साम्राज्यवादीहरू भियतनामबाट पुच्छर लुकाएर भागे
- जेष्ठ ४, २०८३
‘नोल बोक्नेलाई राजनैतिक चिन्ता’ भन्दै सामन्ती विचारका शोषक वर्गले बहुमत किसानलाई हेलाहोचो गर्थे । तर, व्यवहारले के देखायो भने ‘काम गरी खाने तल्लो वर्ग नउठेसम्म संसारका क्रान्तिहरू सफल भएका थिएनन् । १७ औँ शताब्दीमा बेलायतमा पुँजीपतिवर्ग र राजा–महाराजा, सामन्त, गुरु पुरोहित एवम् सम्भ्रान्त वर्ग भनिएका शोषकवर्ग सम्मिलित पुँजीवादी क्रान्तिले सफलता हासिल गर्न सकेन । सन् १६४० पछि क्रामवेलको नेतृत्वमा ‘आदर्श पल्टन’ भनिने मजदुर–किसान–कालिगढ–ज्यामीहरू– खेतालाहरूको सहयोगपछि मात्रै बेलायती क्रान्ति सफल भएको थियो ।
‘अमेरिकी स्वतन्त्रता आन्दोलन’ पनि एक पुँजीवादी क्रान्ति नै थियो । अफ्रिकी दास, आदिवासी, विभिन्न देशबाट ल्याएका काम गर्ने ज्यामी, खेताला, स्वयम्सेवक, सिपाहीहरू आदि त्यस आन्दोलनको महत्वपूर्ण भाग थियो ।
त्यसरी नै फ्रान्सेली राज्य क्रान्तिमा पनि मजदुर, किसान, स्वयम्सेवक र सिपाहीहरूको ठूलो बलिदानले समाजमा ठूलो परिवर्तन भएको थियो । सोभियत सङ्घको समाजवादी क्रान्ति कामदार वर्गकै नेतृत्वमा सफल भएको थियो । त्यसरी नै चिनियाँ जनक्रान्ति, कोरिया र भियतनामी क्रान्ति पनि क्रान्तिकारी मजदुर र किसानहरूकै बलिदानले सफल भएको थियो ।
भक्तपुरलगायत विभिन्न जिल्लामा पञ्चायतविरोधी सङ्घर्ष र जनतामा देशभक्तिको भावना र परिवर्तनको चाहना आउनुमा ती क्रान्तिहरूको प्रभाव छ । नवदुर्गा बहुमुखी सहकारी संस्थामा भएको भ्रष्टाचारको विरोधमा भ्रष्टाचारीलाई उल्टो टोपी लगाई नगरमा घुमाउनुमा अमेरिकी स्वतन्त्रता आन्दोलनकै प्रभाव थियो । बोस्टनमा कर उठाउने बेलायती सरकारका कर्मचारीहरूलाई जीउमा खोटो दलाई, प्वाँखहरू लगाई घण्टी वा टीन ठटाई बजार घुमाउँथे, ‘प्रतिनिधि नभएसम्म कर नतिर्ने’ त्यसबेलाको अमेरिकी जनताको नारा थियो । भ्रष्टाचारीलाई ठेलागाडामा राखी कालोमोसो दल्ने गतिविधि अमेरिकी स्वतन्त्रता आन्दोलनकै प्रभाव थियो ।
XXX
नेपालका हिजोका ‘वीर र निर्माताहरू’ मा राजामहाराजा र ठूलाबडाको नाउँमात्रै आउँथ्यो, कामदारवर्गको नाम आउँदैनथ्यो । हाम्रा सहर र नगरहरूको विकासमा हाम्रा सफाइ मजदुर, श्रमदान गर्ने मजदुर र किसानहरू, नाचगान, बाजागाजा, कलात्मक भवन र मन्दिरहरूको निर्माणमा पुराना गुरु, सिकर्मी र डकर्मीका गुरुहरूको महत्वपूर्ण योगदान छ । यसकारण, समाजको परिवर्तन र निर्माणमा माथिल्ला वर्गका नामको साथसाथै अन्य कामदार र नाइकेहरूको श्रम र योगदानलाई बिर्सनु ‘गुण’ लाई बिर्सनुसरह हुनेछ । ‘एमसीसीविरोधी’ र ‘नागरिकताविरोधी’ जुलुस, जनसभा र कोणसभाका सहभागीहरूलाई पानी दिएर सहयोग गर्ने ‘किसान काका’ हरूको देशभक्तिलाई कसरी बिर्सन सक्छन् जनताले ?
उहाँहरूकै छोरा–नाति आज समाजका पाइलट, इन्जिनियर, प्राध्यापक, कलाकार र आन्दोलनकारी छन् । हिमाल, पहाड, तराई र गाउँमा गएर आज पनि अन्तर्राष्ट्रिय परिस्थिति, साम्राज्यवादी गतिविधि, सम्भावित तेस्रो विश्वयुद्ध र नेपाली जनताले देखाउनुपर्ने देशभक्तिबारे उनीहरू कक्षा सञ्चालन गर्दै छन् ।
चुनावमा जित्न खाममा पैसा बाँड्ने, भोजभतेर गर्ने, उपहार बाँड्ने, ग्यास सिलिन्डर, मासु र माछाको पोको, चोलो र सारी, कुर्ता र सुरुवाल, रातिराति लुकीलुकी चामल र अन्य सामान बाँड्ने विरुद्ध देशभक्त जनता सचेत हुनु आवश्यक छ, त्यस्ता लाई अहिलेको चुनावमा उदाङ्ग्याउनुपर्छ ।
समाजमा देखापरेका अनेक दृष्टिदोषहरू बहुसङ्ख्यक कामदार जनतालाई प्रस्ट पार्नु अहिलेको आवश्यकता हो ।
Leave a Reply