भर्खरै :

खस्कियो कक्षा १२ को नतिजा

खस्कियो कक्षा १२ को नतिजा

भक्तपुर, २० भदौ (रासस) । राष्ट्रिय परीक्षा बोर्डले भदौ १७ गते कक्षा १२ को सार्वजनिक गरेको परीक्षाफलको नतिजा सन्तोषजनक नदेखिएपछि समग्र विद्यालयस्तरको शैक्षिक अवस्थाका बारेमा छलफल सुरु भएको छ ।
कक्षा १२ को नतिजा आउँदा ५० प्रतिशतभन्दा बढी विद्यार्थी अनुत्तीर्ण भएपछि विद्यालय तहकै पाठ्यक्रम, कक्षा भार, शिक्षण सिकाइदेखि सरकारको लगानीमा समेत सरोकारवाला व्यक्तिको चासो बढेको हो । बोर्डका अनुसार कक्षा १२ को नतिजामा एक लाख अठासी हजार चार सय १० जना अर्थात कूल परीक्षार्थीको ५१ दशमलव ९० प्रतिशत नन ग्रेडिड अर्थात् अनुत्तीर्णमा परेका छन् ।
बोर्डको अध्यक्ष डा. महाश्रम शर्माका अनुसार परीक्षामा नियमिततर्फ तीन लाख ६३ हजार आठ, ग्रेड वृद्धितर्फ ३० हजार ४५ र आंशिकतर्फ तीन हजार एक सय ३२ गरी कूल तीन लाख ९६ हजार एक सय ८५ विद्यार्थीले परीक्षा दिएका थिए । लेटर ग्रेडिङ निर्देशिका, २०७८ अनुसार प्रयोगात्मक परीक्षामा न्यूनतम ४० अङ्क र सैद्धान्तिकतर्फ कुनै पनि विषयमा न्यूनतम ३५ अङ्क ल्याउन नसक्नेको प्रमाणपत्रमा एनजी (नन ग्रेडिड) लेखिने छ ।
बोर्डका अध्यक्ष डा. शर्मा भन्नुहुन्छ, “यस वर्ष एक लाख अठासी हजार चार सय १० विद्यार्थी नन ग्रेडेङमा परेका छन् । तीमध्ये दुई विषयमा निर्धारित प्रतिशतभन्दा कम ल्याउने एक लाख तीस हजार आठ सय ७८ विद्यार्थीले मात्रै ग्रेड वृद्धि परीक्षामा सहभागी हुन पाउँछन् । तर दुईभन्दा बढी विषयमा नन ग्रेडेड ल्याएका सन्ताउन्न हजार पाँच सय ३२ जना विद्यार्थीले अर्को वर्ष सबै विषयको परीक्षा दिनुपर्छ ।”
ग्रेडवृद्धि र आंशिक परीक्षार्थीको नतिजा अक्षराङ्कन पद्धतिअनुसार नतिजा प्रकाशन गरिएको छ । जसअनुसार आंशिकतर्फ तीन हजार एक सय ३२ जनाले परीक्षा दिएकामा एक हजार दुई सय ८८ जना ४१ दशमलव १२ प्रतिशतमात्रै उत्तीर्ण भएका छन् । विसं २०७८ मा सार्वजनिक भएको नतिजामा सात हजार ६३ विद्यार्थीले तीन दशमलव छ जीपीए कटाएका थिए ।
कोभिड–१९ को तस्रो लहरका कारण २०७७ सालको परीक्षा होम सेन्टरमा सञ्चालन भएको थियो भने २०७८ मा बोर्डले केन्द्र तोकेर विद्यार्थीको भौतिक उपस्थितिमै परीक्षा सञ्चालन गर्दा चार हजार एक सय ७९ विद्यार्थीले तीन दशमलव ६१ देखि चार जीपीए ल्याएका थिए ।
यसबारेमा बोर्डका अध्यक्ष डा. शर्मा समग्रमा नतिजा खस्किएको देखिए पनि नतिजाले विगतको ट्रेन्डलाई पछ्याएको छ भन्नुहुन्छ । अहिलेको नतिजाले सन्तोष मान्ने ठाउँ नभएकोले शैक्षिक गुणस्तर उकास्न सबै तहबाट मेहनत गर्नुपर्ने आवश्यकता खड्किएको उहाँ जानकारी दिनुहुन्छ । यस वर्ष विद्यार्थीको भौतिक उपस्थितिमै परीक्षा सञ्चालन गरिएकोले पनि आएको नतिजालाई अन्यथा लिनुपर्ने अवस्था नरहेको अध्यक्ष शर्मा बताउनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *