भर्खरै :

पद र पैसाको निम्ति बाझाबाझ !

देशको राजनीति जसरी भए पनि जित्नैपर्ने र जसरी भए पनि सरकारको नेतृत्व गर्नैपर्ने या सरकारमा सामेल हुनैपर्नेमा केन्द्रित भएको छ । यसैको निम्ति यहाँ सत्तासीन दल र अन्य ठूला दलहरू कुनै गठबन्धनमा जोड दिँदै छन् भने कुनै तालमेलमा केन्द्रित छन् । यही गठबन्धनकै कारण या दलले आफ्ना नेताहरूलाई सीट बाँडफाँड गर्न नसक्दा पार्टीभित्र नेताहरूमा असन्तोष बढेको हो । तिनै दलका नेताहरूले आफ्नो दलभित्र असन्तोषको कुरा पोख्दै छन्, विद्रोही उम्मेदवारी उठाउने र पार्टी छोड्ने धम्की दिँदै छन् । सांसद पदको निम्ति दलका नेताहरूलाई धम्की दिनु या विद्रोही उम्मेदवारी दिनु राम्रो सङ्केत होइन । यसले थाहा हुन्छ, सत्तासीन दलका नेताहरू पद र पैसाका निम्ति बाझाबाझ गर्छन् । यो सिद्धान्त र विचारको राजनीति नगर्दाको परिणाम हो । यो राजनीतिक दल देश र जनताप्रति समर्पित नहुँदाको परिणाम हो ।
आफूले गरिरहेको राजनीति विधि या प्रक्रिया गलत हुँदाहुँदै ती नेताहरू सच्चिन या गलत कार्य सुधार्न किन अघि बढ्दैनन् ? राजनीति देश र जनताको सेवा गर्न हो भन्ने कुरा ती नेताहरू किन भुल्छन् ? पदको दुरूपयोग गरी अवैध ढङ्गबाट भ्रष्टाचार गरेर सम्पत्ति कमाए पनि ती दलका नेताहरूलाई कुनै कारबाही हुँदैन । उनीहरू राजनीतिमा लाग्नु नै कमाउन हो भन्ठान्छन्, पदमा रहेको बेला जति कमाउन सकिन्छ त्यति कमाउने भनी फुक्छन् । उनीहरूको राजनीति सेवा गर्न होइन कमाउने पेसा ठान्छन् । उनीहरूको नजरमा राजनीति गर्नु भ्रष्टाचार गर्न, अनियमित काम गर्न या पैसा कमाउन हो । यस्तो दरिद्र विचार सत्तासीन दलका नेताहरूमा व्याप्त छ । नेताहरूको यस्तै गलत दृष्टिकोण र गलत व्यवहारले गर्दा नेपालमा राम्रो काम नभएको हो, घोषणापत्रअनुसार काम नभएको हो । राजनीतिलाई कमाउने पेसा बनाएकै कारण निर्वाचन महँगो भएको हो, निर्वाचनमा धाक धम्की दिएर मत लिइएको हो, निर्वाचनमा पैसा बाँडिएको हो, लोभलालच देखाएर मत लिइएको हो । यो बेइमानी काम हो । यो असल राजनीति होइन ।
सत्तासीन दलका नेता र मन्त्रीहरूमा भ्रष्टाचारको आरोप लाग्छ । अकुत सम्पत्ति कुम्ल्याइएको दोषारोपण हुन्छ । ती नेता, मन्त्री र सांसदमाथि दलले छानबिन गर्दैन । भ्रष्टाचारको आरोप लागेका या बदनामी व्यक्तिलाई नै उम्मेदवारी बनाइन्छ । ती नेताहरू इज्जत र आस्थाको ख्याल गर्दैनन् । सिद्धान्त, व्यवहार, उद्देश्य नमिल्ने दलहरूसँगको गठबन्धनले मुलुक र जनताको हित गर्दैन भन्ने उनीहरू बुझ पचाउँछन् । अतः आम जनताले सिद्धान्त र विचारको आधारमा मतदान गर्नुपर्छ, देश र जनताको सेवामा सङ्घर्षरत दलका उम्मेदवारलाई मतदान गर्नुपर्छ । यसले देश र जनताको सेवा गर्नेछ र जनताको इच्छा पूरा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *