भर्खरै :

चेपाङको न्वाङी पर्वमा चेपाङहरू नै असन्तुष्ट

चेपाङको न्वाङी पर्वमा चेपाङहरू नै असन्तुष्ट

चेपाङ जातिको महान् पर्व छोनाम (न्वाङी) प्रत्येक वर्ष भदौ २२ को दिन मनाइन्छ । यो वर्ष न्वाङी पर्व भरतपुरको चेतना भिलेज होटलमा मनाइयो । न्वाङी पर्वलाई पहिलोपटक चेपाङ जातिको राष्ट्रिय पर्वको रूपमा मान्यता दिई चितवन, मकवानपुर र धादिङ जिल्लाको सार्वजनिक अड्डा, अदालतमा बिदाको व्यवस्था गरिएको थियो । चेपाङ जातिको बाहुल्यता रहेको मकवानपुर, चितवन र धादिङ तीन जिल्लालाई चेपाङ जाति विशेष क्षेत्र घोषणा गरिएको थियो । बाग्मती प्रदेश सरकारले चेपाङ समुदायको विकासको निम्ति आवास निर्माण कार्यक्रम ल्याएको थियो । प्रत्येक चेपाङ छात्राहरूलाई छात्रवृत्ति कार्यक्रम र चेपाङ जातिको उत्थानको निम्ति गैरसरकारी निकायहरूसँग हातेमालो गरेर विभिन्न कार्यक्रमहरू ल्याइएको थियो । चेपाङहरू एक भएर आफ्नो जातिको उत्थान र विकासको निम्ति लाग्नुपर्ने चेपाङका अगुवा नेताहरू बताउँछन् ।
केही चेपाङ युवाहरूलाई भने न्वाङी कार्यक्रमप्रति चित्त बुझिरहेको थिएन । पार्टी प्यालेस, होटलमा कार्यक्रम हुँदा कसैको बिहे, व्रतबन्धको रमझम भइरहेको जस्तो लागेको उनीहरूको गुनासो थियो । चेपाङ जातिको महान् पर्वमा परम्परागत संस्कार झल्किने चालचलन प्रदर्शन हुनुपर्ने र आफ्नै गाउँ–ठाउँमा मनाउँदा खर्च कम हुनेदेखि कार्यक्रम प्रभावकारी हुने कुरा चितवन राप्ती नगरपालिका–१० का सुदिप चेपाङको मत थियो ।
धादिङका रामशरण चेपाङ भन्नुहुन्छ, “चेपाङ जातिको अस्तित्वसँग जोडिएर आउने जङ्गली कन्दमुल गिठा, भ्याकुर, सिस्नो आदि प्रदर्शन भए पर्वको महत्व रहनेछ । पिडालु गाबा, अमिलोजस्ता नयाँ वर्षमा उत्पादित खानेकुराहरू पितृलाई चढाएपछि मात्र खाने चालचलन झल्किने कुराहरू न्वाङी पर्वमा हुनुपथ्र्यो ।
खर्च धेरै गर्ने तर कार्यक्रम औपचारिकता पूरा गर्नमात्र लागेको सचेत चेपाङ युवाहरूको गुनासो थियो । दुईदुई पटक स्थगित भएको चेपाङ सङ्घको राष्ट्रिय महाधिवेशन २३ र २४ गते सोही स्थलमा हुँदै छ । न्वाङी पर्वसँग जोडिएर महाधिवेशन भएकोमा केही चेपाङहरू दुखित थिए । न्वाङी पर्व कार्यक्रममा गोर्खा, धादिङ, चितवन र मकवानपुर जिल्लाका चेपाङहरू उपस्थित भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *