भर्खरै :

भारतको सहयोग कि ‘ब्लड मनी’ ?

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका बाढीपीडित जनताको राहतार्थ २५ करोड भारु सहयोगस्वरुप प्रदान गरेका छन् । नेपाली जनता सङ्कटमा परेको बखत छिमेकी देशका कार्यपालिका प्रमुखबाट प्राप्त सहयोग जति नै भए पनि अमूल्य हो । तर आज तराईका अधिकांश भूभाग डुबान क्षेत्रमा पर्नुका कारणको बिहङ्गम विश्लेषण गर्दा मोदीले सहयोगमा दिएको रकम राहतभन्दा पनि नेपाली जनताको लागि ‘ब्लड मनी’ भएको आभास भइरहेको छ ।
‘ब्लड मनी’ भनेको कसैको हत्या गरे वापत क्षतिपूर्ति स्वरुप हत्याराले दिने रकम हो । आज तराईमा भएको डुबानको समस्या भारतीय बिस्तारवादले नेपालको सीमावर्ती क्षेत्रमा बनाएका बाँध र तटबन्ध भएको कुरा घाम जत्तिकै छर्लङ्ग छ । स्वाभाविक गतिमा दक्षिणमा बग्नुपर्ने पानीको बहावलाई भारतले बनाएका बाँध र तटबन्धले रोक्दा नेपालको भूमि जलमग्न भयो । नेपाली जनताले कल्पनै नगरेको अर्को विपत्ति भोग्नुप¥यो । झण्डै एक सय पचास नेपाली नागरिक मारिए । लाखौं नेपाली जनताको गाँसबाँस उजाडियो । तराईका जनताको जीवन अस्तव्यस्त हुनुका साथै नेपालको अर्थतन्त्रमा गम्भीर धक्का पुगेको छ । त्यसको आधारभूत कारण भारतीय बिस्तारवाद हो । सीमावर्ती भारतीय बाँधका ढोकाहरू समयमै नखोलिंदा जोगाउन सकिने नेपाली बस्ती र जनजीवन समेत नष्ट भएका छन् । यसको निम्ति भारत सरकार दोषी हो । अनि मोदीले आज नेपालको दुःखमा शोक गर्दै दिएको राहत वास्तवमा सहयोग भन्दा नेपाली जनताको हत्या गरे वापतको ‘ब्लड मनी’ हो ।
भारतले बनाएका एकतर्फी बाँध, तटबन्ध र अग्ला बाटाका कारण तराईले भोग्नुपरेको दुःख मोदीका केही करोड पैसा, कुनै अन्तर्राष्ट्रिय गैरसरकारी संस्था वा सरकारका केही राहतले सकिने कदापि होइन । समस्याका मुख्य कारणमा नगई त्यसलाई प्राकृतिक प्रकोप वा दैवलाई दोष दिंदै जनताको अघि राहतको पोका बोकेर हिंड्नेहरूले जबसम्म भारतीय बाँध र तटबन्ध भत्काउनमा जोड दिंदैनन्, तबसम्म तिनका सहयोग गोहीको आँसु मात्र हुने हो ।
नेपाली जनतालाई आफैले बनाएका बाँध र तटबन्धका कारणले हत्या गर्ने भारतीय बिस्तारवादको राहत नेपाली जनतालाई फकाउने चाल हो । फेरि पनि आफू मानवतावादी र सहयोगी भएको भन्ने भ्रमको खेती गर्ने जाल हो । मोदीको ‘ब्लड मनी’लाई मानवीय भावनाको सहयोगको रूपमा लिनु फेरि पनि भारतीय बिस्तारवादका अन्यायपूर्ण र हेपाहा प्रवृत्तिलाई चुपचाप सहनु हो ।
नेपाली जनताका दुःखका कारण बाँध र तटबन्ध नभत्काई सहयोग गर्ने बहानाबाजी बकुलाको तपस्या मात्र हो । नेपाली जनता यो माकुराको जालोबारे सजग बन्नु जरुरी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *