भर्खरै :

क्युवामा पारिवारिक संहिताबारे जनमतसङ्ग्रह परिवारको नयाँ क्रान्तिकारी परिभाषा गरियो

क्युवामा पारिवारिक संहिताबारे जनमतसङ्ग्रह परिवारको नयाँ क्रान्तिकारी परिभाषा गरियो

काठमाडौँ, १० असोज । क्यारिबियाली टापु देशको रूपमा रहेको समाजवादी देश क्युवामा आइतबार जनमतसङ्ग्रह गरिएको छ । उक्त जनमतसङ्ग्रहमा मौसमको प्रतिकूलता हुँदाहुँदै ६९ प्रतिशत मतदाताले मतदान गरेको ग्रान्मा इन्टरनेसनलले जनाएको छ । जनमत सङ्ग्रहभन्दा अगाडि ८४ लाख २५ हजार १४७ मतदाताले मतदाता नामावलीमा नाम दर्ता गराएकोमा ५८ लाख ६ हजार ७७८ जना मतदाताले भाग लिएका थिए भने ७ लाख ५६ हजार ९६६ मतदाताले जनमतसङ्ग्रहमा भाग नलिएको देखिएको छ । मतदानमा भाग नलिएका मतदातामा हालै मृत्यु भएका, अति अशक्त र बिरामी अवस्थामा रहेका, रोजगार र काम विशेषले विदेशमा रहेका र केही भने आफ्नो मतले परिणाममा केही फरक नपार्ने धारणा राख्नेहरू परेको बताइएको छ । परिवार संहिता वा देवानी कानुनका बारेमा जनमतसङ्ग्रह गरिएको संसारमै सम्भवतः पहिलो घटना हो ।
जनमतसङ्ग्रह अगाडि प्रस्तावित पारिवारिक संहिताको मस्यौदामाथि व्यापक छलफल, सुझाव सङ्कलन र सुझावअनुसार संहिता परिमार्जन गरिएको हुनाले अत्यधिक प्रतिशतले संहिताको पक्षमा मतदान गर्ने अपेक्षा गरिएको छ ।
आइतबार बिहानै हवानाको प्लाया नगरपालिकाको सिबोनी जिल्लास्थित निर्वाचन क्षेत्र नं. ६० को मतदान केन्द्र नम्बर २ बाट क्युवाली क्रान्तिका नायक तथा क्युवाका पूर्वराष्ट्रपति आर्मी जनरल राउल क्याष्ट्रो रुजले मतदान गर्नुभयो । उहाँ आफ्नो परिवारका सदस्यहरूका साथ मतदान गर्न पुग्नुभएको थियो । मतदान केन्द्रमा उहाँलाई मतदान केन्द्र प्रमुख रेबेका लोपेज रेटनले स्वागत गर्नुभएको थियो ।
त्यस्तै क्युवाली राष्ट्रपति तथा क्युवाली कम्युनिस्ट पार्टीका प्रथम सचिव मिग्वेल डियाज कानेल बर्मुडेजले हवानाको प्लाया नगरपालिकाकै निर्वाचन क्षेत्र नं. ५७ को ३ नम्बर मतदान केन्द्रमा गई मतदान गर्नुभयो । उक्त अवसरमा सञ्चारकर्मीहरूसित कुराकानी गर्दै राष्ट्रपति कानेलले जनमतसङ्ग्रहमा मतदान स्वेच्छिकमात्र रहेको र यस्तोमा यति ठूलो प्रतिशतले मतदान गर्नुले क्रान्तिको प्रक्रियाप्रतिको आस्था र प्रस्तावित परिवार संहितामाथि जनताको चासोलाई दर्शाएको बताउनुभयो ।
“मेरो आशा छ, बहुमत जनताले हुन्छ भन्ने पक्षमा मतदान गरेका छन् र छिट्टै क्युवामा नयाँ परिवार संहिता लागू हुनेछ । यदि हुँदैन भन्ने पक्षमा बहुमत आयो भने संहिताको मस्यौदालाई थप छलफल र सुझावका लागि जनतामाझ लगिनेछ”, क्युवाली कम्युनिस्ट पार्टीका नेता कानेलले स्पष्ट पार्नुभयो ।
यसै वर्षको फेब्रुअरी १ का दिन क्युवाली सरकारले देशको नयाँ संविधानअनुकूल हुने गरी नयाँ परिवार संहिताको मस्यौदा थालनी गरेको थियो । नयाँ संहिताले परिवारको परिभाषामा केही परिवतन गर्नेछ । बालबालिका, लैङ्गिक अल्पसङ्ख्यक र समुदायको निम्ति अनुकूल परिभाषा हुनेछ । नयाँ संहिताको मस्यौदा कार्यमा ६० लाखभन्दा बढी क्युवालीहरू प्रत्यक्ष र परोक्षरूपमा सामेल भएका थिए । नयाँ परिवार संहितामाथिको छलफलका लागि क्युवाभर ७९ हजारभन्दा बढी ठूला र साना बैठकहरू भएका थिए ।
क्युवाको चालु परिवार संहितामा समलैङ्गिक विवाह गरेका जोडीलाई मान्यताको व्यवस्था थिएन र परिवार अनेकौँ स्वरूपबारे स्पष्ट व्यवस्था थिएन । नयाँ परिवार संहिताले समाजको सोचाइ र समयको मागअनुसारको न्यायोचित प्रावधानहरूको स्पष्ट व्यवस्था गरेको छ । बालबालिकाको हित र अधिकारसम्बन्धी व्यवस्थामा कसैले पनि खुलस्त असहमति नराखे पनि क्युवाका धार्मिक र रुढीवादी समुदायले भने समलैङ्गिक विवाह, गर्भपतनको अधिकार र सहजै सम्बन्ध विच्छेदको व्यवस्थाप्रति असहमति राख्दै आएको छ । नयाँ परिवारसंहितामा भएको बालबालिका, किशोरकिशोरी र वयस्कहरूको छुट्टाछुट्टै कर्तव्य र जिम्मेवारीको व्यवस्था भने बहुमत क्युवाली जनताको सुझावअनुसार नै आएको हो ।
गएको मे १५ का दिन नै राष्ट्रिय निर्वाचन परिषद्ले संहिताको समावेशी सार प्रकाशित गर्दै सेप्टेम्बर २५ का दिन जनमतसङ्ग्रह गर्ने घोषणा गरेको थियो । त्यसअघि क्युवाली संसद् जनसत्ताको राष्ट्रिय सभाले क्युवाको नयाँ संविधानअनुकूल रहे–नरहेको रुजु गर्नुका साथै जनतामाझको छलफलबाट आएका सुझावहरू समावेश गरी संहिताको मस्यौदालाई परिमार्जन गरेको थियो ।
क्युवाको परिवार संहितालाई समाजवादी गणतन्त्र क्युवाको नयाँ संविधान–२०१९ अनुकूल बनाउन गत वर्षको उत्तराद्र्धमै समिति बनेको थियो । क्युवाका न्यायमन्त्री ओस्कार सिल्भेरा मार्टिनेजका अनुसार यो सिर्जनात्मक र ऐतिहासिक दस्तावेजको मस्यौदा गर्नु चुनौतीपूर्ण कार्य रह्यो । एकातिर यसले क्युवाको नयाँ परिवेशअनुसार न्यायको व्यवस्था गर्नु थियो भने अर्कोतिर सहमति निर्माण र लामो समयपछिसम्मको सम्भावित परिणामबारे पनि विचार गर्नु थियो ।
परिवारको नयाँ परिभाषालाई मान्यता प्रदान गर्दै प्रस्तावित नयाँ परिवार संहिताको दफा ८१ मा भनिएको छ, “राज्यले सबै परिवारहरूलाई मान्यता प्रदान र संरक्षण गर्नेछ, चाहे ती परिवार कुनै पनि विधिबाट सङ्गठित भएको होस् । परिवारलाई समाजको एक आधारभूत एकाइको रूपमा लिइनेछ र समग्रमा तिनीहरूको सही उद्देश्य पूर्तिलाई सुनिश्चित गर्ने अवस्था निर्माण गरिनेछ ।
क्युवाको आवधिक निर्वाचनहरू र संविधान तथा संहितामाथिको जनमतसङ्ग्रहले समाजवादी व्यवस्था जनमतअनुसार चल्ने सबैभन्दा राम्रो प्रजातन्त्र हो भनी सिद्ध गरेको छ । जनमतसङ्ग्रहको मतगणना सरोकारवाला सबै पक्षको सहभागितामा गरिने र शीघ्रभन्दा शीघ्र मत परिणाम बाहिर ल्याउने प्रयास गरिने क्युवाली राष्ट्रिय निर्वाचन परिषद्का अध्यक्ष अलिना बाल्सेरो गुटिरेजले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *