भर्खरै :

परिश्रम र मितव्ययितालाई प्रवद्र्धन गरौँ र फजुलखर्ची र खेर फाल्ने कार्यलाई निरुत्साही गरौँ !

(फजुलखर्ची, झिलिमिली जीवनशैली, अपव्ययी, बिनामिहेनत बिचौलिया बनेर पैसा कमाउने प्रवृत्ति पँुजीवाद र उदारवादको अभिन्न अङ्गजस्तै हो । यस्तो प्रवृत्तिले अन्ततगत्वा समाजमा विकृति फैलाउँदै यसले आपराधिक क्रियाकलापलाई बिस्तारै प्रोत्साहन गर्छ । आर्थिक उन्नतिले चिनियाँ जनताको जीवनशैलीमा आएको परिवर्तन सँगसँगै अपव्यय, फजुलखर्ची, खानेकुरा खेरफाल्नेजस्ता प्रवृत्ति पनि देखापर्न थालेकाले राष्ट्रपति सी चिनफिङले १७ जनवरी २०१३ मा चिनियाँ जनतालाई गर्नुभएको अपिलको अंश यहाँ सान्दर्भिक भएकोले सी चिनफिङ ‘चीनको शासन’ नामक पुस्तकबाट साभार गरी प्रस्तुत गरिएको छ ।)
पहिलो अंश
खानेकुराहरू अचाक्ली खेर फाल्ने प्रवृत्ति बढ्दै गएको भन्ने विभिन्न प्रतिवेदन र सूचनाहरू आउन थाले । विशेषगरी सरकारी रकम खर्च गरी आयोजना गर्ने मनोरञ्जनात्मक कार्यक्रमहरूमा खानेकुरा अत्यधिकरूपमा फाल्ने गरेकोमा सरकारी अधिकारीहरू र सर्वसाधारण जनताले समेत चासो देखाउन थाले । हाम्रोजस्तो अहिले पनि धेरै जनता चरम गरिबीमा बाँच्नु परिरहेको अवस्थामा यस्तो कुरा सुन्नु पर्दा हामीलाई पीडा महसुस हुनु स्वाभाविक नै हो । खानेकुरा फोहरमा फाल्ने यस्तो प्रवृत्तिलाई यथाशीघ्र हामीले रोक्नु आवश्यक छ । यस्तो अवस्थामा परिश्रम र मितव्ययितालाई सम्मान गर्ने र फजुलखर्चीलाई नराम्रो मान्ने हाम्रो सुन्दर राष्ट्रिय परम्पराको बारेमा जनतालाई सुसूचित, सचेत र निर्देशन गर्ने अभियानलाई अगाडि बढाउनैपर्छ । परिश्रम गर्ने र मितव्ययिता अपनाउने कार्यलाई जनताको दैनिकी बनाउन कडाइका साथ लाग्नुपर्छ । सबैले फजुलखर्ची, अपव्ययी र खेरफाल्ने कार्यको एक स्वरले विरोध गर्नुपर्छ ।
पार्टी, सरकार, सैनिक सबैले आ–आफ्नो हरेक तह, सङ्घ सस्था, जनताका सङ्गठनहरू तथा राज्यबाट सञ्चालित उद्योगधन्धाहरू, सरकारी अधिकारीहरू एवं नेताहरू सबैले आफ्नो मातहतका हरेक तहमा सरकारी कोष खर्चेर आयोजना गर्ने कार्यक्रमहरूमा परिश्रमी र मितव्ययी बन्ने नियमको कडाइका साथ पालना गरी आफूलाई उदाहरणीय बन्नु आवश्यक छ ।
साथै, अन्य दैनिकरूपमा हुने कार्यहरूमा मितव्ययितालाई प्रोत्साहन गर्न र फजुलखर्चीलाई सजाय गर्न आवश्यक नीति नियमको पनि तर्जुमा गर्नुपर्छ ।
दोस्रो अंश
पार्टीको केन्द्रीय समितिले परिश्रमी र मितव्ययीलाई प्रोत्साहन गर्ने र फजुलखर्ची र खेर फाल्ने प्रवृत्तिलाई कडाइका साथ निमिट्यान्न पार्ने अभियानलाई सबै जनता र अधिकारीहरूले मुक्तकण्ठले प्रशंसा गर्दै नियम पालना गरे । अब भने यो अभियान अझ सशक्त होस् भन्ने हेतुले यसको अनुगमन हुनु जरुरी छ किनभने यसलाई जनताले अपर्झट आउने हावाको झोकामात्र नठानून् । यसलाई सफल बनाउन हरसम्भव कार्यहरू गर्दै जानुपर्छ । निरन्तरता, गम्भीर र व्यावहारिक नभइकन कुनै पनि कार्य सफलताका साथ सम्पन्न गर्न सकिँदैन । यसको बारेमा विभिन्न तह र समुदायका जनतासँग हामीले सल्लाह साहुती गर्यौँ र रचनात्मक सुझावहरू पनि प्राप्त गर्यौँ । यी प्राप्त सल्लाह र विचारलाई केलाउँदै उनीहरूलाई व्यवहारमा उतार्दै , सिकेका पाठहरूलाई मनन गर्दै र देश र विदेश सबै ठाउँबाट प्राप्त अनुभवलाई आत्मसात गर्दै हामी अगाडि बढ्नुपर्छ ।
यसपछिका महत्वपूर्ण पाइला भनेको यस प्रणालीलाई अझ सुधार्न यसको अडिट (हिसाब जाँच), जवाफदेहीता, लेखाजोखा र मूल्याङ्कन तथा सुपरिवेक्षण गर्दै जाने हो । समग्रमा यस अभियानलाई ठीकठाक पार्न र पूर्णरूपमा सफल बनाउन यस सिँगो संयन्त्रलाई सुधार्नु र गतिशील बनाउनु आवश्यक हुन्छ । साथै, नियमलाई अवज्ञा गर्ने र यस प्रणालीलाई विफल बनाउन खोज्नेलाई कडा सजाय दिन बलियो सुपरिवेक्षणको व्यवस्था गर्दै अगाडि बढ्नुपर्छ ।
(दोस्रो अंशको प्रकाशन फरवरी २२ सन् २०१३ मा भएको थियो )
भावानुवाद : योगेन्द्रमान बिजुक्छेँ

Leave a Reply

Your email address will not be published. Required fields are marked *