नेपाल–भारत सम्बन्धमा देखापरेका गलत समझदारी र सही समाधानका उपायहरू – ५
- कार्तिक १६, २०८३
भक्तपुर, ३१ भदौ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा प्रगति सामुदायिक सिकाइ केन्द्र भक्तपुरको आयोजनामा विद्यालयका शिक्षक शिक्षिकाहरूको लागि भएको एकदिने बाल साहित्य लेखन कार्यशालाको शुक्रबार समापन कार्यक्रम भयो ।
कार्यक्रममा प्रमुख प्रजापतिले साहित्य लेखन मनोरञ्जनको निम्ति हुन नहुने विचार राख्दै साहित्य जनमुखी हुनुपर्छ भन्नुभयो ।
बाल साहित्यमा नैतिकता, अनुशासन र देशभक्तिपूर्ण विषयहरू समेटिनुपर्ने धारणा राख्दै प्रमुख प्रजापतिले साहित्यले बालबालिकाको मस्तिष्कमा सकारात्मक सन्देश दिने हुँदा भौतिकवादी सोच र अन्यायको विरोधमा लड्न बालबालिकालाई सानैदेखि शिक्षित गर्नुपर्ने बताउनुभयो ।
भक्तपुर नपाले पठन संस्कृतिको विकास गर्न नपाबाट सञ्चालित जनज्योति पुस्तकालय र वडा–वडाका पुस्तकालयहरूलाई स्तरोन्नति गर्दै आर्थिक तथा भौतिक सहयोग प्रदान गर्दै आएको बताउँदै उहाँले भक्तपुर नपाबाट सञ्चालित ख्वप कलेजलाई बीएएलएलबी र वागीश्वरी कलेजलाई बीबीए पढाउन स्वीकृति प्राप्त भएको जानकारी दिनुभयो ।
असफलताले मानिसलाई नयाँ ज्ञान हासिल हुने र सफलताको बाटोमा लाने हुँदा कहिल्यै निराश हुन नहुने बताउँदै प्रमुख प्रजापतिले भक्तपुर नपाले छात्रवृत्ति, शैक्षिक ऋण प्रदान गरी भक्तपुरका बालबालिकाहरूलाई सुविधाहरू प्रदान गर्दै आएको छ भन्नुभयो ।
कार्यक्रमका सभापति एवम् प्रगति सामुदायिक सिकाइ केन्द्रका अध्यक्ष रवीन्द्रप्रसाद कुसीले सिकाइ केन्द्रले समय–समयमा विभिन्न तालिमहरू सञ्चालन गर्दै आइरहेको र छिट्टै साहित्यिक प्रतियोगिताको आयोजना गर्ने तयारीमा रहेको अवगत गराउनुभयो । उहाँले यस किसिमको तालिमले साहित्यप्रति रुचि राख्नेहरूलाई हौसला मिल्ने बताउनुभयो ।
उक्त कार्यशालाका सहभागी प्रशिक्षार्थीहरू शर्मिला कोजु, रामहरि ताम्राकार, सुलोचना लाखाले आ–आफ्नो अनुभव सुनाउँदै आफूले लेखेका कविता र बाल साहित्य वाचन गर्नुभएको थियो ।
कार्यक्रममा केन्द्रका सदस्य विकल कोजुले कार्यक्रमको महत्वमाथि प्रकाश पार्नुुभएको थियो ।
कार्यक्रममा नगर प्रमुख प्रजापतिले कार्यशालामा सहभागी १७ जना प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण गर्नुभएको थियो । कार्यक्रमका सभापति कुसीले प्रशिक्षकहरू हरिहर तिमिल्सिना र कार्तिकेय घिमिरेलाई मायाको चिनो प्रदान गर्नुभएको थियो ।
Leave a Reply