भर्खरै :

विरोध जुलुसमा सहभागी हुँदा

विरोध जुलुसमा सहभागी हुँदा

देशघाती नागरिकता विधेयक खारेजीको माग गर्दै ३१ भदौमा काठमाडौँको रत्नपार्कबाट भएको जुलुसमा नेपाल मजदुर किसान पार्टीका कार्यकर्ता, समर्थक, पार्टीका अग्रज, विभिन्न विद्यालयका शिक्षक, कर्मचारी देशभक्त पक्ष सबैको सहभागिता थियो ।
हामी घरबाट २ बजेको बस चढ्यौँ । ३ बजे रत्नपार्कमा पुग्यौँ । त्यहाँ पुग्दा जुलुसमा सहभागीहरूभन्दा सुरक्षाका लागि खटिएका सुरक्षाकर्मीहरू बढी थिए । केही समयको पर्खाइपछि बिस्तारै सहभागीहरूको सङ्ख्या पनि बढ्दै गयो । नेपाल क्रान्तिकारी युवा सङ्घका मिनबहादुर बाटाले कार्यक्रम सञ्चालन गर्दै जुलुसको नारा र उद्देश्यबारे बताउनुभयो । नेमकिपाका केन्द्रीय सदस्य नारायण महर्जनले नेपालको सार्वभौमिकता र भूअखण्डता जोगाउन नेमकिपाले सडकदेखि सदनसम्म सङ्घर्ष गर्दै आएको बताउनुभयो । काठमाडौँको रत्नपार्कबाट सुरु भएको विरोध जुलुसमा युवा, महिला, ज्येष्ठ नागरिकहरूको उत्साहजनक सहभागिता थियो । नेपाल मजदुर किसान पार्टीले आयोजना गरेको जुलुस यस पटक पनि विगतमा झैँ शिष्ट र अनुशासितरूपमा अगाडि बढ्यो ।
हातमा सबैले झन्डा र व्यानर बोकेका थिए । नेपाली लेन्डुपहरू–मुर्दावाद !, देशघाती नागरिकता विधेयक – खारेज गर ! जस्ता गगनभेदी नाराका साथ जुलुस अगाडि बढ्यो । हामीले उठाएका विषयहरू साँच्चिकै देश र जनताको हितको लागि हो । काठमाडौँको रत्नपार्कबाट सुरु भएको विरोध जुलुस बागबजार, पुतली सडक, प्रदर्शनीमार्ग, सहिदगेट, न्युरोड, असन हुँदै रत्नपार्कमै पुगेर विरोध सभामा परिणत भएको थियो ।
जुलुसको क्रममा सडकको पेटीमा बसेका सबैको हातमा पहेँलो रङ्गको पर्चा थियो । पर्चा जुलुसमा सहभागी साथीहरूले वितरण गरेका थिए । काठमाडौँका सर्वसाधारणले पनि जुलुसलाई समर्थन गरी आआफ्नो पसल र कौसीबाट हात हल्लाउँदै थिए । केहीले यो नागरिकता विधेयक खारेज हुनुपर्छ भन्दै थिए । हाम्रो जुलुसको कारणले जाममा परेकाहरू पनि म पनि नागरिकता विधेयकको विरोधमा छु भन्दै बाटो खुल्ने पर्खाइमा बसेका देखिन्थे । काठमाडौँको जनतालाई देशको सार्वभौमिकता र भूअखण्डताबारे सजग बनाउने खुला विश्वविद्यालय बनेको अनुभव र देशभक्त नेपाली जनतालाई प्रशिक्षित गर्ने काम नेमकिपाले आफ्नो स्थापनाकालदेखि गर्दै आएको छ ।
नेपाली नागरिकलाई नागरिकता दिनुपर्छ तर विदेशीलाई दिनुहुन्न । आमा र बुबा दुवै वंशजको नेपाली नागरिकका छोराछोरीलाई मात्र वंशजको नेपाली नागरिकता दिनुपर्छ । नेपालीसँग विवाह गरेका विदेशी महिलालाई तत्काल अङ्गीकृत नेपाली नागरिकता दिने र जन्मको आधारमा विदेशीसमेतले पाएको नेपाली नागरिकता खारेज गर्नुपर्दछ । खारेज नभए विदेशीले नेपालको राष्ट्रपति र प्रधानमन्त्री पदमा पुगी नेपालको ऐन–नियम र कानुन विदेशको इच्छाअनुसार बनाउँदै जानेछ । यसले देश र जनताको हित हुनेछैन । नागरिकता विधेयक खारेज नभएमा विदेशीले नेपालमाथि युद्ध नै नगरी हाम्रो देश तिनीहरूले जित्नेछन् ।
वंशजको आधारमा नागरिकता नपाएमा विदेशीहरू ठूलो पद, मन्त्री, राष्ट्रपति, प्रधानमन्त्री र पुलिसको उच्च पदमा पुग्न पाउँदैन । त्यसैले विदेशीहरूले नागरिकता विधेयकलाई अगाडि बढाउन लगाएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *