भर्खरै :

असल नेताहरूको सरकार आवश्यक

असल नेताहरूको सरकार आवश्यक

असल नेताहरूको सरकार देश र जनताप्रति जिम्मेवार हुन्छ । साँच्चै जनताको सेवा गर्ने सरकारले बहुमत जनताको प्रतिनिधित्व गर्छ । अल्पमतको हित हेर्ने सरकार पुँजीपति वर्गकै हुन्छ । शेरबहादुर देउवा नेतृत्वमा बनेको पाँचदलीय गठबन्धनको सरकारले बहुमत जनताको हित या सेवा हुने कुनै काम गरेको छैन । देशको स्वाधीनता र सार्वभौमिकताको निम्ति लड्नुपर्ने गठबन्धनको सरकारले देशलाई दूरगामी असर पार्ने काम ग¥यो । देशको अस्तित्वमा आँच पु¥याउने काम के देशविरोधी कदम होइन ?
देश बचाउनको निम्ति लड्ने दल र दलका जनता विदेशी दलाल सरकारको नजरमा विरोधी हुन्छन् । नेपाली भूमि अतिक्रमण गर्दा, अन्तर्राष्ट्रिय मूल्य र मान्यताविपरीत बाँध तथा तटबन्ध बनाउन खोज्दा रोक्ने, विरोध गर्ने नेपालीलाई भारतीय हस्तक्षेप भए पनि, नेपाली मरे पनि नेपाल सरकार चुइँक्क बोल्दैन । नेपाली भूमि जोगाउने अभियानमा लागेका देशभक्त जनतालाई सरकार दबाउँछ, पक्राउ गर्छ । नक्कली कागजात गराएर, ऋण लिएको भन्दा धेरै गुणा बढाएर कागज बनाई वर्षौँदेखि ऋणमा डुबाएर साँवाभन्दा धेरै गुणा ब्याज लिएर पीडित बनेका पीडितहरूको आन्दोलनलाई सरकार डबाउँछ । पीडितहरूको शिरमा लाठी बर्साउँछ । यसले वर्तमान गठबन्धन सरकार बहुमत जनताको होइन र उनीहरूको पक्षमा छैन भन्ने पुष्टि हुन्छ ।
शासक दलका नेताहरू इमानदार, असल, दूरदर्शी, देश र जनताप्रति जिम्मेवार भएमा सरकारले धेरै उदाहरणीय काम गर्नसक्नेछ । नेताहरूमात्र होइन दलका कार्यकर्ता, जनप्रतिनिधि, कर्मचारी, सेना, प्रहरी, चिकित्सक, बुद्धिजीवी तथा अन्य पेशागत सबै सङ्गठनका व्यक्तिहरू पनि असल, इमानदार र देशभक्त हुनुपर्छ । शासक दलका नेता, मन्त्री, सांसद, कार्यकर्ता र जनप्रतिनिधि रकर्मचारीहरू असल र इमानदार नभएकै कारण देशमा भ्रष्टाचार र महँगी बढेको हो, अनियमितता बढेको हो, पदको दुरुपयोग गरी जसरी भए पनि कमाउने धन्दा बढेको हो ।
केही समयदेखि अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा गिरावट आए पनि सरकारले त्यसअनुसार मूल्य समायोजन गरेको छैन । सरकारले आन्तरिक उत्पादन बढाउन सकेको छैन । आन्तरिक उत्पादन भए पनि बिचौलियाको कारण वस्तुको मूल्य बढाइएको छ । महँगी नियन्त्रण गर्न सकेको छैन । जनतालाई सुशासनको अनुभूति दिनसकेको छैन । सरकार कमिसनखोर, ठेकेदार र अपराधीहरूको घेरामा छ । दलको लागि चन्दा पाउन कुनै न कुनै आपराधिक क्रियाकलापमा संलग्न व्यक्तिहरूलाई उम्मेदवारको निम्ति शासक दलहरूले सिफारिस गरेका समाचार बाहिर आएका छन् । जुन प्रजातन्त्र र लोकतन्त्रको नाममा विडम्वना हो । बजारमा मागअनुसारको पूर्ति हुँदैन । आए पनि अधिकांश विदेशबाट प्राप्त हुन्छ । देशको ठूलो आयस्रोत विदेशिएपछि नेपाल कसरी समृद्ध हुन्छ ? नेपाली कसरी सुखी हुन्छन् ? सरकारमा गएकाहरूले वास्तवमै सोचेका लाग्दैनन् । देशमा साँचो प्रगति ल्याउनको लागि असल नेताहरूको सरकार आवश्यक छ ।

Leave a Reply

Your email address will not be published.