भर्खरै :

भूगोल र इतिहासको अध्ययन आजको आवश्यकता

भक्तपुर, भदौ १७ । कोर्स बुकमात्र नभई भूगोल र इतिहासको अध्ययन र अध्यापन आजको आवश्यकता हो । विद्यार्थीहरूलाई नयाँ–नयाँ ज्ञान र सीपबारे पढाइएको खण्डमा नयाँ पुस्ताको विकास गर्न टेवा मिल्नेछ ।
उक्त विचार सार्वजनिक माध्यमिक विद्यालय संयुक्त परीक्षा समितिको वार्षिक क्यालेन्डरअनुसार समाज सुधार माध्यमिक विद्यालयको आयोजनामा सम्पन्न मा.वि. स्तरीय हाजिरीजवाफ तथा एसईई २०७८ मा उत्तीर्ण सार्वजनिक मा.वि. संयुक्त परीक्षा समितिअन्तर्गतका सदस्य विद्यालयहरूबाट जीपीए ३.१६ देखि जीपीए ४ सम्म ल्याउने उत्कृष्ट विद्यार्थीहरूको सम्मान कार्यक्रममा नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँले शुक्रबार व्यक्त गर्नुभएको हो ।
अतिथि बिजुक्छेँले घोकन्ते विद्याभन्दा यस्ता अतिरिक्त क्रियाकलापले विद्यार्थीहरूमा थप अध्ययन गर्ने बानीको विकास हुने विचार व्यक्त गर्दै विद्यार्थीहरू बढी ज्ञानमा पोख्त हुनसक्ने भएकाले शिक्षकहरू समयसापेक्षअनुसार आफूलाई ढाल्नसक्ने खालको हुनुपर्छ भन्नुभयो ।
संयुक्त परीक्षा समितिका अध्यक्ष एवं आदर्श आजाद मा.वि.÷कलेजका प्राचार्य श्रीकृष्ण किसीले शैक्षिक गतिविधिहरूले भक्तपुरको शैक्षिक गुणस्तर कायम गर्नेमा सकारात्मक भूमिका खेलेको र भक्तपुरलाई शैक्षिक गन्तव्यस्थलको रूपमा विकास गर्न टेवा पुग्ने बताउनुभयो ।
अध्ययनशील, लगनशील र जुझारु विद्यार्थीहरू तयार गर्नको लागि शैक्षिक वातावरणको अपरिहार्य भएकोमा जोड दिँदै उहाँले विद्यार्थी तथा शैक्षिक जगतले देशलाई आघात पु¥याउने कार्य गर्न नहुने धारणा व्यक्त गर्नुभयो ।
बासु मा.वि÷कलेजका प्राचार्य अम्बिका न्याईच्याईले एसईई सकेर विद्यार्थीहरूले विभिन्न विषय तथा सङ्कायहरूमा अध्ययन गरे तापनि प्रतिस्पर्धाको भावना सकारात्मकरूपमा राखी अध्ययन गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।
शिक्षक रामसुन्दर किबानायोले स्वागत गर्नुभएको उक्त कार्यक्रममा शिक्षक कृष्णप्रसाद सुवालले पनि बोल्नुभएको थियो ।
संयुक्त परीक्षा समितिअन्तर्गतका १५ वटा विद्यालयहरूको सहभागिता रहेको माविस्तरीय हाजिरीजवाफ प्रतियोगितामा वागीश्वरी माविका बिमलकुमार थापा र सरोजा किसी प्रथम, पञ्चकन्या माविका समीर दुलाल र पूजा मानन्धर द्वितीय, बासु माविका सुप्रिम सुल्लु र दीना सुवाल तृतीय र ज्योति माविका कविराज थापा र सान्त्वनामा श्रीया श्रेष्ठ भएका थिए ।
प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान प्राप्त गर्ने विद्यालय र उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई अतिथि बिजुक्छेँले सम्मानपत्र तथा पुरस्कार वितरण गर्नुभएको थियो ।
कार्यक्रम विद्यालय समाज सुधार माविका प्रधानाध्यापक जगनाथ प्रजापतिको सभापतित्वमा भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *