भर्खरै :

सुरुङ युद्ध लडेको घोषणा गरेकाहरू यथार्थमा भारतीय एजेन्ट

सुरुङ युद्ध लडेको घोषणा गरेकाहरू यथार्थमा भारतीय एजेन्ट

दुल्लु, ५ असोज  । नेपाल मजदुर किसान पार्टी दैलेख जिल्ला समितिको आयोजनामा मङ्गलबार दुल्लु बजारमा जिल्लास्तरीय कार्यकर्ता भेला सम्पन्न भयो ।
भेलामा पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष जग्यबहादुर शाहीले भारतीय विस्तारवादविरुद्ध सुरुङ युद्ध लडेको घोषणा गर्ने माओवादीहरू यथार्थमा भारतीय विस्तारवादको स्वार्थपूर्तिका लागि काम गरिरहेको घटनाक्रमले पुष्टि गरेको बताउनुभयो ।
उहाँले शासक दलहरूले नेपाल र नेपाली जनताको हितमा काम गर्छ भन्नु गलत हुने प्रस्ट पार्दै नागरिकता विधेयक नेपालीको निम्ति नभई भारतीय शासकहरूको हितमा ल्याइएको बताउनुभयो ।
पार्टीका अर्का केन्द्रीय सदस्य सरोजराज गोसाईले कम्युनिस्टको खोल ओढेका र समाजवादको नारा भट्याउने पुँजीवादी दलका देश हितविपरीतका कार्यबारे सर्वसाधारण जनतालाई बुझाउनुपर्छ भन्नुभयो ।
भारतीय एकाधिकार पुँजीले नेपालको अर्थतन्त्र, नदीनाला र भूमिमाथि नियन्त्रण गरिरहेको सन्दर्भमा नागरिकता विधेयकमार्फत भारतीय शासक दलहरू खुलारूपमै नेपालमा प्रवेश गर्न लागेको तर्फ सचेत पार्दै उहाँले देशको सार्वभौमसत्ता रक्षाको लागि नेमकिपाले सङ्घर्ष गर्दै आएको प्रस्ट पार्नुभयो ।
पार्टीका केन्द्रीय सदस्य रवीन्द्र ज्याख्वले नागरिकता विधेयकका देशघाती बुँदाहरूबारे जानकारी दिनुभयो ।
नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घका केन्द्रीय अध्यक्ष प्रकाश गुरुङले एमसीसी सम्झौतामार्फत अमेरिकी साम्राज्यवादले नेपालको भूमि चीनविरुद्ध प्रयोग गर्न खोजेको बताउनुभयो ।
यसैगरी नेपाल मजदुर किसान पार्टी डुङ्गेश्वर गाउँ एकाइ समिति र गुराँस गाउँ एकाई समितिको संयुक्त आयोजनामा बुधबार डुङ्गेश्वर बजारमा कार्यकर्ता प्रशिक्षण सम्पन्न भयो ।
कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य सरोजराज गोसाईले शासक दलहरूबाट समाजको प्रगति हुन्छ भन्ने भ्रममा नपर्न आग्रह गर्नुभयो । उहाँले पुँजीवादी व्यवस्थामा जहाँ पनि शासक दलहरूले जनतालाई भ्रममा पार्ने र शोषणको जरोलाई बलियो बनाउने कार्य गर्ने कुरा उल्लेख गर्दै शोषणको जरा उखेल्न नेमकिपाका कार्यकर्ताहरू जनताको बीचमा पुगिरहेको प्रस्ट पार्नुभयो ।
उहाँले नेमकिपाले पुँजीवादी निर्वाचनलाई वर्गसङ्घर्षको सिलसिलाको रूपमा लिने हुँदा हारजीतको लागि भन्दा पनि समाजवादी व्यवस्था स्थापनाको सङ्घर्षमा जनतालाई एकगठ गर्ने अवसरको रूपमा उपयोग गरेको बताउनुभयो ।
अर्का केन्द्रीय सदस्य रवीन्द्र ज्याख्वले नागरिकता प्रमाणपत्र कागजको खोस्टोमात्र नभई यससँग देशको सार्वभौमसत्ता जोडिएको चर्चा गर्दै शासक दलहरूले सत्तास्वार्थका लागि विदेशी शक्तिको हितमा काम गरिरहेको बताउनुभयो ।
नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घका केन्द्रीय अध्यक्ष प्रकाश गुरुङले अमेरिकी साम्राज्यवादले कुनै पनि देशमा साँचो प्रजातन्त्र र मानव अधिकारको सुरक्षा नगरेको चर्चा गर्दै संरा अमेरिकाले आप्mनो नियन्त्रण फैलाउन अन्य देशमाथि सैन्य हमला गरिरहेको प्रस्ट पार्नुभयो ।
पार्टी दैलेख जिल्ला समितिका उपाध्यक्ष जगत वलीले पार्टी अनुशासन र पार्टी पद्धतिलाई हरेक कार्यकर्ताले गहनाको रूपमा लिएर निरन्तर ऊर्जाशील भएर जनताको माझमा पुग्न सबैलाई अनुरोध गर्नुभयो ।
पार्टी गुराँस गाउँ समितिका अध्यक्ष हस्तबहादुर घले गुरुङको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा पार्टीका सदस्यहरू शिवराज दाहाल र हिरामणी न्यौपानेले वर्गीय समाजमा वर्गसङ्घर्षमार्फत कामदार जनताको सेवामा लाग्न जोड दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *