लोकतन्त्र भनेको ‘एल्गोरिदमतन्त्र’ होइन, न त ‘मिदासतन्त्र’ नै हो !
- बैशाख २८, २०८३
भूमिकाको बाँकी अंश
सन् १९९१ को मे महीनामा क्युवाली क्रान्तिकारी सशस्त्र सेनासँग सम्बद्ध मन्त्रालयका मन्त्री राउल क्यास्ट्रोले अङ्गोलाबाट फर्केका क्युवाली स्वयम्सेवक लडाकूहरूको अन्तिम दस्तालाई क्युवामा स्वागत गर्नुभयो । क्युवाली जनतालाई उहाँले भन्नुभयो, “जब हामी कुनै नयाँ र अनपेक्षित चुनौति सामना गर्नेर्छौँ, सहृदयताका साथ हामीले सधैँ अङ्गोलाको गौरवको स्मरण गर्नेछौँ । किनभने इतिहासमा अङ्गोलाको खण्ड निकाल्ने हो भने हामी आज जति शक्तिशाली छौँ, त्यत्ति हुन सक्दैनथ्यौँ ।”
उहाँका यी शब्दभित्र सत्यको परीक्षण केही समयपश्चात् नै भयो । सन् १९८९ देखि १९९१ को बीचमा सोभियत सङ्घ र उससँग मिलेका पूर्वी र मध्य युरोपका सत्ताहरू एकपछि अर्को ढले । झन्डै ८५ प्रतिशत क्युवाको वैदेशिक व्यापार रातारात सखाप भयो । त्यसको सिधा प्रभाव कृषि तथा औद्योगिक उत्पादन, यातायात, विद्युत् उत्पादन र अन्य धेरै क्षेत्रमा प¥यो । क्युवाली क्रान्तिले इतिहासकै सबभन्दा जब्बर आर्थिक तथा राजनीतिक सङ्कटको सामना गर्नुप¥यो । संसारभरका क्रान्तिका शत्रुहरू हवानामा फेरि पनि विजयको झण्डा गाड्ने अपेक्षासहित तयारीमा झोला कस्न थाले ।
अफ्रिकामा गौरवपूर्व लडाइँ लडेर फर्केका लाखौँ क्युवालीहरूले त्यहाँ पुँजीवादी शोषण र साम्राज्यवादी उत्पीडनको खास अनुहार अझ नजिकबाट नियालेर फर्के । राउल क्यास्ट्रोका शब्दमा क्युवाली कामदार जनताले ‘आफू के कति सफलता हासिल गर्न सक्छन् भन्ने कुरा अझ बुझ्ने भए ।’
तर, अन्तिम विजय भने फेरि पनि क्युवाली कामदार जनताको सिर्जनशीलता र चनाखोपनाको भयो । उत्पादन कर्म र क्युवाली क्रान्तिको रक्षाको निम्ति क्युवाली कामदार जनता सबैखाले प्रतिकूलताको सामना गर्न एकगठ भए । त्यतिबेलाको प्रतिकूल परिस्थितिमाथि क्युवाली कामदार जनताले प्राप्त गरेको विजयका धेरै कारणमध्ये एउटा कारण वर्षौँ वर्षको अङ्गोला मिसनमा सर्वहारा वर्गले बनाएको आत्मविश्वास पनि थियो । सन् १९८०–दसकको उत्तर्राद्धमा क्युवामा आवास, विद्यालय, स्वास्थ्य चौकी, शिशुशाला र अन्य सामाजिक पूर्वाधार बनाउन स्वयम्सेवा गर्ने व्यापक सामाजिक परिचालनले पनि त्यो विजय सम्भव भएको थियो ।
अफ्रिकामा गौरवपूर्व लडाइँ लडेर फर्केका लाखौँ क्युवालीहरूले त्यहाँ पुँजीवादी शोषण र साम्राज्यवादी उत्पीडनको खास अनुहार अझ नजिकबाट नियालेर फर्के । राउल क्यास्ट्रोका शब्दमा क्युवाली कामदार जनताले ‘आफू के कति सफलता हासिल गर्न सक्छन् भन्ने कुरा अझ बुझ्ने भए ।’
अङ्गोला मिसनको क्रममा क्युवाका नयाँ पुस्ताले हासिल गरेको राजनीतिक शिक्षा र जुझारु नेतृत्व अनुभव संसारभर पाँच क्युवाली भनी चिनिएका क्युवाली क्रान्तिकारीले बनाएको उदाहरणबाट भन्दा अझ उत्तम ढङ्गले उजागर हुन सक्दैन ।
क्युवा र संरा अमेरिकाका विभिन्न केन्द्रमा हमला गर्ने योजना बनाएका क्युवाली प्रतिक्रान्तिकारी सङ्गठनहरूका गतिविधिमाथि निगरानी राख्न खटिएका पाँच क्युवालीहरू सन् १९९८ मा फ्लोरिडाबाट पक्राउ गरे । संरा अमेरिकाको तत्कालीन क्लिन्टन सरकारले गुप्तचरी र अझ हत्या गरेकोसम्म कपोलकल्पित आरोप थोपरेर पाँच जनालाई जेल सजाय गरेको थियो । उनीहरू हरेकलाई कम्तीमा सो¥ह वर्ष जेलमा थुन्ने कडा सजाय सुनाइयो । आज उनीहरू पाँचै जनालाई रिहा गरिएको छ । सन् २०१४ को डिसेम्बर १७ मा बाँकी तीन जनालाई पनि कैदमुक्त गरियो र सबै जना क्युवा फर्के । उनीहरू पाँचै जनाको चनाखो व्यवहार, क्युवा सरकारको अथक पहल र कठिनतम अन्तर्राष्ट्रिय ऐक्यबद्धता अभियानको बलमा उनीहरूको रिहाइ सम्भव भएको थियो ।
पाँच क्युवालीमध्ये तीन जना– गेर्राडो हर्नान्डेज, फर्नान्डो गोञ्जालेज र रेने गोञ्जालेजले अङ्गोला मिसनमा काम गरेका थिए । अङ्गोला मिसनमा उनीहरूको अनुभव पाथफाइन्डर प्रकाशनले प्रकाशन गरेको ‘क्युवा र अङ्गोला–अफ्रिका र आफ्नै स्वतन्त्रताको लागि गरिएको सङ्घर्ष’ पुस्तकमा प्रकाशित छन् । उनीहरू हरेकले पटक–पटक सुनाएअनुसार अङ्गोलाको अन्तर्राष्ट्रवादी सैनिक मिसनमा सामेल भएको त्यो समयले उनीहरूको जीवनको दिशा परिवर्तन ग¥यो । लामो कारावास जीवनको क्रममा उनीहरूले अङ्गोला मिसनबाट लगातार शक्ति प्राप्त गरेको अनुभव सुनाएका छन् ।
…..
ह्यारी भिल्लेगसले लेखेको पुस्तक ‘क्युवा र अङ्गोलाः स्वतन्त्रताको लागि युद्ध’ कुनै सैनिक संस्मरण होइन । त्यत्तिबेला भएका धेरै सैनिक भिडन्तमध्ये कानगाम्बा र कुइटो क्वानाभालेको हमला र निर्णायक लडाइँको यो पुस्तकमा प्रत्यक्षदर्शी बयान छ । तथापि, यसको महत्व भने यसले सम्प्रेषण गरेको राजनीतिक शिक्षामा निहीत छ । पुस्तकका लेखक पोम्बोले त्यस्ता सबै राजनीतिक शिक्षा मुख्य नेता फिडेल क्यास्ट्रोबाट सिकेको प्रस्ट शब्दमा व्यक्त गरेका छन् । मिसनको क्रममा पोम्बोले प्रमुख नेता फिडेल क्यास्ट्रोसँग आधा दशकभन्दा लामो समय सँगै काम गरेका थिए ।
जनरल ह्यारी भिल्लेगसले अङ्गोलामा तीन चरणमा सेवा गरेका थिए । पहिलो, सन् १९७७ देखि १९७९ सम्म । उनी त्यत्तिबेला उत्तरी क्षेत्रको मोटर सुसज्जित टुकडीका प्रमुख थिए । जायरियाली सेनाको साथ पाएको होल्डेन रोबर्टोको एफएनएलएविरुद्ध त्यो क्युवाली टोलीले अङ्गोलाको सेनासँग मिलेर लडेको थियो ।
उनले दोस्रोपटक सन् १९८१ देखि १९८८ सम्म अङ्गोला मिसनमा काम गरे । त्यो समयावधिमा उनी अङ्गोलास्थित क्युवाली कमान्डको मुख्यालय र फिडेल क्यास्ट्रो नेतृत्वको क्युवाली क्रान्तिकारी सशस्त्र सेनाको विशेष कमान्ड शिविरबीच सम्पर्क अधिकारीको भूमिका खेलेका थिए । त्यो जिम्मेवारीमा पोम्बोले आफू त्यत्तिबेला हवानाको केन्द्रीय कमान्डाका आँखा र कान भएको बताएका छन् । अङ्गोलाका सबै महत्वपूर्ण विकासक्रमको वस्तुगत र सही साँचो खबर हवानाका सैनिक अधिकारीसमक्ष पु¥याउन र युद्ध मैदानका मिसन प्रमुखलाई चुस्त सूचना पु¥याउन उनी धेरै पटक दुई देशमा ओहोरदोहोर गरे ।
सन् १९८८ को डिसेम्बरमा शान्ति सम्झौता भएपछि भिल्लेगस क्युवाली मिसनको प्रमुखकै रूपमा अङ्गोलामा बसेर क्युवाली लडाकू फर्काउने योजना निर्माणमा भूमिका निभाए । सन् १९९० मा क्युवा फर्केपछि उनले क्युवाको पश्चिमी सेनाका राजनीतिक शाखाको नेतृत्व गरे । अनि सक्रिय जिम्मेवारीबाट मुक्त नहुञ्जेल क्रान्तिकारी सशस्त्र सेनाको मुख्यालयको दैनिक कार्यसञ्चालन निर्देशनालयको सदस्य भएर काम गरे ।
यिनै अनुभवमा आधारित भिल्लेगसको समृद्ध संस्मरण सबभन्दा पहिला क्रान्तिकारी सङ्घर्षका नयाँ पुस्ताको राजनीतिक शिक्षादिक्षाप्रति लक्षित छ ।
…..
– ‘क्युवा र अङ्गोलाः स्वतन्त्रताको लागि युद्ध’ सन् २००९ देखि २०१६ सम्म ह्यारी भिल्लेगससँग लिइएको धेरै पटकको अन्तरवार्ताको फल हो । हरेक नयाँ बसाइले अघिल्लो बसाइमा भएका कुराकानीलाई अझ प्रस्ट र छरितो बनाउँथ्यो । यही समयमा क्युवाका विभिन्न पत्रपत्रिका जस्तै भेर्दा ओलिभो, इडिटोरा पोलिटिका आदिमा अङ्गोला मिसनबारे दर्जनौँ संस्मरण प्रकाशित भएका थिए ।
अङ्गोलामा लडेकाहरूको संस्मरणहरूमा क्रान्तिकारी सशस्त्र सेना (एफएआर) का उपमन्त्री जनरल रामोस इस्पिनोसा, अङ्गोलामा दुई पटक मिसन प्रमुख बनेका जनरल राउल टोमासेविच, उनका प्रशासनिक सहयोगी लेफ्टिनेन्ट कर्णेल जोसे गार्सिगा र लेफ्टिनेन्ट कर्णेल जोर्ज मार्टिन ब्लानडिनो आदि हुन् । यी र यहाँ उल्लेख गर्दा निकै लामो हुने धेरै संस्मरणले राजनीतिक र सैनिक घटनाक्रमबारे बुझ्न र नाम, मिति तथा अन्य तथ्यको पुस्ट्याइँको लागि अपरिहार्य भएकोमा कुनै विवाद छैन ।
सन् २०१३ मा संरा अमेरिकामा र सन् २०१५ मा क्युवामा प्रकाशित पिएरो ग्लिजेसिसले लेखेको ‘स्वतन्त्रताको अवधारणाः हवाना, वाशिंटन, प्रिटोरिका र दक्षिणी अफ्रिकाको लागि सङ्घर्ष, १९७६–१९९१’ बहुमूल्य सूचनाको लागि अतिरिक्त स्रोत बन्यो ।
यो कृतिलाई पूर्णता दिन पोम्बोसँग अन्तरवार्ता लिनेलगायत काम गरेका पाथफाइन्डरका सम्पादकहरू मार्टिन कोपेल, रोगर कलेरो र म पोम्बोसहित सबैप्रति सहृदयी सहयोगको निम्ति आभारी छौँ । सम्पादकीय सहयोगको लागि इराइदा एगुइरेचु र जोसे गार्सिगाप्रति आभार व्यक्त गर्न चाहन्छौँ । साथै पुस्तकमा प्रकाशित तस्बिर उपलब्ध गराई सहयोग गरेका भेर्दा ओलिभो प्रकाशन गृह, कासा इडिटोरा अब्रिल र ग्रान्मा समाचारपत्रप्रति हामी आभारी छौँ ।
‘क्युवा र अङ्गोला–स्वतन्त्रताको लागि युद्ध’ आज र भविष्यका क्रान्तिकारी लडाकूहरूप्रति समर्पित छ । यो पुस्तकले भविष्यका सङ्घर्षमा योगदान गर्ने कुरामा हामी विश्वस्त छौँ ।
डिसेम्बर २०१६
अफ्रिकामा हाम्रो अन्तर्राष्ट्रवाद क्युवाली क्रान्तिसँगै जन्मेको थियो
मेरी एलिस वाटर्स : सन् १९९१ को २६ जुलाइमा क्युवाको मातान्जास सहरमा आयोजित जनप्रदर्शनमा दक्षिण अफ्रिकी स्वतन्त्रता सङ्घर्षका नेता नेल्सन मन्डेलाले क्युवाली जनताप्रति सम्मान प्रकट गर्नुभयो । श्वेत सर्वोच्चतावादी रङ्गभेदी शासनको कारागारभित्र झन्डै सत्ताइस वर्ष कैद सजाय भोगिसकेपछि मन्डेला एक वर्षअघि मात्र कारागार मुक्त भएका थिए । मातान्जासमा भेला भएका दसौँ हजार क्युवाली जनता र संसारसमक्ष मन्डेलाले बोल्नुभएका केही अनुच्छेदबाट म आफ्नो कुरा सुरु गर्न चाहन्छु :
“क्युवाले अङ्गोलामा ठूलो सङ्ख्यामा अन्तर्राष्ट्रवादी लडाकू पठाएर सहयोग गरेको खबर मैले जेलभित्र सुनेको थिएँ । सन् १९७५ मा दक्षिण अफ्रिका, संरा अमेरिकी केन्द्रीय गुप्तचर विभाग सीआईएले पोसेका एफएनएलए, युनिटा र जायरका सेनाले अङ्गोलाका जनतामाथि हमला हुँदा क्युवाले अङ्गोलालाई गरेको ठूलो सहायता कतिलाई पत्याउन पनि गाह्रो थियो ।
हाम्रो भूमि आफूले चाहेजस्तो नक्साङ्कन गर्ने र हाम्रो सार्वभौमिकतालाई कमजोर बनाउन खोज्ने देशहरूका शिकार बन्न हामी अफ्रिकामा अभ्यस्त भइसकेका छौँ । हामीमध्ये कसैको रक्षाको लागि कोही अर्को देशका जनता उठ्नु अफ्रिकाको इतिहासमा अपवाद मात्र हो ।
क्युवामा भने यो ज्यादै जनप्रिय काम हो भन्ने कुरा हामीलाई थाहा छ । हामीलाई अङ्गोलामा लडेका र वीरगति प्राप्त गरेका क्युवालीहरू स्वयम्सेवा गरेका धेरै सङ्ख्याको सानो हिस्सा मात्र हो भन्नेमा हामी जानकार छौँ । क्युवालीहरूका लागि अन्तर्राष्ट्रवाद शब्द मात्र होइन, बरु मानव जातिको व्यापक हिस्साको हितमा गरिने योगदान हो ।”

पोम्बो, तपाईँ सन् १९७५ देखि सन् १९९१ सम्म सोह्र वर्ष त्यो ऐतिहासिक कार्यको नेतृत्व गर्ने क्युवालीहरूमध्ये एकजना हुनुहुन्छ । ती वर्षहरूमा चार लाखभन्दा बढी क्युवाली छोराछोरी अन्तर्राष्ट्रवादी स्वयम्सेवकको रूपमा अङ्गोलामा गए । उनीहरूले श्वेत सर्वोच्चतावादी शासनका सेनाबाट अङ्गोलाको जनताको सार्वभौमिकता जोगाउन मात्र मद्दत गरेनन् । उनीहरूले नामिबियाका जनतालाई दक्षिण अफ्रिकाबाट स्वाधीन हुन पनि सहयोग गरे । अनि क्युवालीहरूका यस्ता गतिविधिले दक्षिण अफ्रिकी जनतालाई रङ्गभेदी शासन अन्त्य गर्न जनताको क्रान्तिकारी सङ्घर्ष उठाउन टेवा पु¥यायो ।
सारमा, सन् १९९१ मा मातान्जसमा नेल्सन मन्डेलाले घोषणा गरेजस्तै क्युवाली ऐक्यबद्धताबाट प्राप्त विजयको कारण अफ्रिका र संसारकै इतिहासको दिशा बद्लियो । तर, आज संरा अमेरिकाका कामदार जनता र युवाहरूलाई यो इतिहासबारे कमै मात्र जानकारी छ । अफ्रिकाका धेरै युवा पुस्ता यसबारे ज्यादै न्यून जानकारी छ । क्युवामा पनि स्मृति क्रमशः धमिलिँदैछ ।
अङ्गोलाको मुक्ति सङ्घर्षमा क्युवा कसरी सहभागी बन्यो ?
ह्यारी भिल्लेगस : हामीले अङ्गोलामा गएको क्युवाली मिसनलाई बृहत् ढाँचामा राखेर हेर्न जरुरी छ । फिडेलले भन्नुभएजस्तै अन्तर्राष्ट्रवाद हाम्रो लागि मानवताप्रति हामीले चुक्ता गर्ने ऋण हो । क्युवाका हामी धेरैजना अफ्रिकी मूलका छौँ । दासताको विरोध र स्वाधीनताको निम्ति क्युवाली जनताको सङ्घर्षमा हजारौँ अफ्रिकी र तिनका सन्ततिले योगदान गरेका छन् ।
अफ्रिकामा क्युवाली अन्तर्राष्ट्रवादको सुरुआत क्युवाली क्रान्तिका सुरुआती वर्षमा भएको थियो । त्यसको सुरुआत अल्जेरियाबाट भएको थियो । सन् १९६१ मा अल्जेरियाली जनता फ्रान्सबाट स्वाधीन बन्न लडिरहेका थिए । क्युवाले अल्जेरियाली जनतालाई हतियार पठाएको थियो ।
सन् १९६२ मा अल्जेरिया मुक्त भयो । त्यसपछि क्युवाले सबभन्दा पहिला त्यहाँ स्वयम्सेवी चिकित्सक र अरू स्वास्थ्यकर्मी पठायो । सन् १९६३ मा । त्यही वर्ष संरा अमेरिकाले साथ दिएको मोरोक्को सरकारले अल्जेरियामाथि हमला ग¥यो । क्युवाले नवगठित स्वाधीन सरकारको रक्षा गर्न सिपाहीँ र हातहतियार पठायौँ । त्यहाँ हामीले लड्नुपरेन । हाम्रो रणनीतिक मोरोक्को हमला रोक्न तैथान हुनु मात्र थियो । अल्जेरियामा क्युवालीहरू भएको थाहा भएपछि उनीहरू फर्के । समयान्तरमा हामी पनि अल्जेरियाबाट फर्कियौँ । तर, हामीले अल्जेरियाली जनताको रक्षाको लागि हाम्रा ट्याङ्क त्यहीँ छोड्यौँ ।
कङ्गो मिसन, सन् १९६५
वाटर्स : अङ्गोलामा क्युवाको अन्तर्राष्ट्रवादी मिसन जानु दस वर्षअघि क्रान्तिकारी नेता चे ग्वेभाराले कङ्गोमा साम्राज्यवादको कठपुतली शासनसँग लड्ने त्यहाँका स्वाधीनता सङ्ग्रामी शक्तिलाई मद्दतको लागि १२८ जना क्युवाली लडाकूहरूसहित पूर्वी कङ्गो पुगेका थिए । (अफ्रिकाका दुई आपसका छिमेकी देशहरूको ऐतिहासिक नाम एउटै थियो, कङ्गो । औपचारिकरूपमा गणतन्त्र कङ्गो भनिने कङ्गो ब्राज्जाभिल्ले सन् १९६० मा फ्रान्सबाट उपनिवेशमुक्त भयो । अर्को कङ्गो जसको नाम सन् १९७१ देखि १९९७ सम्म जायर र अहिले प्रजातान्त्रिक गणतन्त्र कङ्गो हो, सन् १९६० मा बेल्जियमबाट स्वाधीन भयो ।) कङ्गो पुग्ने र लडाकको रूपमा काम गर्ने क्युवालीहरूमध्ये एक जना तपाईँ पनि हुनुहुन्छ ।
भिल्लेगस : सन् १९६५ को सुरुआतमा अफ्रिकाका विभिन्न देशको भ्रमण गर्ने क्रममा तान्जानियाको डार–इए–सलामको भ्रमण गर्नुभयो । त्यहाँ उहाँको भेट कङ्गोको क्रान्तिकारी आन्दोलनका नेताहरूसँग भयो । त्यहाँ कङ्गोको आन्दोलनलाई मद्दत गर्न प्रशिक्षकहरू पठाउने सहमति भयो । चेले त्यो दस्ताको नेतृत्व गर्नुभयो । सन् १९६५ को अप्रिलदेखि नोभेम्बर महिनासम्म धेरै महिना चे ग्वेभारा आफैँ त्यो फौजसँगसँगै रहेर लड्नुभयो ।
केही साताअघि चेले कङ्गो ब्राज्जाभिल्लेको भ्रमण गर्नुभएको थियो । त्यहाँ उहाँको भेट अङ्गोला मुक्ति जनमोर्चा–एमपीएलएका अगस्टिनो नेटोलगायतका नेताहरूसँग भयो । त्यत्तिबेलासम्म अङ्गोला पोर्चुगलकै उपनिवेश थियो । त्यहाँ एमपीएलएका लडाकूहरूलाई सैनिक तालिम दिएर अङ्गोलाको स्वाधीनता सङ्घर्षमा मद्दत गर्ने सहमति भयो ।
अन्तर्राष्ट्रवादी हुनु
मानवताप्रति हाम्रो ऋण तिर्नु हो
–फिडेल क्यास्ट्रो
क्युवाजस्तो सानो देशले अङ्गोलामा सहायता गर्ने जस्तो अन्तर्राष्ट्रिय मिसन पठाएको देखेर संरा अमेरिकाका कति रात अनिँदो बितेको हुनुपर्छ । क्यारिबियाको त्यो एउटा सानो देशले अफ्रिकाको भगिनी देशलाई सहायता गर्नु उनीहरूको कल्पनाभन्दा परको विषय हो ।
अफ्रिकी जनता के सोच्छन्, हामीलाई थाहा छ । अनि संरा अमेरिकाको निम्ति यो ठूलो समस्याको विषय बनेको छ । अफ्रिकाका जनता संरा अमेरिकालाई रङ्गभेदको साथी र रङ्गभेदको अस्तित्व जोगाउनमा जिम्मेवार ठान्ने गरेका छन् ।
अफ्रिका वा अङ्गोलामा क्युवाको कुनै आर्थिक स्वार्थ छैन । हामी त्यहाँका जनताप्रति आफ्नो दायित्व मात्र पुरा गरिरहेका छौँ ।
हामीले पहिला पनि भने जस्तै अन्तर्राष्ट्रवादी हुनु भनेको मानवताको ऋण चुक्ता गर्नु हो । अरूको लागि लागि लड्न नसक्नेहरू आफ्नै निम्ति पनि लड्न सक्दैनन् ।
सन् १९८८, ५ डिसेम्बर
नेपाली अनुवादः नीरज
Leave a Reply