भर्खरै :

शिक्षकहरूले शिक्षण विधिलाई प्रभावकारी बनाउनुपर्ने

शिक्षकहरूले शिक्षण विधिलाई प्रभावकारी बनाउनुपर्ने

भक्तपुर, १० असोज । नेपाल क्रान्तिकारी शिक्षक सङ्घको आयोजनामा सोमबार शिक्षक भेला भयो ।
भेलामा नेपाल मजदुर किसान पार्टी भक्तपुर जिल्ला समितिका अध्यक्ष सुरेन्द्रराज गोसाईले परवर्तित समयअनुसार शिक्षकहरूले आफूलाई नयाँ नयाँ प्राविधिक ज्ञानका साथ सक्षम बनाउँदै जानुपर्नेमा जोड दिनुभयो ।
प्रविधिको द्रुततर विकासले गर्दा शिक्षक विद्यार्थीभन्दा पछि पर्दै गएको तर्फ शिक्षकहरू सचेत हुनुपर्ने आवश्यकता औँल्याउँदै उहाँले शिक्षकहरूले आफ्नो अध्ययनको घेरा बढाएर शिक्षण विधिलाई प्रभावकारी बनाउनुपर्छ भन्नुभयो ।
रचनात्मक कामले जीवनमा नयाँ नयाँ ऊर्जा थप्ने विश्वास व्यक्त गर्दै उहाँले देशविदेशका घटना र आन्दोलनबारे सुसूचित हुनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
नेक्राशिसङ्घका केन्द्रीय अध्यक्ष ज्ञानसागर प्रजापतिले विचारले नै मानिसलाई युवा र क्रान्तिकारी बनाउने विचार व्यक्त गर्दै शिक्षकहरूले देश र जनताको लागि दिएको योगदान कहिल्यै खेर नजाने बताउनुभयो ।
शिक्षकहरूमा सिद्धान्तप्रति निष्ठा, प्रतिबद्धता, काम र सेवामा त्यागको भावना हुनुपर्नेमा जोड दिँदै उहाँले यस्तो सेवाले गलत मानिसको अगाडि कहिल्यै झुक्न नपर्ने बताउनुभयो ।
भेलामा नेक्राशिसङ्घ जिल्ला समिति भक्तपुरका अध्यक्ष जगनाथ सुजखूले लोकतान्त्रिक गणतन्त्र स्थापना भएको डेढ दशक बितिसक्दा पनि शिक्षकहरूका समस्या समाधान नभएको बताउँदै शिक्षकहरूको एकता र सङ्घर्षको विकल्प नभएको बताउनुभयो ।
नेक्राशिसङ्घ नगर समिति भक्तपुरका अध्यक्ष गणेशराम थुसाले एउटै पेशाका शिक्षकहरूलाई समेत सरकारले विभिन्न कोटामा विभाजन गरेर शिक्षकहरूमाथि अन्याय गरिरहेको विचार व्यक्त गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *