक निर्वाचनको बेला भइरहेको यथार्थ हो । शासक दलहरूको यस्तै गलत प्रवृत्तिले जनतामा गणतन्त्रप्रति अनास्था बढेको हो । पँुजीवादी गणतन्त्रमा जनताको अपनत्व हुँदैन । यो पुँजीपति वर्गको गणतन्त्र हो । समाजवादी गणतन्त्र कामदार वर्गको साँचो गणतन्त्र हो । सिद्धान्ततः राजतन्त्रभन्दा गणतन्त्र प्रगतिशील हुन्छ । तर, यो गणतन्त्रले बहुमत जनताको सेवा नगर्ने हँुदा समाजवादी गणतन्त्र स्थापना गर्न देशका सच्चा कम्युनिस्टहरू अघि बढ्नुपर्छ । बढ्ने वातावरण तयार गर्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *