भर्खरै :

थाइवानलाई १.१ अर्ब डलरको हतियार बिक्री गर्दै अमेरिका

थाइवानलाई १.१ अर्ब डलरको हतियार बिक्री गर्दै अमेरिका

वासिङ्टन, ३ सेप्टेम्बर (एएनआई) । संयुक्त राज्य अमेरिकाले शुक्रबार थाइवानलाई हारपुन र साइडविन्डर क्षेप्यास्त्रसहित लगभग १.१ अर्ब बराबरको सैन्य उपकरण बिक्री गर्ने घोषणा गरेको छ ।
डिफेन्स सेक्युरिटी कोअपरेसन एजेन्सीले वासिङ्गटनले थाइवानलाई सैन्य उपकरण बेच्न स्वीकृति दिएको पुष्टि गरेको छ । अमेरिकी विदेश मन्त्रालयले थाइवानको सुरक्षा क्षमताको आधुनिकीकरण गर्न र अमेरिकी सुरक्षा हित प्रवद्र्धन गर्न थाइवानलाई हारपुन ब्लक मिसाइल र अन्य सैन्य उपकरणको बिक्री स्वीकृत गरेको बताएको छ ।
मन्त्रालयका अनुसार प्रस्तावित हातहतियारले यस क्षेत्रमा आधारभूत सैन्य सन्तुलनलाई परिवर्तन नगर्ने पनि अमेरिकाले दाबी गरेको छ । अमेरिकी सभामुख न्यान्सी पेलोसीको थाइवानको विवादास्पद भ्रमणलाई लिएर वासिङ्गटन र पेइचिङबीच बढ्दो तनावका बीच सैन्य सामग्रीको प्रस्तावित बिक्री सार्वजनिक भएको छ ।
हार्पुनहरू बोइङले तटीय–जल क्षमताका साथ उत्पादन गरेको एन्टी–सिप होमिङ मिसाइलहरू हुन् । यसअघि संयुक्त राज्य अमेरिकामा ताइपेई आर्थिक र सांस्कृतिक प्रतिनिधि कार्यालय (टेक्रो) ले ६० वटा मिसाइल र सम्बन्धित उपकरणहरू किन्न अनुरोध गरेको थियो ।
साइडवाइन्डरहरू हावाबाट हावामा प्रहार गर्ने क्षेप्यास्त्रहरू हुन्, जुन रेथियनले प्रक्षेपणपछि लक्ष्यहरूमा लक गर्न सक्ने क्षमताको साथै विकसित गरेको दाबी गरिएको छ । टेक्रोले १०० वटा मिसाइल र अन्य उपकरण खरिद गर्न अनुरोध गरेको थियो ।
वासिङ्गटनमा चिनियाँ दूतावासले यस हप्ताको सुरुमा प्रस्तावित हतियार बिक्रीबारे प्रतिक्रिया दिँदै बाइडेन प्रशासनलाई हतियार बिक्री बन्द गर्न आह्वान गरेको थियो ।
हतियार बिक्रीले थाइवान स्ट्रेटमा तनाव निम्त्याउन सक्ने भन्दै चीनले सो आग्रह गरेको थियो ।
यस्तै मङ्गलबार ताइवानी सेनाले चिनियाँ सैन्य ड्रोनलाई ताइवान नियन्त्रित टापुमा ‘प्रतिबन्धित’ वायुक्षेत्रमा प्रवेश गरेपछि गोली हानेको दाबी गरेको थियो ।
अगस्टको मध्यदेखि थाइवानमा जारी राजनीतिक र सुरक्षा तनावका बीच यस वरपर यस्ता थुप्रै ड्रोनहरू उड्ने गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *