यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
भृकुटी – (व) स्रोङ (व) त्सन (स) गम पोको वैवाहिक प्रसङ्ग : काभ्रेको कुर्पासी सम्बन्ध
राजा उदयदेवले ल्हासाबाट आएका विवाह प्रतिनिधिमण्डलसमक्ष भृकुटीलाई अन्माइ पठाउनुभएको कुर्पासीको विशेष महत्व रहेको पाइएको छ । द्वापरयुगदेखि नै मानव बस्ती रहेको पनौतीमा लिच्छविहरूले शासन गरेको तथ्यलाई तत्कालीन शिवदेव प्रथम र अंशुवर्माको भक्तिभावमा आधारित शिलालेखबाट प्रस्टिएको (श्रेष्ठ, प्रकाशमान र काफ्ले, प्रेमप्रसाद ।२०७७ : पृ. १९६ । ‘मणिचुडदेखि रत्नचुडसम्म’ । भक्तपुर : दामोदर दंगाल र तारा श्रेष्ठ ।) ।
आशय कतिपय स्रोतहरूबाट बुझ्न सकिन्छ । कुर्पासी (खोपासी) का बुद्धिजीवी विश्व उलकले यसरी विवरणहरू प्रस्तुत गर्नुभएको छ :
‘… … …लिच्छवि राजा शिवदेव प्रथमको पालामा वैष्णवधर्म अनुयायी एक शक्तिशाली… … …मानव वर्माका छोरा अंशुवर्मा कुर्पासीका प्रशासकमा आए । उनी तेजस्वी, बुद्धिमान र शक्तिमान भएको हुँदा लिच्छवी राजा शिवदेव प्रथमले अंशुवर्मालाई आफ्नी छोरी दिई ज्वाइँ बनाएर कुर्पासीको शासनभार जिम्मा लगाए (उलक, विश्व ।२०७३ पृ. ४६। ‘काभ्रेली गुञ्जन’ । काभ्रे : काभ्रे सेवा समाज) ।
… … … भृकुटीको विवाहका लागि ल्हासाबाट सम्राट स्रोङत्सन गम्पो आएका थिएनन् । भृकुटीलाई लिन सम्राट स्रोङत्सन गम्पोका भारदारमात्र आएका र उनको बिदाइ कुर्पासीबाट भएको थियो । कुर्पासीका कलाकारहरूले सुन, चाँदी, तामा आदिका धातुहरू तथा काठ, बाँस, निगालो र कपडामा विभिन्न हिन्दू र बौद्धधर्म झल्कने कलाकृतिसहितका प्रशस्त सामग्रीहरूको साथमा बुद्धका जीवनचक्रसहितका झल्लरी छातासहित सात वटा हात्तीमा दाइजो राखेर बिदाइ गरेका थिए । भृकुटीको विवाहपश्चात् राजकुमार उदयदेव आफ्नी श्रीमती र छोरा नरेन्द्रदेवसहित कुर्पासीबाट काठमाडौँ आए । राजा उदयदेव केही दिनमै आफ्नै भाइ ध्रुवदेवले गुप्तहरूको सहयोग लिई दाइ उदयदेव र उनको परिवारलाई धपाए । उदयदेव र उनकी श्रीमती कुर्पासीमा गएर बसे । छोरा नरेन्द्रदेव आफ्नी बहिनी भृकुटी र ज्वाइँ सम्राट स्रोङत्सन गम्पोको शरणमा पुगे । उहाँले आफ्ना जेठान नरेन्द्रदेवलाई प्रशस्त सम्पत्ति र दलबलसहित फिर्ता पठाए । नरेन्द्रदेव फर्केर नालामा बसी शक्ति एकीकृत गरे र सजिलै आफ्ना काका ध्रुवदेवलाई हटाई आफू राजगद्दीमा बसे । यिनको पालामा देश धेरै धनी, शक्तिशाली, तन्त्रमय बनेको थियो । यिनको पालामा विकास पनि भएको थियो । त्यसपछि ल्हासा र भारतबीचको व्यापार कुर्पासीबाट नालामा स¥यो (ऐजनः ४६–४७) ।
यसरी यो तथ्यले उदयदेवको सत्ताच्युत भएपछि उहाँ तिब्बतमा होइन, कुर्पासी गएर बस्नुभएको शङ्का गर्छ । उदयदेव कुर्पासीमा राजा अंशुवर्माको दरबारमा बस्नुभएको त्यहाँका स्थानीय स्रोतहरूको मत छ । तिब्बती मन्त्री गार तोङत्सेन र नेपालका राजाबीच भएको वार्तालापका चरहरू यस्ता छन् : तिब्बती श.. ‘ह्वेशार’ ले प्रकाश, उज्यालो, उदय, चम्किलो अर्थ बुझाउने भएकाले उदयदेवलाई बुझाएको हुनसक्ने भन्ने अनुमान छ ।
भृकुटीका दाजु नरेन्द्रदेवको सन्दर्भ : कुर्पासी र युपग्रामद्रबीचको सम्बन्ध
भृकुटीका दाजु नरेन्द्रदेवको सम्बन्ध प्राचीन युपग्रामद्र क्षेत्र हालको ललितपुर, पाटन क्षेत्र र आसपासका क्षेत्रहरूसँग पनि जोडिएको पाइन्छ । यस आधारमा पनि वर्तमान काभ्रे खोपासी र ललितपुर पाटन सहर आसपासका क्षेत्रहरूबीचको ऐतिहासिक सम्बन्ध सुधारमा नयाँ आयाम थपिन सक्ने देखिन्छ । अभिलेख नं.१२३ अनुसार ललितपुर दरबार लुँझ्यालस्थित चोकको अभिलेख अनुसार युपग्रामद्र स्थानको विशेष चर्चा गरेको पाइन्छ ।
‘…भट्टारक महाराजाधिराज श्री नरेन्द्रदेवको अभ्युदयमा युपग्रामद्रङ्गका बासिन्दाहरूको महत्वपूर्ण भूमिका रहेको तथ्य अनुमान हुन्छ । चिनियाँ वृत्तान्तअनुसार नेपालबाट भागेर गई तिब्बतमा प्रवासी जीवन व्यतीत गरिरहेका नरेन्द्रदेवले तिब्बतका शासकहरूको सहायता लिई नेपालको आफ्नो पैतृक शासनलाई पुनः हस्तगत गर्न समर्थ भएका थिए (जोशी, हरिराम २०७७ : पृ. ४२८–४३४ । ‘नेपालका प्राचीन अभिलेख’ । काठमाडौँ : नेपाल प्रज्ञा–प्रतिष्ठान) ।
तिब्बतबाट आई नेपालमा आक्रमण गरेकै समय तिनलाई युपग्रामद्रङ्गका बासिन्दाहरूले सहयोग गरेको हुनु धेरै सम्भव छ जसको कारण पनि आफू सिंहासनरूढ भएको लगत्तै पछि तिनले युपग्रामद्रङ्गका बासिन्दाहरूलाई तिनीहरूका उपकार कार्यको प्रत्युपकार स्वरूप विभिन्न प्रकारका निगाहहरू गर्नेजस्ता कार्यहरू गरेका थिए । यसरी भट्टारक महाराजाधिराज श्री नरेन्द्रदेवको नेपाल आक्रमण हुँदा युपग्रामद्रङ्गका बासिन्दाहरूले तिनलाई सहयोग गरेको तथ्यको अनुमानले उत्तर प्राचीनकालमा युपग्रामद्रङ्ग–तिब्बतमा आवतजावत गर्ने मूल मार्गमा अवस्थित थियो भन्ने तथ्यको पनि पत्तो हुन्छ (ऐजन) ।
अभिलेख नं. १२२ मा यस्तो उल्लेख गरेको पाइन्छ :
‘भट्टारक महाराजाधिराज श्री नरेन्द्रदेवको समयदेखि उत्तर प्राचीनकालीन लिच्छविहरूले आफ्नो परम्परागत मानगृह राजप्रसादलाई छोडेर कैलासकुट भवनलाई आफ्नो आवासगृह बनाउन लागेको देखिन्छ । अर्को अभिलेखमा भट्टारक महाराजाधिराज श्री नरेन्द्रदेवको प्रशस्तिमा ‘हिमवत्तु शिखर’ भनेर उल्लेख गरिएबाट त्यस समय नेपालको उत्तरी सीमा ‘हिमालय’ रहेको तथ्य प्रमाणित भएको छ’ (जोशी २०७७ः पृ. ४२५–४२७) । उत्तर प्राचीनकालीन नेपालको अनुमानित राज्य सीमा उत्तर हिमालयदेखि दक्षिण भित्री मधेस तथा पूर्व ३ नं. देखि पश्चिम ३ नं. सम्म फैलिएको थियो (ऐजन) ।
‘नेपाल अधिराज्यमा राज्यशक्तिको शक्तिकेन्द्र युपग्राममा रहेको ‘मानगृह’ बाट ‘कैलासकूटभवन’ मा सरेपछि महासामन्त अंशुवर्माले आफ्ना एक जना प्रतिनिधिलाई राजप्रतिनिधिका रूपमा ‘मानगृह’ राजभवनमा पनि राख्ने गरेको झलक पाइन्छ’ (आचार्य २०६३ : पृ. १२७) ।
यसै अनुसार यिनको अन्तिम समयमा ‘ध्रुवदेव’ नामक एक जना लिच्छवि कुमार राजप्रतिनिधिको रूपमा सम्भवतः ‘मानगृह’ राजभवनमा राखिएका थिए । यसै स्थितिमा ‘महाराजाधिराज’ का रूपमा स्थापित भएका महासामन्त अंशुवर्माको आकस्मिकरूपमा देहान्त हुँदा यिनका उत्तराधिकारी भएर रहेका युवराज उदयदेवले ‘कैलासकूट भवन’ मा रहेको राजसिंहासनमा बसी लिच्छवि राज्यको राजमुकुट धारण गरेको पाइन्छ (अनुमानित इ.सं. ६२२) सम्भवतः भाइ अनुमान गरिएको ध्रुवदेवलाई नै लिच्छवि कुमार राजप्रतिनिधिको रूपमा मानगृह राजभवनमा राखिदिनुभएको पाइन्छ (ऐजनः पृ. १२७) ।
एक अर्को ऐतिहासिक विवरणले यसो पनि भन्छ :
‘उदयदेव सन ६३१ मा नेपालका गद्दीसीन राजा हुनुभयो । … … … विष्णु गुप्तले उहाँ विरुद्ध षड्यन्त्र गर्नुभयो’ (वाच ? भीः १० जून २०१९) ।
त्यसपछि मानगृहको राजसिँहासनमा लिच्छवि राजाका रूपमा सन् ६३२ मा भीमार्जुनदेव गद्दीसीन हुनुभएको देखिन्छ । राजा उदयदेवकी छोरी भृकुटीको विवाहको प्रस्ताव लिएर तिब्बतबाट राजा (व) स्रोङ (व) त्सनका मन्त्रीहरू सन् ६३२ को अटम अर्थात् वि.सं. ६८९ आश्विनको अन्तिम हप्ताताका नेपाल आइपुग्नुभएको अनुमान लगाउन सकिन्छ । त्यो समयमा राजा उदयदेव र राजकुमारी छोरी भृकुटी खोपासीस्थित राजा अंशुवर्माको दरबारमा बसेको कुर्पासीबाट उपलब्ध स्रोतको दाबी छ । राजा उदयदेवले पारिवारिक भाइ भारदारहरूको सल्लाह र इच्छाविपरीत आफ्नी छोरी भृकुटीलाई तिब्बती राजासँग विवाह गराइदिन लागेको विषयमा निहुँ खोजी नेपाल दरबारमा पुनः खटपट सुरू भयो ।
उता, ‘आभिरवंशी राजा जिष्णुगुप्तका छोरा विष्णुगुप्तको सन् ६३३ को काठमाडौँ मालिगाउँमा रहेको पहिलो शिलालेखमा तत्कालीन वैधानिक लिच्छवी राजा भीमार्जुनदेवको नाममात्र उल्लेख भई स्वयम् विष्णुगुप्तद्वारा नै देशका वैधानिक राजाको रूपमा आज्ञापत्र प्रसारित गराएको पाइन्छ’ (आचार्य २०६३ : पृ. १३१) ।
‘… … …यसरी उदयदेव तिब्बतमा शरण लिन जानुको पछाडि आत्मसुरक्षाको हतास निर्णयमात्र नभएर त्यसभित्र तिब्बतसँगको नाता सम्बन्ध प्रमुख कारण रहेको देखिन्छ । साथै तिब्बती सहायताले आफ्नो गुमेको राज्याधिकार फिर्ता गर्ने लक्ष्य रहेको कुरा यस घटनाले पुष्टि गर्दछ (कायस्थ २०७७ : पृ. ८७) ।
अङ्ग्रेजी स्रोतहरूले भृकुटी नरेन्द्रदेवको ‘सिस्टर’ हो भनेर लेखेको पाइन्छ । केही स्रोतहरूमा भृकुटीलाई नरेन्द्रदेवकी दिदी, नरेन्द्रदेव भृकुटीका भाइ हुन् भनेर पनि लेखेको पाइन्छ । यद्यपि, ‘सिस्टर’ शब्दले ‘दिदी’ र ‘बहिनी’ दुवै अर्थ बुझाउने भएकाले भृकुटी नरेन्द्रदेवकी दिदी (न) नभई बहिनी हुन् भन्ने बुझ्न सकिने प्रायः अधिकांश ऐतिहासिक स्रोतहरूबाट ज्ञात हुन आएको छ ।
स्रोतः आजको तिब्ब्त, वर्ष १५, अङ्क २, २०२२
Leave a Reply