भर्खरै :

देश बचाउन देशभक्त जनताको एकताको खाँचो

देश बचाउन देशभक्त जनताको एकताको खाँचो

काठमाडौँ नेपालको राजधानी हो । यो देशको राजनीतिक तथा प्रशासनिक केन्द्र हो । यहीँबाट मेचीदेखि महाकालीसम्मका प्रशासनिक एकाइहरूलाई आवश्यक नीति, नियम र निर्देशनमार्फत देशको रक्षा गर्न, विकास गर्न, जनतालाई सेवा सुविधा प्रदान गर्न प्रशासनिक गतिविधिहरू सञ्चालन गर्न निर्देशन हुन्छ । राजधानी देशको प्रशासनिक केन्द्र भएजस्तै अपराधी र देशघातीहरूको केन्द्र भइरहेको पनि जनताले गुनासो गरिरहेका छन् । राजनीतिक, प्रशासनिक, आर्थिक, सामाजिक आदि केन्द्रको रूपमा रहेको काठमाडौँ अपराधीहरूको थलो नहोस् । देशमा वैदेशिक हस्तक्षेप बढ्दो छ । देश सञ्चालनको साँचो विदेशीको हातमा पुगेको छ । देशको निर्णय विदेशीले गर्न थालेको छ । यो देशको लागि दुर्भाग्य हो । देशलाई बचाउने हो भने नेपाली जनता सचेत र सङ्गठित भई एकजुट हुनुपर्छ र त्यसको विरोधमा लाग्नु अपरिहार्य छ ।
विदेशबाट तालिम लिएर आएका शिक्षित, दीक्षित, डिग्री बोकेर आएका पढे लेखेका कथित बुद्धिजीवी र नेता भनिएका व्यक्तिहरूले देशको बागडोर हातमा लिँदा देश आजको हालतमा पुगेको हो । विदेशी शिक्षा, दीक्षा र तालिमसँगै विदेशीको बुद्धि, सोच, विचार र दास मानसिकता बोकेर आएका नेताहरूको कारण लगानी बोर्ड, नवउदारवादी नीति, एमसीसी, एसपीपी, नागरिकता विधेयक आदि काम भएका छन् । देशको भाग्य निर्माण गर्ने देशका ठूला भनाउँदा दलहरू, शासक दलहरू, विद्वान, बुद्धिजीवीहरूले यसको विरोधमा औँला ठड्याउनुपर्ने हो । तर, तिनीहरू मुखसमेत खोल्दैनन् । किनभने, उनीहरूको मुखमा डलरको बुझो लागेको छ । कुनै देशी विदेशीले देशको अस्मिता लुट्ने प्रयास गरेमा, हस्तक्षेप गर्न खोजेमा या अहित गर्न कुनै गतिविधि गर्ने खोजेमा त्यसको विरोधमा खबरदारी र चेतावनीस्वरूप औँला ठड्याउनुपर्ने हो । तर, विदेशी प्रभाव र दबाबले उनीहरूको हात बाँधिएको छ । उनीहरू देशघाती हुन् । हिजो फाटेको चप्पल, च्यातेको लुगा लगाउने हैसियत नभएकाहरू अहिले करोडौँ पर्ने गाडी चढेर हिँड्छन् । उनीहरूले राजनीतिलाई सेवा होइन मेवा बनाएका छन् ।
देश बनाउने र रक्षा गर्ने भनेको देशभक्त जनताले हो । देशभक्त जनता गरिब, अशिक्षित बहुसङ्ख्यक मजदुर र किसान नै छन् । खेती किसानी गर्ने, बाटोघाटो, धारा, कुवा, विद्यालय, अस्पताल, मठमन्दिर बनाउनमा निःस्वार्थरूपमा सेवा गर्ने, योगदान दिने, देशको रक्षा गर्ने पनि उनीहरू नै हुन् । भीमसेन थापा, भक्ति थापा, बलभद्र कुँवर, अमरसिंह थापाजस्ता वीर पुरुषार्थहरूको रगत पसिनाले कोरिएको नेपालको सिमाना पशुपति नगर, सप्तरीको तिलाठी, सुस्ता, बाँके, बर्दिया, कैलालीलगायतका क्षेत्रमा भारतले नेपालको भूमि मिच्न खोज्दा, अतिक्रमण गर्दा त्यहाँका देशभक्त गरिब, किसान, मजदुर, योद्धाहरूले आफ्नो ज्यान दाउमा राखेर प्रतिरोध गरेका थिए । तर, त्यस क्षेत्रबाट चुनाव जितेर देशको रक्षा गर्छु भनी कसम खाएर आएका सांसदहरूले त्यसको विरोधमा एक शब्द बोलेनन् । नेपाली भूमिको रक्षा गर्न लडेका देशभक्त लडाकुहरूलाई साथ र सहयोग गर्नु त कता हो कता सहानुभूतिसम्म पनि राखेनन् । दास मानसिकता भएका उनीहरूलाई दक्षिणको मालिक रिसाउला भन्ने डर छ । चुनावको बेलामा आकाशबाट तारा झारिदिने वचन दिएका नेताहरू फेरि भोट माग्न गाउँ–ठाउँमा आउँदै छन् । जनताको सुख दुःखमा साथ दिने कुरा छोडेर उनीहरू काठमाडौँमा घर बनाएर अड्डा जमाएर बसिरहेका हुन्छन् ।
देशको गोप्य सूचना विदेशीलाई दिने वा बेच्ने, सरकार र दलहरूको गोप्य निर्णयको कलमको मसी सुक्न पाएको हुँदैन तुरुन्त विदेशीलाई पु¥याउने चन्द्रशेखर उपाध्याय, गजराज मिश्रजस्ता व्यक्तिहरूबारे समय–समयमा चर्चामा आएकै हो । त्यस्ता देशद्रोही देशी र विदेशीको तलबलगायत अन्य विदेशी सुविधाहरू खाने हजारौँ व्यक्तिहरू देशका विभिन्न निकायहरूमा रहेको समाचार पत्रपत्रिकामा आएकै हो । उनीहरूमध्ये कसैले भारतलाई, कसैले अमेरिकालाई, कसैले युरोपियन युनियनलाई सूचनाहरू पु¥याइरहेको आरोप लाग्दै आएको हो । देशभक्त दल र जनताले उनीहरूलाई जनताको अगाडि उदाङ्ग्याउनुपर्छ । नेपाली जनताले उनीहरूले आर्जन गरेको सम्पत्ति जफत गरी राष्ट्रियकरण गर्नुपर्छ ।
सार्वभौम र स्वाधीन देशको प्रम बन्न, मन्त्री बन्न, सुरक्षा निकाय प्रमुख बन्न, भारतलगायतका देशमा आदेश लिन, आशीर्वाद थप्न, सल्लाह माग्न विभिन्न बहानामा विदेशीको पाउन मोल्न जाने अपराधीहरूको केन्द्र काठमाडौँ नबनोस्, जनताको यही चाहना छ । पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले भारतीय राजदूतसँगको एक भेटमा भारतीय राजदूतले ‘क्या करे भोजराजजी, नेपाल के नेतालोग मुझे मन्त्री बनादिजिए कहकर आरहा हैँ, हैरान होगया हुँ’ भनेर दुखेसो पोखेको भनाइ पस्केर उदाङ्ग्याउने काम गरेका थिए । कोही देशघातीहरू अमेरिकाको रक्षा विभागले एमसीसी इन्डोप्यासिफिक रणनीतिअन्तर्गतको एकाइ हो, अङ्ग हो भन्दाभन्दै यो इन्डो–प्यासिफिक सुरक्षा रणनीतिअन्तर्गत पर्दैन भन्दै अमेरिकाभन्दा अमेरिकावादी भएर घाँटी सुकाइसुकाइ चिच्याएको नेपाली जनताले सुनेकै हुन् । कोही एमसीसीको कुन बुँदामा अमेरिकी सेना नेपालमा आउँछ भनेर लेखिएको छ भनेर कुतर्क गर्छन् । कोही नेपालमा अमेरिकी सेना आएमा मलाई चारपाटा मोडेर थानकोट कटाइयोस् भन्छन् । कोही विदेशीसँग बढीभन्दा बढी भिख माग्नुपर्छ भनेर मगन्ते बन्ने कुरा गर्छन् ।
नाउँ चलेका भनिएका सञ्चारकर्मीहरूलाई डलरले किनेको हुन्छ । यहाँका नाम चलेका कति पत्रपत्रिकामा विदेशी लगानी रहेको हुन्छ । उनीहरू भारत, अमेरिका, युरोपेली देशहरूले सिन्को भाँचे पनि मुख्य समाचार बनाउँछन् । तर, देशको राजधानी काठमाडौँमा भारतीय विस्तारवाद, अमेरिकी साम्राज्यवादको विरोधमा भएको थिचोमिचो, हस्तक्षेप, अन्याय, अत्याचारको विरोधमा देशभक्त जनता र दलले आवाज उठाउँदा पनि उनीहरू देख्दैनन् । देशघाती सन्धि, लगानी बोर्ड, एमसीसी, एसपीपी, नागरिकता विधेयक, नेपाली भूमि अतिक्रमणको विरोधमा भएको सभा, सम्मेलन, ¥याली र बहसको समाचार बन्दैन ।
केही देशभक्त कानुन व्यवसायीहरूबाहेक अधिकांश कानुन व्यवसायीहरू, न्यायाधीशहरू काठमाडौँमा अड्डा जमाएर बसेका छन् । उनीहरूले जसरी पनि न्यायाधीश पद पाउन, पदोन्नति पाउन दौडधूप गरिरहेका छन् । यी कानुन व्यवसायी र न्यायाधीशहरू घुस आउने, भ्रष्टाचार गर्न पाउने न्यायालयमा न्यायाधीश पद पाउन दल र नेताहरूको घर–घरमा गएर चाकडी गर्न तयार हुन्छन् । त्यस्ता कानुन व्यवसायी र न्यायाधीशले लाखौँ, करोडौँ कुम्ल्याएको उनीहरूको विगतको एक आपसको पोलापोलले र आरोप प्रत्यारोपले पुष्टि हुन्छ । महाअभियोगको आरोपमा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बयानको क्रममा त्यस्ता कानुन व्यवसायी र न्यायाधीशहरूको पोल खोलिरहेका छन् । उनीहरूले विगतमा देशलाई कर नतिरेका र सम्पत्ति लुकाएका समाचारहरू पत्रपत्रिकामा आएको छ । उनीहरू देशघातको विरोध गर्दैनन्, सभा सम्मेलन र ¥याली गर्दैनन् । बरु अपराधीहरूसँग, देशघातीहरूसँग मोलतोल गरेर बनावटी नाटकमञ्चन गरेर, सेटिङ मिलाएर दोषी र अपराधीलाई उन्मुक्ति दिएको समाचार उनीहरूकै बीचमा पोलापोल भएबाट थाहा हुन्छ । किनभने, सर्पको खुट्टा सर्पले मात्रै देख्छ ।
राजनीतिक दल, नेता, मन्त्री, पहुँचवाला सांसदसँगको मिलेमतोमा, संरक्षणमा नेपालका जल, जमिन, जङ्गल सिध्याउने अपराधीहरूको केन्द्र यही काठमाडौँ बनेको छ । आज काठमाडौँको टुकुचा खोला छोपेर, हडपेर घर, पर्खाल, कम्पाउन्ड निर्माण गरेको समाचार सामाजिक सञ्जालमा भाइरल छ । हिजो बाग्मती, विष्णुमतीको बगर लिने, कब्जा गर्ने, मिलाउने अपराधीहरूको मिलेमतोमा विभिन्न नाम र बहानामा अतिक्रमण भयो । उनीहरूले सार्वजनिक जग्गा, जमिन, धारा, पोखरी, बाटो आदि मिचेर घर बनाएका छन् । प्लटिङ्ग गरेर बेचिरहेका छन् । नेपालका यस्तै सांस्कृतिक सम्पदा, सार्वजनिक जग्गा जमिन अपराधीहरूले हडपेका छन् । यसरी मिचेर बनाएका संरचनाहरू भत्काएर पूर्व अवस्थामा ल्याउनु र देशको सम्पत्ति बचाउनुको साथै त्यसलाई मिच्ने, हडप्न दिने, बीचमा बसेर मिलेमतो गर्ने व्यक्तिहरूलाई अदालतमा उभ्याएर कारबाही गर्नुपर्छ ।
उनीहरूले राजनीतिक, प्रशासनिक संरक्षणमा खोला कब्जामा लिएर बगर हात पारेका छन् । कसैले ताल, पोखरी, जलाधार क्षेत्र विभिन्न नाम र बहानामा हडपेका छन् । नेपाल र नेपाली जनताको कोसी, गण्डकी, महाकाली, कर्णाली, अरूण, तमोरजस्ता नदीहरू सहयोग, सन्धि, सम्झौताका नाममा भारतले कब्जा गरेको छ । यो क्रम जारी छ । नेपालको अपार प्राकृतिक जलशक्ति, स्रोत भारतलाई विभिन्न सन्धि र सम्झौतामा प्रभाव र दबाबमा सुम्पिएको छ । जङ्गल र जमिन अतिक्रमण गर्न डन र धन प्रयोग गरिएको छ । उनीहरू काठमाडौँ आउन प्रतिस्पर्धा गर्छन्, लाखौँ, करोडौँ घूस खुवाउँछन् । अर्थसँग सम्बन्धित निकाय भन्सार, मालपोत, नापी, भूमिसुधार, कर कार्यालयमा जान हानथाप गर्छन् । अनि आफूले दल, नेता र हाकिमलाई बुझाएको सावाँ, ब्याज र नाफासहित असुल्छन् । उनीहरू देश र जनतालाई चुस्छन् । उनीहरूको अगाडि देश, शोषितपीडित, गरिब, अशिक्षित चेलीजस्तै निरीह र असहाय बनिरहेको छ । यी अपराधीहरूका संरक्षक शासक दलहरू नै हुन् । यसको जिम्मेवार पनि उनीहरू नै हुन् । उनीहरूले यी अपराधीहरू कसैलाई कारबाही गर्न सक्दैनन् किनकि देशको राजनीति अपराधीहरूको हातमा गएको छ । उनीहरू आगामी मङ्सिर ४ गते सङ्घ र प्रदेशको निर्वाचनमा गर्धनभरि फूलको माला लगाएर मत माग्न आउँदै छन् । अतः सबै नेपाली जनता सचेत हुनु आवश्यक छ । यिनीहरूको सम्पत्ति देशभक्त दल, जनता मिलेर जफत गर्नुपर्छ र राष्ट्रियकरण गर्नुपर्छ । उनीहरूलाई कानुन र जनताको कठघरामा उभ्याएर जेलमा कोच्न सकेमात्र देशको उँभो लाग्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *