भर्खरै :

भक्तपुरदेखि ताप्लेजुङसम्मको देश दर्शनयात्रा

भक्तपुरदेखि ताप्लेजुङसम्मको देश दर्शनयात्रा

भौगोलिक विविधताले युक्त हाम्रो देश दक्षिण तराई, मध्य पहाड, उत्तर हिमाल क्षेत्रको अनुभव सँगाल्ने देश दर्शनको यात्रा अवसर मिल्यो भदौ २४ गतेदेखि २९ गतेसम्म भक्तपुरदेखि ताप्लेजुङसम्मको यात्रा कस्तो होला ? विगतको तराई, पहाड, हिमाली भेगको यात्राको अनुभव, अनुभूतिहरू सम्झें । त्यहाँको हावापानी, वातावरण, जनजीवनको रहनसहन कस्तो होला भनी मनमा खुल्दुली लागेको थियो । नेपालको नक्सा हेरेँ । ताप्लेजुङ प्रदेश एकको उत्तर पूर्वी हिमाली क्षेत्र, उत्तरमा चीनको तिब्बत, पूर्वमा भारतसँग जोडेको, पश्चिममा संखुवासभा जिल्ला, दक्षिणमा ते¥हथुम, पाँचथर । हिमाली भेग परेकोले एकसरो न्यानो लुगा, औलबाट बच्न अदुवा, लसुन, ल्वाङ, ग्लुकोज, कागती, चक्लेट र हलुका बलियो जुत्ताको बन्दोबस्त गरियो ।
भदौ २४ गते बिहान ५ बजे गाडी चढ्यौँ र ५ः१५ मा हाम्रो यात्रा सुरु भयो । बिहानको झिसमिसे उज्यालो चिसोचिसो हावासँगै गाडी अगाडि बढ्दै थियो । धुलिखेल, नेपालथोक, खुर्कोट हुँदै सिन्धुली बर्दिवास राजमार्ग भई गयौँ । हाम्रो यात्रा समूहमा १९ जना महिला र १२ जना पुरुष थिए । बिहानको ११ बजे हामी सिन्धुलीको कमलामाई नदी किनारमा बस रोकी खाना पकाउन थाल्यौँ । खाना पकाउञ्जेल महिलाहरू झोलुङ्गे पुल तरेर कमलामाई मन्दिरमा गए । सबैले खाना खाई सक्दा १२ः१५ भइसकेको थियो ।
हाम्रो यात्रा तराई भूमिमा प्रवेश भयो । तराईको ठाउँ दिउँसोको घामले तातेको थियो । सिन्धुली, बर्दिवास, ढल्केबर, सिराहा, सप्तरी भई सप्तकोसी पुल पग्यौँ । पुलमा गाडि रोकेर सप्तकोशी नदी अवलोकन गरियो । पुलमा हिँडेर गयौँ । सप्तकोसी पुल ५६ कवलको लामो थियो । बाटोमा हिँड्दै पानीको बहाव हेर्दै जाँदा रिङ्गटा लागेको थियो । पुलको पूर्व र पश्चिममा नहर बनाई पानी भारततिर लगिरहेको थियो । ती नहरबाट भारतमा सिचाइ गरी कृषि उत्पादन गर्छ । ५६ वटा कवलमध्ये १६ वटा कवलमात्र खोलेर पानी छोडेको थियो । ४० वटा कवल बन्दै थियो । कोसी सम्झौतामा नेपाललाई ठगेको यो सम्झौता मातृकाप्रसाद कोइरालाले गरेको कुरा बताउँदै गयौँ । महिलाहरूले त यो सप्तकोसी नदी त समुद्र नै सम्झे । पुलपारी नेपाल र भारतको जङ्गेपिलर देखाउँदै लगेँ । तराईको फाँट, धानखेती, उखुबारी, राजमार्गको व्यस्त जीवन लामो दुरीको यातायातभन्दा छोटो दुरीको रिक्सा, बलेरो गाडीको चाप धेरै थियो । हरेक बस्तीको त्यो व्यस्त राजमार्गमा मान्छेको हुल देखिन्थ्यो । साँझको बजार खोल्ने किनबेच गर्नेहरूको भिड थियो । अँध्यारो समयमा गाडी अगाडि बढ्दै थियो । रातको ८ बजे हामी झापाको बिर्तामोड बसपार्कमा पुग्यौँ । बसपार्कमा दुईवटा होटलमा बास बस्ने ठाउँ मिलाइयो । एउटा होटलमा आफैले खाना पकाएर खायौँ । दिनभरिको बसको यात्रा पनि सजिलो थिएन । सबैलाई थकाइ लागेको थियो । खाना खाई सकेर सुत्न गयौँ । तराईको गरममा झुल राखेर, पंखा चलाएर सुते पनि लामखुट्टेको रजाइँ कम थिएन ।
भदौ २५ गते बिहान ४ बजे उठेर हामी आफैले चिया पकाएर खायौँ । बिहान ५ः१५ बजे हाम्रो यात्रा सुरु भयो । राजमार्गको दायाँबायाँ पहिलोपल्ट चिया बगान देखेँ । बिहानको शान्त वातावरणमा चियाका बोटहरू मिलाएर लाइन लाइन रोपी राखेको देख्दा अति सुन्दर लाग्थ्यो । हाम्रो यात्रा जतिजति उत्तरतर्फ लाग्थ्यो त्यति त्यति समथर भूमिमा धानबाली र चियाबगानहरू देख्न सक्छौँ । इलाम जिल्ला प्रवेशसँगै डाँडाकाँडा, पहाडहरूमा अझै मनमोहक चियाबारी देख्न पाउँदा सबैलाई मन चञ्चल लाग्थ्यो । जता हेरेनि हरियो देखिन्थ्यो । त्यसैबीच पहाडमा गाउँबस्ती देख्दा अझै मनमोहक हुन्थ्यो । हरेक बस्ती बस्तीमा नेपालीबाहेक अरु भाषा बोल्नेहरू पनि धेरै थिए । कोही व्यापारीको रूपमा, कोही मजदुरीको रूपमा त्यसैबेला मनमा सम्झना आयो । प्रजातान्त्रिक, लोकतान्त्रिक सरकारहरूले बेलाबेलामा विदेशीलाई खुसी पार्न देशघाती नागरिकता विधेयक ल्याएर पास गर्दाको परिणाम आज नेपालको हरेक ठाउँ वस्तीहरूमा विदेशीहरूको चलखेल बढ्न थालेको हो । भोली हाम्रो देश सिक्किम र भुटान हुने सम्भावनालाई मध्यनजर गर्दै नेमकिपाले विदेशीहरूलाई सजिलै नागरिकता दिनु हुन्न भनेर बारम्बार सडकदेखि सदनसम्म सङ्घर्ष गर्दै आइरहेको थियो । देशको सार्वभौमिकता रक्षार्थ हिजोझैँ आज सङ्घर्ष गर्दै छ । भोलि पनि गरिरहने छ । हाम्रो आन्दोलन जारी छ ।
बिर्तामोडदेखि ताप्लेजुङ्गसम्मको यात्रामा बाटोमा आवतजावत गाडीहरू हेर्दा ट्रकहरूमा दिनको १५–२० वटा ट्रक वन पैदावार बिर्तामोडतर्फ ल्याएको भेट्यौँ । बाटोको छेउछाउ पहाडका खोचहरूमा उत्तीस, सल्लाका काठहरू साइज मिलाएर काटेर थुपारीराखेको धेरै ठाउँमा भेट्न सकिन्छ । स–साना बलेरोहरूमा गोलभेडा, बन्दागोभी, फर्सी, लौका, मुला, काँक्रो ल्याइराखेको देख्यौँ । त्यो क्षेत्रका पहाडमा धेरैजसो उत्तिस, सल्ला, सालको रुख देखिन्छ भने बाँस, बाबियो पनि धेरै छन् । पहाडी जिल्लाको कृषि उत्पादनमा धान, मकै, कोदो, भटमास, सिमी, मस्याङ, जिरे खुर्सानी, अलैँची, बेसार, अदुवा, बदाम खेती गरेको देख्न सकिन्छ । पहाडै पहाडको त्यो ठाउँहरूमा गाउँ, बस्ती अलि समथर ठाउँमा आधुनिक सहरहरूको विस्तार भएको देख्न पाइन्छ । जहाँतहीँ पानीको मूल देख्न सकिन्छ । आधुनिकताको नाममा ठाउँठाउँमा नयाँ बस्ती बसाउन माटो पन्छाउने, पहाड फोड्ने काम बुल्डोजरको उपयोगले थाहा पाउन सकिन्छ ।
वर्षाको यो समयमा माटो ढुङ्गा बगाएर पहाडको खोचमा बगिरहेको निर्मल सफा नदीहरू धमिलो भई बग्दै छन् । पाँचथर, इलाम, ताप्लेजुङको ठाउँ – ठाउँमा साना जलविद्युत् उत्पादन गरेको पावरहाउसहरू देख्न सकिन्छ । सायद त्यही जलविद्युत्ले स्थानीय बस्तीमा उज्यालो भएको हुनुपर्दछ । देशका यी नदीनालाहरूबाट अझै बढीभन्दा बढी विद्युत् उत्पादन गर्नसक्ने क्षमता छ । अझै गाउँ बस्तीहरूमा उज्यालो पुगेको छैन ।
यात्राको क्रममा हामीलाई मौसमले पनि साथ दिएको थियो । भारी वर्षा नभई सिमसिम पानी परेको थियो । छिनछिनमै पहाड छोपिने हुस्सु आउँथ्यो । यस्तो हरियो भएको पहाडी ठाउँमा पनि दिउँसो घाम लाग्दा गर्मी हुन्थ्यो । यो विश्वमा देखिएको वातावरण प्रदूषणको प्रभाव हुनुपर्छ । हाम्रो यात्रा ताप्लेजुङको सुकेटार पुग्दा हाम्रो गाडी एउटा होटलअगाडि रोकियो । हाम्रो गाडी यहिं सम्ममात्र जान्थ्यो । १५–२० मिनेट आराम गरेपछि अर्को ३ वटा बोलेरो गाडीमा बसेर हामी अगाडि बढ्यौँ । बाटो हिलाम्य, खाल्डाखुल्डी, कच्ची थियो । त्यो बाटो सवा एक घण्टाको थियो । बसपार्क काफ्लेपाटी पुग्दा ७ बजिसकेको थियो । एकछिनपछि हुस्सुले छोप्यो र हावा चल्यो । अनि पानी पर्न थाल्यो । पसलहरूमा लौरो किन्दै प्लास्टिक, वर्षादी ओढ्दै उकालो चढ्यौँ । उकालोमा ढुङ्गाको व्यवस्थित सिँढी बनाइएको थियो । हाम्रो पछाडि ७–८ जना युवाहरू टर्च बाल्दै आए । उनीहरू कोही अशक्त भएमा भारी बोक्न भनेर आएका रहेछन् । झोला बोकेबापत प्रतिकिलोको रु. १०० रुपैयाँ उनीहरू ज्याला लिन्थे ।
कोही अशक्त भए रु. १०० ज्याला लिएर बास बस्ने ठाउँसम्म पु¥याउँथे । हाम्रो समूहमा धेरै महिला भएकाले हामी महिलाहरूको झोला बोकी बिस्तारै गएका थियौँ । बाटोमा गफ गर्दै मोबाइल बाल्दै गयौँ । बेलुका ८ः३० बजे ठूलो फेदीमा पुग्यौँ । त्यहाँ एउटा होटलमा सुकेटारबाट बास बस्न र खानाको बन्दोबस्तको मिलाउन सम्पर्क गरेको थियो । बास बस्ने होटलमा पुग्दा सबैलाई तातोपानी अगाडि राख्नुभयो । ठूलो फेदीको त्यो बस्तीमा १५–२० घर थिए । सबै घरमा होटल थिए । काफ्लेटारदेखि ठूलोफेदीसम्म २ किलोमिटर थियो । ठूलो फेदीदेखि पाथीभरासम्म ३ किमि हिँड्न बाँकी थियो । बेलुकाको खाना खाई भोलि ४ बजे उठ्ने सल्लाह गरेर आ–आफ्नो सुत्ने ठाउँमा गयौँ ।
भदौ २६ गते सबै उठेर बिहान ठीक ५ बजे उकालो चढ्यौँ । काफ्लेपाटीदेखि पाथीभरासम्म ठाउँठाउँमा २० वटा जति पाटी बनाइराखेको थियो । पाटी थकाइ मार्न र पाटीसँगै चर्पी पनि बनाइएको पाइयो । प्रत्येक पाटीमा पाटी बनाउन सहयोग गर्ने दाताहरूको नाम उल्लेख गरेको पाइन्छ । पाथीभरा पहाडको टुप्पोमा थियो । चारैतर्फ ढुङ्गाको पर्खालले मोडेको थियो । हिउँ परे पनि बस्नको लागि करिब ३०० मिटरजति उकालो बाटोमा फलामको रेलिङमाथि जस्तापाताले छाएर हिउँ पानीबाट बच्न बनाएको थियो । पाथीभरामा पानी प¥यो कि हिउँ पनि पथ्र्यो । उत्तरतर्फ हरियो पहाडसँगै सेताम्य हिमाल नजिकै थियो । जता हेरे पनि पहाडै पहाड देखिन्थ्यो । मन्दिर परिसरमा ढुङ्गाले भुइँ छापेको थियो । आराम गर्नलाई पेटी पनि बनाइएको थियो । त्यहाँ मन्दिर परिसर बाहिर नवनिर्मित भवन ४–५ वटा थिए । सायद वर्ष दिनमा पाथीभरामा बास बस्ने होटेलको बन्दोबस्त हुनेछ ।
हाम्रो यात्राको दूरी भक्तपुरदेखि झापा बिर्तामोडसम्म करिब ५८७ किलोमिटर छ । बिर्तामोडदेखि सुकेटार एअरपोर्टसम्म १४५ किलोमिटर रहेको छ । सुकेटारदेखि काफ्लेपाटी कच्ची रोड ९.५ किलोमिटर रहेको छ । हामी पाथीभरा पुग्दा ७ः१५ बज्यो ।
भक्तपुर पाथीभरा देशदर्शन सफल रमाइलो भए पनि असक्षम गठबन्धन सरकारको लापरबाही र बेवास्ताले गर्दा समयमै रासायनिक मल उपलब्ध नगराउँदा यस वर्ष धानबाली कम उत्पादन हुने निश्चित छ । किनभने, धुलिखेल पूर्वदेखिको धानबाली हेर्दा र तराईका फाँटहरूको धानबाली हेर्दा, समयमै रासायनिक मल उपलब्ध नहुँदा धानबाली राम्रो सप्रिन नसकेको अवस्था देखियो । काठमाडौँ उपत्यकामा उन्नत जातको बीउबिजनको अभावले हाइब्रिड धान लगाएको थिएन । यो समस्या देशभर नै रह्यो । अक्सर धानबाली हाइब्रिड नै रोपिएको थियो । कृषिप्रधान देश परनिर्भर हुँदै छ । यसबारे नेपाल सरकार मौन छ । सरकार विदेशी चलखेलमा फस्दै छ । नेपाललाई हरेक क्षेत्रमा असफल पार्ने काम भइरहेको यो देश दर्शनबाट अनुभव भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *