भर्खरै :

‘बाआमा’ मा नेपाली समाज

‘बाआमा’ मा नेपाली समाज

पुस्तक समीक्षा
समय र परिस्थितिसँगै मानिसका सम्बन्धका रूप, आयतन र आन्तर्यमा पनि शनै शनै परिवर्तन आउँछन् । भौतिकवादीहरू भौतिक परिस्थितिले सबै सम्बन्धको निधो गर्ने तर्क गर्छन् । अनि माक्र्सवादीहरू त्यो भौतिक परिस्थितिको आधार संरचना आर्थिक अवस्था भन्छन् । अर्थात, मानिसका कुनै पनि सम्बन्धको निधो आर्थिक परिस्थितिको जगमा बनेको भौतिक परिस्थितिले तय गर्छ । हिजो फरक भौतिक परिस्थितिमा स्थापित मानवीय सम्बन्ध, मूल्य मान्यता, नैतिकता र आचरण आज फरक परिस्थितिमा अपेक्षा गर्नु मनोच्छासम्म ठिक्कै होला । तर, त्यसमा बदलाव आउनु अपरिहार्य सत्य हो । परिवर्तनशीलताको बहावलाई कसैले रोक्न सक्दैन । तथापि, मानिसलाई विगतले दस्न भने कहिल्यै छोड्दैन ।
नेपाली समाजको भौतिक परिस्थितिमा आएको बदलावसँगै मानवीय र पारिवारिक सम्बन्धका धेरै पहलुमा अनेक थरी परिवर्तन भएका छन् । श्रीमान्–श्रीमती, दाजुभाइ–दिदीबहिनी, छिमेक, आफन्त, मित्रजनसँगका सम्बन्धमा अनेक कोणबाट हजार थरी बदलाव आएका छन् । अनि यो परिवर्तनको बाढीकै मझधारबाट आमाबा र सन्तानबीचको सम्बन्धमा पनि फराकिलो परिवर्तन नेपाली समाजले भोगिरहेको छ । समाजमा आउने हरेक नवीनतालाई वाणी दिने जिम्मेवारी बोकेका लेखक–साहित्यकारले यस्तो विषयमा कलम नचलाई बस्न सक्लान् कसरी ?
रामलाल जोशीको कथासङ्ग्रह ‘बाआमा’ ले समाजको भौतिक परिस्थितिमा आएको परिवर्तनसँगै सन्तान र बाआमाबीचको सम्बन्धमा आएको नवीनतालाई आख्यानिक अभिव्यक्ति दिएको छ । सङ्ग्रहित बाह्र कथामा कथाकारले बाआमा र छोराछोरीबीचको एकनाले सम्बन्धका बहुआयाम केलाएका छन् । कथाहरूमा राजनीतिक द्वन्द्व, विधवा जीवन, बुढेसकालको विरक्ति, बाआमाको ममताको अभावमा लागेको कुलत, दाम्पत्य जीवन, विदेशगमन, सम्बन्ध विच्छेद, गाउँले जीवनप्रतिको मोहजस्ता पारिवारिक र सामाजिक विषय छन् । तर, जुनसुकै विषयको भावभूमिमा लेखिएको भए पनि कथाको मूलतत्व भने आमाबुबाको सन्तानप्रतिको प्रेम नै छ । कथाकारले समाजका धेरै थरी चित्र कोरे पनि प्रयुक्त रङ्ग भने सन्तानप्रेमकै छ । समयको प्रतापमा वशीभूत भएर सन्तानहरू बाआमाप्रति निष्ठुरी बनेका कथा समकालीन नेपाली समाजको तीतो वास्तविकता हो । हिजो गाउँबाट सहर बसेका सन्तानलाई भेट्न आएका आमाबालाई साथीहरूमाझ ‘घरमा काम गर्ने नोकर’ भनी अपमान गरेका कथाले विस्मित भएका नेपाली पाठक आज लाडप्यार गरेर हुर्काएका छोराछोरी विदेश गएपछि फर्केर नआउँदा सन्तापमा दिन काटिरहेका आमाबाका कथाहरू पढेर उस्तै अनुभूति गरिरहेका छन् । ‘छोराको सपना’ एउटै कथाले नेपाली समाजका दुई वास्तविकताको मार्मिक चित्रण गरेको छ । एकातिर नेपाली समाज अझै पनि छोरा नै चाहिने परम्परागत सोचबाट मुक्त हुन नसकेको चित्रण छ भने सँगै त्यसरी सर्वस्व दिएर हुर्काएका छोराहरू विदेश गएर उतै घरगृहस्थी बसाएको घर–घरका पीडा पोखिएको छ । सहस्रधारा दुध र आँसु झारेर हुर्काएका सन्तानहरू आज करियर, शानदार जीवन भन्दै विदेश गएर आमाबा समस्यामा पर्दा कुरा गर्नसमेत फुर्सद नभएको कठोरता आज नेपाली समाजले सामना गरिरहेको कथा हो । तब त ‘आमाबुबाको माया छोराछोरीमाथि, छोराछोरीको माया ढुङ्गामाथि’ नेपाली उखानले अझ बढी सान्दर्भिकता पाएको छ ।
‘छाडिएका भगवान’ उस्तै बान्कीको कथा हो । बुढेसकालको लाठी बन्ला भनेको छोरा डीभी परेर अमेरिका भासिएपछि एक्लो बुबाले गाउँमा बिताइरहेको एकाङ्की जीवनको कथा हो यो । कुनै बेला केटाकेटीको उछलकुँडले जीवन पाएको गाउँमा हिजोआज सबै बुढाबुढीमात्र छन् । छोराछोरी सबै कुनै न कुनै कारण सहर र विदेशमा गएपछि गाउँ उही दैलो र काल कुरेर बस्ने बुढाबुढीको मात्र भएको छ ।
‘नलेखिएको बयान’ लोग्ने स्वास्नीबीचको सम्बन्धमा आउने तिक्तताले सन्तानमा पार्ने प्रभावबारे लेखिएको छ । लोग्ने स्वास्नीको झगडा कति झिनामसिना कुरामा हुने गर्छ भने कतिबेला झगडिँदा झगडिँदै खास कुन विषयमा झगडा भएको कुरा दुवैले बिर्सेका हुन्छन् । तथापि, अहम्को घिरौलाजस्तो नाकले दुवैलाई मसिनो स्वर गर्न रोकेको हुन्छ । अनि तील पहाड बन्छ । त्यस्तै तिक्तता कुरेर बसेका वकिलहरूले त्यसैमा मलजल गर्छन् अनि दुवैतिरबाट रोटी च्यात्दै आफ्नो दुनो सोझ्याउँछन् । तर, यी सबै कुराले ती लोग्ने स्वास्नीका छोराछोरीमाथि कस्तो असर पारिरहेको हुन्छ, हेक्का राखिन्नँ । यो कथामा कानुन, नियम र तर्कको भरमा आफ्ना आमाबुबाको सम्बन्ध भाँच्ने प्रयासको विरोधमा छोराछोरी उभिएको देखाइएको छ । अहम् पग्लिएपछि लोग्ने स्वास्नीको मनमा बाँकी रहने कुरा आपसी प्रेम नै हो । प्रेममा टिकेको हुन्छ परिवार र सन्तानको भविष्य । यसरी भत्किन लागेको एउटा घर सन्तानको प्रयासमा जोडिएको अपवाद यो कथाले देखाउन खोजेको छ ।
‘दाजीको दुःख’ एक जना चिकित्सकको अन्तरकथा हो । हरेक मानिसभित्र कथा हुन्छ । बाहिरबाट ठीकठाक र मुस्कुराइरहने मानिसको पनि भित्र गहिरो कथा हुने प्रभाव यो कथाले दिन खोजेको देखिन्छ । सन्तानप्रेमको नाममा सन्तानमाथि एकोहोरो थोप¥याइले सन्तानले आत्मिक सुख पाउन नसकेको कथा हो यो । कतिपय आमाबुबा आफ्ना अधुरा सपना सन्तानमार्फत पूरा गर्ने धुनमा सन्तानको थाप्लामा अनावश्यक बोझ थोपर्ने गर्छन् । छोराछोरीको चाहना, क्षमता र रुचिको कति पनि ख्याल नगरी ती आमाबा एकोहोरो आफ्ना कुरा लाद्न खोज्दा छोराछोरीले पेशागत सफलता प्राप्त गरे पनि भित्रबाट खुसी हुन नसकेको संसारभरकै सामाजिक वास्तविकता यो कथाले बोलेको छ । यसमा कथाकारले अन्तरजातीय विवाहप्रति नेपाली समाजको जडताबारे केही बोल्न खोजेका छन् ।
‘बौजूको बात’ फरक स्वादको मनोविश्लेषणात्मक कथा हो । यसमा भाउजू र देवरबीचको प्रेमपूर्ण सम्बन्ध र त्यसले परिवारमा निम्त्याएको विखण्डनको चित्रण गरिएको छ । यसमा किशोर मनोविज्ञान केलाउने प्रयास भएको छ । कथासङ्ग्रहमा सङ्ग्रहित कथामध्ये यो कथा बाआमाको सन्तानप्रतिको प्रेमभन्दा फरक कोणको कथा देखिन्छ ।
नेपाली समाजले आमाबापछिको स्थान गुरुलाई दिँदै आएको छ । आमाबाको आराधनापछि नेपाली समाजले गुरुको पुजा गर्छ । त्यसै कारण गुरुलाई पनि बा र आमा शब्द जोडेर सम्बोधन गरिन्छ । कथासङ्ग्रहको एउटा कथा शिष्यको भविष्यको निम्ति एक जना आदर्श गुरुले गरेको समर्पणको प्रसङ्ग छ । बाआमासम्बन्धी कथाहरूको पुुञ्जमा यो कथा समावेश गरिनु गुरु पनि आमाबा सरह नै हुन् भन्ने मान्यताबाट अभिप्रेरित देखिन्छ ।
‘बाबाको माया’ द्वन्द्वकालीन कथा हो । बुबाप्रति छोराको प्रेम र आकर्षणबीच राजनीतिक द्वन्द्वले कसरी त्यसलाई बिथोल्यो भन्ने चित्रण गरिएको यो कथाले युद्धकालमा गुमाएका हजारौँ छोरा र बुबाहरूका वहलाई वाणी दिन सक्छ ।
‘ऐना’ कथासङ्ग्रहको लागि मदन पुरस्कारका विजेता रामलाल जोशीको कृतिमा नेपालको सुदूर पश्चिमको जीवनको महकले नेपाली पाठकलाई मोहित पारेको छ । आञ्चलिकतालाई उपेक्षा गरिने समयको अन्त्य भएको छ । बरु आञ्चलिकतालाई सम्मान गर्नेमात्र होइन, मनपराउने र अपरिहार्य बनाउने समय आएको छ । सुदूरपश्चिमका कथा नेपाली साहित्यमा सीमित मात्रामा आइरहेको अवस्थामा रामलाल जोशीका कथाहरूले नयाँ समय आरम्भको सङ्केत गरेको छ । ‘बाआमा’ का कथाका विषय सर्वव्यापी भए पनि कथामा सुदूरपश्चिमका पहाडी र तराईका चित्रहरूबारे चित्रण गरिएको छ । कथासङ्ग्रहमा विशेषतः सुदूरपश्चिमका पहाडी पात्रहरू हाबी छन् । कतिपय कथामा पात्रले बोल्ने भाषा पनि उतैतिरको सुनिन्छ । विषयवस्तु उही भएर पनि फरक भूगोल र सामाजिक परिवेशको पृष्ठभूमिबाट भन्दा फरक बान्की लिने कुराको उदाहरण ‘बाआमा’ कथासङ्ग्रह हो । बाआमाको सन्तान प्रेम, सन्तानको बाआमाप्रतिको माया यी विषय सर्वव्यापी विषय हुन् । तथापि, सुदूरपश्चिमको माटोमा त्यो सम्बन्धले कस्तो कलेवर धारण ग¥यो, यसको परखको लागि रामलाल जोशीको ‘बाआमा’ को विचरण आवश्यक हुन्छ ।
तथापि, कथासङ्ग्रहका कतिपय कथा भने अनावश्यकरूपमा लम्ब्याइएको भान हुन्छ । शब्दको लहरलाई लम्ब्याउँदा कतिपय कथा मूल विषयबाट पथविचलित भएको पाठकले अनुभव गर्नसक्छन् । सङ्ग्रहको पहिलो कथा ‘बाबाको माया’ को अन्त्य पाठकलाई अस्वाभाविक लाग्न सक्छ । पहिलो कथामा यस्तो अस्वाभाविक चित्रणले पाठकलाई पछाडिका बाँकी कथा छिचोल्ने धैर्य अलगथलग पार्न सक्छ । यद्यपि, सङ्ग्रहका पछाडिका कथाका विषयवस्तुमा त्यस्तो अस्वाभाविकता छैन । सुदूरपश्चिममा आधारित कथा भए पनि यसका पात्र विशेषतः सुदूरपश्चिमका पहाडी जिल्लाका नै मात्र छन् । सुदूरपश्चिमका तराईका जिल्लाका आदिवासी पात्र भने नगण्य छन् । त्यस्ता पात्र हुँदो हो त यसले समग्र सुदूरपश्चिमको प्रतिनिधित्व गर्न अझ बढी काबिल हुने थियो ।
सबै सम्बन्धलाई आर्थिक लेनदेन र फाइदा बेफाइदामा तौलेर हेर्ने आजको समयमा बाआमा र सन्तानबीचको सम्बन्ध पनि कमजोर र स्वार्थमा आधारित बन्दै गएको देखिँदै छ । अखबारमा दैनिक कतै आमाबुबा सन्तानबाट पिरोलिएको र कतै आमाबुबाबाट सन्तान पिरोलिएका खबर पढिरहेका हुन्छौँ । समाजमा नैतिकता र कर्तव्त्न्दा पैसा र भौतिक सुख बलियो भए पछि आमाबुबाको अशक्तताप्रति छोराछोरी बेवास्ता गरिरहेका छन् । कतिपय आमाबुबाले पनि सन्तानलाई आफ्नो स्वार्थअनुकूल प्रयोग गरिरहेको देखिरहेका छौँ । तर, मानव समाजको आरम्भदेखि नै सर्वाधिक पवित्र सम्बन्धलाई विकृत बन्दा समाजका धेरै खम्बा पनि कमजोर हुनेछन् । परिस्थिति बदलिए पनि कतिपय सम्बन्धको आन्तर्य र मूल्यमा भने थिचोमिचो गर्न मिल्दैन । यसले सिङ्गो समाजलाई विघटनको दिशातिर डो¥याउँछ । नेपाली समाजलाई आमाबाप्रतिको कर्तव्यबोध गराउन र आमाबुबा र छोराछोरीबीचको प्रेमको सम्बन्ध अक्षुण्ण राख्न रामलाल जोशीको कथासङ्ग्रहले साहित्यिक माध्यमबाट योगदान गर्नसक्छ । एकै विषयमा कथाहरू एकै सङ्ग्रहमा पढ्न पाउनु नेपाली पाठकको लागि खुसीको कुरा हो । आवरणले मात्र पनि पाठकलाई यो पवित्र सम्बन्धप्रतिको आफ्नो दायित्व अनुभव गराउन मनग्य छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *