भर्खरै :

नेक्रामसङ्घ भक्तपुरको जिल्ला सम्मेलन सम्पन्न

भक्तपुर, १ असोज । नेपाल क्रान्तिकारी महिला सङ्घको पाँचौँ भक्तपुर जिल्ला सम्मेलन शनिबार सम्पन्न भयो ।
सम्मेलनको बन्दसत्रमा नेपाल क्रान्तिकारी महिला सङ्घका केन्द्रीय अध्यक्ष अनुराधा थापामगरले नेपाल क्रान्तिकारी महिला सङ्घ शोषणमा आधारित पुँजीवादी राज्यसत्ता ध्वस्त गरी समानतामा आधारित समाजवादी व्यवस्था स्थापनाको लागि सङ्घर्षरत छ भन्नुभयो । अन्तर्राष्ट्रवादी क्रान्तिकारी महिला नेतृहरूको जीवन, योगदान र व्यक्तित्वबारे चर्चा गर्दै उहाँले उहाँहरूबाट सम्पूर्ण कामदारवर्गका महिलाहरूले प्रेरणा लिनुपर्नेमा जोड दिनुभयो ।
महिलाहरूले पार्टीका प्रकाशनहरूको अध्ययन र अन्तरक्रियालगायतका गतिविधिलाई महत्व दिएमा व्यक्तित्व विकासका साथै पार्टीको उद्देश्य प्राप्तिमा महत्वपूर्ण योगदान पु¥याउन सक्नेमा उहाँले जोड दिनुभयो ।
उहाँले भन्नुभयो, “देशको सार्वभौमिकता रक्षाको लागि व्यापक महिलालाई सङ्घर्षको मैदानमा उतार्न नेक्रामसङ्घको भूमिका आवश्यक छ ।” “महिलाहरूको राजनैतिक र सांस्कृतिक स्तर नउठेसम्म समाजको आमूल परिवर्तन सम्भव हुँदैन । वैचारिकरूपमा स्पष्ट क्रान्तिकारी महिलाहरूको सक्रियता र योगदानले मात्र क्रान्ति सम्भव हुने हुँदा महिलाहरू सङ्गठित
र राजनैतिक गतिविधिमा सक्रिय रहनुपर्ने हो”, उहाँले बताउनुभयो ।
उहाँले संसारका समाजवादी क्रान्तिको अध्ययन र छलफलसँगै जनताका आन्दोलनहरूमा महिलाहरूलाई सक्रिय रहन मार्गनिर्देश गर्नुभयो ।
नेपाल मजदुर किसान पार्टी भक्तपुर जिल्ला समितिको अध्यक्ष सुरेन्द्रराज गोसाईले देश र जनताको पक्षमा ठूला दल भन्न रुचाउने शासक दलहरूले नागरिकता विधेयकको प्रत्यक्ष या परोक्ष समर्थन गर्नु देश र जनताको विपक्षमा रहेको बताउनुभयो ।
भारतीय विस्तारवाद र एकाधिकार पुँजीको विरोध गर्न शासक दल असमर्थ रहेको उहाँले उल्लेख गर्नुभयो ।
शासक दलबाट प्रतिनिधित्व गर्ने महिला सांसदहरूलाई एनजीओ÷आइएनजीओहरूले किनेको उल्लेख गर्दै उहाँले ती महिला सांसदहरू हस्ताक्षर गरेपछि भत्ता पाउने भएकोले संसद्को बैठकमा अनुपस्थित हुने प्रवृत्ति बढेको बताउनुभयो ।
नेपाल क्रान्तिकारी महिला सङ्घले महिलाहरूलाई राजनैतिकरूपमा सचेत पार्न पार्टीले पत्रिका र पुस्तक प्रकाशन गरी महिलाहरूलाई प्रशिक्षित गर्ने र राजनैतिक संस्कार दिने काम गरिरहेको छ उहाँले भन्नुभयो ।
प्राध्यापक समाज नेपालका उपाध्यक्ष प्रकाश श्रेष्ठले अहिलेसम्म अस्तित्वमा रहेको मानव समाजको लिखित इतिहास सङ्घर्षको इतिहास हो भन्ने विषयमा प्रस्ट्याउनुभयो । उहाँले भन्नुभयो, “पुँजीवादी व्यवस्थामा बन्ने हरेक ऐन कानुनले पुँजीपति वर्गकै सेवा गर्छ ।”
सम्मेलनको बन्दसत्रमा प्राध्यापक समाज ख्वप कलेजका सुनिल सुवालले संरा अमेरिकी युद्ध अपराधहरूको विषयमा चर्चा गर्नुभयो ।
सम्मेलनको बन्द सत्रले सृजना सैँजूको अध्यक्षतामा १९ सदस्यीय नेपाल क्रान्तिकारी महिला सङ््घ भक्तपुर जिल्ला समिति गठन ग¥यो । सम्मेलनको बन्दसत्रमा नेपाल क्रान्तिकारी महिला सङ्घकी केन्द्रीय कोषाध्यक्ष शोभा प्रधानप्रति श्रद्धाञ्जली अर्पण गरियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *