निर्वाचनबारे संवाद ५
- चैत्र १०, २०८२
यही आउँदो मङ्सिर ४ गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्यको निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, पारदर्शी र भयमुक्त बनाउनका लागि निर्वाचन (कसुर तथा सजाय) ऐन २०७३ र निर्वाचन आचारसंहिता, २०७९ मा भएका कानुनी व्यवस्था कार्यान्वयन र परिपालना गर्न निर्वाचन प्रयोजनका लागि दर्ता भएका राजनीतिक दलहरूलाई राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ५७ बमोजिम तपसिलअनुसार गर्न÷गराउन आयोगको मिति २०७२÷०६÷११ मा बसेको बैठकले निर्देशन दिने निर्णय गरेको छ ।
१. निर्वाचनको सिलसिलामा कुनै पनि व्यक्तिलाई निर्वाचनमा उम्मेदवारी दिन वा निर्वाचनसम्बन्धी प्रचलित सङ्घीय कानुनबमोजिम निर्वाचनको प्रचारप्रसार गर्न वा मतदानको अधिकार प्रयोग गर्नबाट वञ्चित गर्ने उद्देश्यले बाधा अवरोध पु¥याउने वा पुर्याउन लगाउने वा थुनछेक गर्ने वा गराउने, कुनै पनि किसिमको हातहतियार वा विस्फोटक पदार्थ प्रदर्शन वा प्रयोग गर्ने, कुनै किसिमको क्षति पु¥याउने, धाक, धम्की वा डर त्रास देखाउने, सामाजिक प्रतिष्ठामा आघात पु¥याउने, सामाजिक बहिष्कार गर्ने वा सामाजिक बहिष्कार गर्न धम्की दिने, कुनै किसिमले लोभलालच देखाउने वा आर्थिक प्रलोभन देखाउने, धर्म भकाउने वा प्रतिज्ञा गराउनेजस्ता काम गरी प्रभावमा पार्न नहुने,
२. निर्वाचनको अवधिभित्र कुनै मतदातालाई निजको मतदानको अधिकार प्रयोग गर्न वा नगर्नको लागि वा मतदानको अधिकार प्रयोग गरे वा नगरेबापत उपहार, पुरस्कार, इनाम, दानदातव्य र बकसको रूपमा नगद वा जिन्सी दिन वा दिन मन्जुर गर्न वा सार्वजनिक भोज भतेरको आयोजना गर्न वा त्यस्तो प्रयोजनको लागि नगद वा जिन्सी लिन वा लिन मन्जुर गर्न र सार्वजनिक भोज भतेरमा सहभागी हुन नहुने,
३. निर्वाचन प्रचारप्रसार गर्दा नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता र स्वाभिमानमा आँच पु¥याउने वा खलल पार्ने, जनतामा निहित सार्वभौमसत्ता र राजकीय सत्ता वा प्रतिस्पर्धात्मक बहुदलीय सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामा आँच पु¥याउने वा खलल पार्ने, कुनै धर्म, जात जाति, वर्ग, क्षेत्र वा सम्प्रदायबीचको सुसम्बन्धमा खलल पु¥याउने वा हिंसात्मक कार्य गर्न दुरुत्साहन गर्ने वा भाषा, धर्म, समुदाय वा क्षेत्रीयताको आधारमा घृणा वा द्वेष उत्पन्न गर्ने कार्य गर्न गराउन नहुने,
४. निर्वाचनको नतिजामा प्रभाव पार्नका लागि कुनै उम्मेदवार वा निजको परिवारको सदस्यको कुनै पनि किसिमले चरित्र हनन गर्न वा गराउन वा कुनै तवरबाट डर, त्रास तथा धम्की दिन नहुने,
५. राजनीतिक दल, उम्मेदवार दलको भ्रातृ सङ्गठन तथा सम्बन्धित व्यक्तिले जुलुस, कोणसभा, बैठक, भेला वा निर्वाचन प्रचारप्रसारसम्बन्धी कार्य गर्दा कसैको घरको आसपासमा गई निज वा निजको परिवारको सदस्यको सम्बन्धमा विरोध वा प्रदर्शन गर्न नहुने,
६. स्थानीय प्रशासनको अनुमति नलिई सार्वजनिक स्थलमा कुनै किसिमको जुलुस, आमसभा, कोणसभा वा भेला गर्न नहुने,
७. जुलुस वा आमसभामा भाग लिने वा प्रचारप्रसार गर्ने व्यक्तिले दल वा उम्मेदवारको निर्वाचन चिह्न वा झन्डा अङ्कित लोगो वा स्टिकर वा कपडा, टोपी वा क्याप, भेस्ट, टिसर्ट, ज्याकेट, कमिज, गम्छा, ब्याज, मास्क वा लकेट लगाउन वा झोला बोक्न नहुने,
८. कुनै राजनीतिक दल, उम्मेदवार वा दलको भ्रातृ सङ्गठनले आयोजना गरेको जुलुस, आमसभा, कोणसभा, बैठक, भेला वा अन्य कार्यक्रम बिथोल्न वा कुनै प्रकारको बाधा अवरोध पु¥याउन नहुने,
९. एकभन्दा बढी राजनीतिक दल, उम्मेदवार वा भ्रातृ सङ्गठनले एकै समयमा एउटै स्थान वा मार्गमा जुलुस, आमसभा, कोणसभा, बैठक वा भेला गर्न नहुने,
१०. प्रचलित कानुन वा स्थानीय प्रशासनले निषेध गरेको सामग्री लिई जुलुस, आमसभा, कोणसभा, बैठक वा भेलामा प्रदर्शन गर्न वा त्यस्तो सामग्री प्रयोग गर्न नहुने,
११. कसैको निजी घरजग्गा वा सार्वजनिक भवन, सार्वजनिक उद्यान, सार्वजनिक सडकका पोल वा कुनै पनि सार्वजनिक स्थानमा दलको झन्डा, दल वा उम्मेदवारको निर्वाचन चिह्न राख्न वा टाँस्न नहुने,
१२. विभिन्न क्लव, सामाजिक संस्था, धार्मिक संस्था, आमा समूह, गैरसरकारी संस्था, आश्रमजस्ता संस्था वा कुनै व्यक्तिलाई नगद वा जिन्सी वितरण गर्न, अनुदान, आर्थिक सहायता, चन्दा, पुरस्कार वा निर्वाचन खर्च वा बुथ खर्च दिन वा दिने घोषणा गर्न नहुने,
१३. निर्वाचन प्रचारप्रसार, आमसभा तथा जुलुसमा बालबालिकाको प्रयोग गर्न वा गराउन नहुने,
१४. उम्मेदवार वा दलको कार्यालयमा साइनबोर्ड तथा कपडामा बनाइएको ३४४ फिटको दलको झन्डा र सोही नापको चुनाव चिह्न राख्नबाहेक दलको प्रचारप्रसार गर्ने उद्देश्यले कुनै किसिमको डिजिटल बोर्ड, फ्लेक्स वा ग्लुसाइन बोर्ड राख्न, श्रव्य सामग्री बजाउन र श्रव्यदृश्य सामग्रीहरू प्रदर्शन नगर्ने,
१५. उम्मेदवार वा दलले आफ्नो कार्यालयबाहेकका स्थानमा दलको झन्डा, दल वा उम्मेदवारको चुनाव चिह्न, कुनै किसिमको डिजिटल बोर्ड, फ्लेक्स वा ग्लुसाइन बोर्ड राख्न तथा श्रव्य सामग्री बजाउन र श्रव्यदृश्य सामग्रीहरू प्रदर्शन गर्न नहुने,
१६. निर्वाचनमा उम्मेदवारको मनोनयनपत्र पेश गर्न जाँदा वा प्रचारप्रसारका लागि घरदैलो कार्यक्रम गर्दा उम्मेदवार, प्रस्तावक, समर्थकसहित पच्चीस जना भन्दा बढीको जुलुस लिएर जान नहुने र यसरी जाँदा बाजा, गाजा तथा झाँकीसहित जान नहुने,
१७. राजनीतिक दल वा उम्मेदवारको बढीमा एउटा निजी र आधिकारिक वेबपेजमा बाहेक अनलाइन वेब पेज, टीभी स्क्रोलिङ, सपिङ मलमा डिस्प्ले, कल सेन्टर सञ्चालन, बैङ्कका एटिएम काउन्टरमा सन्देश वा सडक नाटक आदि माध्यमबाट दलको वा उम्मेदवारको बारेमा कुनै प्रचारप्रसार गर्न गराउन नहुने,
१८. दलको झन्डाको वा दल वा उम्मेदवारको चुनाव चिह्नको तोरण बनाई सार्वजनिक प्रदर्शन गर्न वा गराउन नहुने,
१९. कुनै किसिमको भित्तेलेखन गर्न वा गराउन, चारपाङ्ग्रे गाडी, मोटरसाइकल, साइकल, बयलगाडा, रिक्सा, टाँगा, ठेलागाडालगायत सबै प्रकारका सवारी साधन प्रयोग गरी ¥याली आयोजना गर्न वा प्रचारप्रसार गराउन नहुने,
२०. ज्येष्ठ नागरिक, महिला, यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक तथा अपाङ्गता भएका व्यक्तिहरूको भावना, इज्जत, चरित्र तथा प्रतिष्ठामा आँच आउन सक्ने प्रकारले कुनै किसिमका प्रचारप्रसार गर्न गराउन नहुने,
२१. दल वा उम्मेदवारले जुलुस, आमसभा, कोणसभा, घरदैलो भेटघाट वा जुनसुकै प्रकारको ¥याली गर्दा बढीमा दसवटा राष्ट्रिय झन्डा प्रयोग गर्नबाहेक निर्वाचन प्रचारप्रसार गर्दा राष्ट्रिय झन्डा प्रयोग गर्न गराउन नहुने,
२२. कुनै पनि धर्मको नाममा प्रचारप्रसार गर्न गराउन वा कुनै साम्प्रदायिक विद्वेष फैलाउने गरी प्रचारप्रसार गर्न वा मत माग्न नहुने,
२३. निर्वाचनमा विजयी भएको उम्मेदवारले कुनै प्रकारको भोजभतेर गर्न वा नगद वा जिन्सी वितरण गर्न नहुने,
२४. अनुमति प्राप्त गरेको सवारी साधनको स्वरूप परिवर्तन गरी प्रयोग गर्न वा गराउन तथा एउटा दल वा उम्मेदवारको नाममा अनुमति लिएको सवारी साधन अन्य दल वा उम्मेदवारलाई प्रयोग गर्न दिन वा अन्य उम्मेदवारले प्रयोग गर्न नहुने,
२५. कुनै दल वा उम्मेदवारले अनुमति लिएको सवारी साधन प्रयोग गरी मतदाताहरू ओसारपसार गर्न नहुने,
२६. सम्बन्धित स्थान तोकी प्रयोग गर्ने गरी अनुमति लिएको सवारी साधन अन्य स्थानमा प्रयोग गर्न नहुने,
२७. मतदान हुने दिनको अघिल्लो अठचालिस घण्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुन्जेलसम्म राजनीतिक दलका पदाधिकारी, उम्मेदवार, दलको भ्रातृ सङ्गठन वा सम्बन्धित व्यक्तिले निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा सम्मेलन, कार्यशाला गोष्ठी आदि गर्न नपाइने,
२८. मतदान हुने दिनको अठचालिस घण्टा अघि मतदान स्थलको तीन सय मिटर वरिपरि राखिएका राजनीतिक दल वा उम्मेदवारका प्रचारप्रसारका सामग्री भए हटाउने,
२९. मतदान हुने दिनको अठचालिस घण्टाअघि कुनै पनि विधि, प्रक्रिया वा माध्यमबाट मत माग्न र निर्वाचन प्रचारप्रसार गर्न, सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य कुनै माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना वा प्रचारप्रसारका सामग्री पोस्ट वा शेयर गर्न वा गराउन नहुने,
३०. मतदानको दिन राजनीतिक दल, उम्मेदवार, दलको भ्रातृ सङ्गठन वा सम्बन्धित व्यक्तिले मतदान केन्द्रमा राजनीतिक दल वा उम्मेदवारको प्रतिनिधिले निर्वाचन चिह्न वा मत सङ्केत भएको पहिरन वा ब्याज लगाउन, मतदान केन्द्रमा कुनै राजनीतिक दल वा उम्मेदवारको पहिचान देखिने एकै किसिमको साङ्केतिक पोशाक र चीजवस्तु लगाउन, बोक्न वा देखाउन नहुने,
३१. मतदाता, आयोग, निर्वाचन अधिकृत वा मतदान अधिकृतले अनुमति दिएका व्यक्ति वा अधिकारीबाहेक अन्य कुनै पनि व्यक्ति मतदान केन्द्रमा प्रवेश गर्न नहुने,
३२. राजनीतिक दल वा उम्मेदवारको मतदान प्रतिनिधि तथा मतगणना प्रतिनिधिले राजनीतिक दल वा उम्मेदवारको निर्वाचन चिह्न वा सङ्केत भएको पहिरन वा ब्याज, लकेट, मास्क लगाउन, राजनीतिक दल वा उम्मेदवारको पहिचान देखिने एकै किसिमको साङ्केतिक पोशाक, लोगो, ब्याजजस्ता सामग्री लगाउन, बोक्न र देखाउन नहुने,
३३. राजनीतिक दल वा उम्मेदवारको मतदान प्रतिनिधि तथा मतगणना प्रतिनिधिले मतपत्रलगायतका निर्वाचन सामग्री छुन वा चलाउन वा बिगार्न वा फोटो खिच्न, मतदानस्थल वा मतगणनास्थलमा राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा नाराबाजी वा हुलहुज्जत गर्न, क्यामरा, मोबाइललगायतका निर्वाचन अधिकृतले अनुमति नदिएका सामग्री मतदानस्थल तथा मतगणनास्थलमा लैजान नहुने,
३४. जुलुस, आमसभा, कोणसभा भेला वा प्रचारप्रसारका कार्यक्रम गर्दा बिहान सात बजेदेखि साँझ सात बजेसम्म स्थानीय प्रशासन र प्रहरीलाई मिति, समय, मार्ग र स्थानको बारेमा कम्तीमा चौबीस घण्टाअगावै जानकारी गराएरमात्र गर्ने,
३५. निर्वाचन प्रयोजनको लागि पचहत्तर ग्रामसम्मको कागजमा तीनसय वर्ग इन्चसम्म क्षेत्रफल भएको आकारको एउटै रङ्ग र मुद्रकको नामसहितको पर्चामात्र प्रयोग गर्ने,
३६. निर्वाचन प्रचारप्रसारको लागि कोणसभा वा आमसभा गर्दा मञ्चको तयारीको लागि लागेको खर्चको विवरण सम्बन्धित उम्मेदवारले सात दिनभित्र निर्वाचन कार्यालयमा पेश गर्ने,
३७. उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएपछि मतदान हुने दिनभन्दा सत्र दिन अघिदेखि मात्र जुलुस, आमसभा वा कोणसभा, सञ्चारमाध्यममा कुनै प्रकारको प्रचारप्रसार सामग्री प्रकाशन वा प्रसारण र निर्वाचन प्रचारप्रसारको लागि घरदैलो कार्यक्रम गर्ने,
३८. निर्वाचन अधिकृतको अनुमति लिई उम्मेदवार भएको सम्बन्धित निर्वाचन क्षेत्र वा उम्मेदवार भएको स्थानमा आयोगले तोकेबमोजिम बढीमा दुईवटा दुईपाङ्ग्रे वा तीनपाङ्ग्रे वा चारपाङ्ग्रे विद्युतीय तथा यान्त्रिक शक्तिबाट चल्ने हलुका सवारी साधन र त्यस्ता सवारी साधन नचल्ने ठाउँमा बढीमा चारवटा घोडा प्रयोग गर्ने,
३९. कुनै पदको निर्वाचन प्रचारप्रसारको लागि राजनीतिक दलले प्रक्रिया पूरा गरी सोहीबमोजिमको सङ्ख्या र प्रकारका सवारी साधनमात्र प्रयोग गर्ने,
४०. राजनीतिक दलले प्रचारप्रसारको लागि आफ्नो तर्फबाट मन्त्री वा स्थानीय कार्यपालिकाका पदाधिकारीबाहेक दुई जना मुख्य प्रचारकको नाम आयोगमा बुझाउनुपर्ने र आयोगले अनुमति दिएका मुख्य प्रचारकले मात्र हेलिकप्टर सेवा प्रयोग गर्नसक्ने,
४१. राजनीतिक दलले हेलिकप्टर सेवा प्रयोग गर्दा राजनीतिक दलको लागि आयोगले निर्धारण गरेको समानुपातिक निर्वाचन प्रणालीबमोजिम बन्दसूचीका उम्मेदवारको सङ्ख्याको आधारमा राजनीतिक दलले गर्न पाउने खर्चको सीमाभित्र रही गर्ने,
४२. राजनीतिक दलले निजी क्षेत्रको टेलिभिजन, रेडियो वा एफ.एम. रेडियोको माध्यमबाट निर्वाचन प्रचारप्रसार गर्दा कम्तीमा एक घण्टाको अन्तरालमा चौबीस घण्टामा बढीमा चार पटक र एक पटकमा बढीमा एक मिनेटसम्म प्रसारण गराउन सक्ने,
४३. राजनीतिक दलले निजी क्षेत्रको पत्रपत्रिकाको माध्यमबाट प्रचारप्रसार गर्दा प्रत्येक दिन बढीमा ७ ह ७ इन्च सम्मको आकारमा कुनै एउटा पत्रिकामा प्रचार सामग्री छपाउन सक्ने,
४४. प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनमा भाग लिने उम्मेदवारले टेलिभिजन, रेडियो वा एफ.एम. रेडियोको माध्यमबाट निर्वाचन प्रचारप्रसार गर्दा चौबीस घण्टामा बढीमा दुईपटक र एकपटकमा बढीमा एक–एक मिनेटसम्म प्रसारण गराउन सक्ने,
४५. पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीबमोजिम हुने प्रदेशसभा सदस्य पदको निर्वाचनमा भाग लिने उम्मेदवारले टेलिभिजन, रेडियो वा एफ.एम. रेडियोको माध्यमबाट निर्वाचन प्रचारप्रसार गर्दा कम्तीमा एक घण्टाको अन्तरालमा चौबीस घण्टामा बढीमा तीन पटक र एक पटकमा बढीमा एक मिनेटसम्म प्रसारण गराउन सक्ने,
४६. पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीबमोजिम हुने प्रतिनिधिसभा सदस्य पदको निर्वाचनमा भाग लिने उम्मेदवारले टेलिभिजन, रेडियो वा एफ.एम. रेडियोको माध्यमबाट निर्वाचन प्रचारप्रसार गर्दा चौबीस घण्टामा बढीमा चारपटक र एकपटकमा बढीमा एक मिनेटसम्म प्रसारण गराउन सक्ने,
४७. पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीबमोजिम हुने प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य पदको निर्वाचनमा भाग लिने उम्मेदवारले पत्रपत्रिकाको माध्यमबाट निर्वाचन प्रचारप्रसार गर्दा प्रत्येक दिन बढीमा ७ ह ७ इन्चसम्मको आकारमा कुनै एउटा पत्रिकामा प्रचार सामग्री छपाउन सक्ने,
४८. निर्वाचनमा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ उम्मेदवार हुने व्यक्तिले मनोनयनपत्र साथ आफ्नो नाम, थर, ठेगाना, शैक्षिक योग्यता, अनुभव तथा आफूले उल्लेख गर्न चाहेको थप विवरण उल्लेख गरी आयोगले तोकेबमोजिमको ढाँचामा वैयक्तिक विवरण फारामसमेत पेश गर्ने,
४९. कुनै स्थानीय तह वा स्थानीय तहको स्वामित्व वा नियन्त्रणमा रहेको वा स्थानीय तहबाट अनुदान प्राप्त संस्थामा सुविधा वा पारिश्रमिक पाउने गरी बहाल रहेको निर्वाचित वा मनोनीत पदाधिकारीले उम्मेदवारको मनोनयन दर्ता गर्नुअगावै बहाल रहेको पदबाट राजीनामा गर्नुपर्ने,
५०. उम्मेदवारले मनोनयनपत्र दर्ता गर्दा निर्वाचनमा आफूले खर्च गर्ने अनुमानित रकम र सोको स्रोत खुलाउने,
५१. उम्मेदवारले निर्वाचनसम्बन्धी खर्च गर्दा बैङ्क वा वित्तीय संस्थामा छुट्टै खाता खोली सोही खाताबाट गर्ने,
५२. उम्मेदवारले निर्वाचनसम्बन्धी खर्च गर्दा निजको तर्फबाट खर्च गर्ने जिम्मेवार पदाधिकारी तोक्ने,
५३. राजनीतिक दलले निर्वाचनसम्बन्धी खर्च गर्दा बैङ्क वा वित्तीय संस्थामा छुट्टै खाता खोली दलले तोकेको जिम्मेवार पदाधिकारीद्वारा सो खाताबाट खर्च गर्ने,
५४. पच्चीस हजार रूपैयाँभन्दा बढी आर्थिक सहयोग प्राप्त गर्दा बैङ्क वा वित्तीय संस्थामार्फत गर्ने,
५५. आम्दानी तथा खर्चको विवरण प्रचलित कानुनबमोजिम आयोगले तोकेको ढाँचामा तोकिएको अवधिभित्र निर्वाचन कार्यालय वा आयोगमा बुझाउने,
५६. आयोगले खर्चको बिल भर्पाई तथा बैङ्क वा वित्तीय संस्थामा रहेको खाताको विवरण पेश गर्न आदेश दिएमा सकल बिल भर्पाई तथा बैङ्क वा वित्तीय संस्थाको खाताको विवरण पेश गर्ने,
५७. निर्वाचन खर्चको विवरण निर्वाचन सम्पन्न भएपछि सार्वजनिक गरी प्रचलित निर्वाचनसम्बन्धी कानुनले तोकेको अवधिभित्र आयोग वा निर्वाचन कार्यालयमा जानकारी गराउने,
५८. निर्वाचनमा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ उम्मेदवार हुने व्यक्तिले मनोनयनपत्र साथ आयोगले तोकेको ढाँचामा सम्पत्ति विवरण तयार गरी शिलबन्दीरूपमा पेश गर्ने,
५९. निर्वाचन तथा मतगणनाको काममा संलग्न उम्मेदवार वा राजनीतिक दलको प्रतिनिधि, मतदान प्रतिनिधि र मतगणना प्रतिनिधिले तोकिएबमोजिमको प्रतिबद्धतापत्रमा हस्ताक्षर गर्ने,
६०. निर्वाचन आचारसंहिता, २०७९ कार्यान्वयन तथा पालना गर्न दिएको निर्देशन तत्काल कार्यान्वयन गर्ने÷गराउने ।
उक्त बमोजिमका प्रचलित निर्वाचनसम्बन्धी कानुनमा भएको व्यवस्था र निर्वाचन आचारसंहिता, २०७९ को कार्यान्वयनमा सहयोग, सहजीकरण र समन्वयको लागि देहायबमोजिम गर्ने गराउनेः
(क) राजनीतिक दलहरूबाट सभा, सम्मेलन, अधिवेशन, बैठक, भेला, आमसभा वा यस्तै प्रकृतिका कार्यक्रम सञ्चालन गर्दा राखिएका निर्वाचन आचारसंहिताविपरीत हुने दलका झन्डा, चिह्न वा अन्य प्रचारप्रसार सामग्री निर्वाचन आचारसंहिता लागू भएको १२ घण्टाभित्र अनिवार्य हटाउने,
(ख) निर्वाचन आयोगले निर्वाचनसम्बन्धी कानुनी व्यवस्था र निर्वाचन आचारसंहिता, २०७९ को व्यवस्थासमेतको आधारमा राजनीतिक दलसम्बन्धी ऐन, २०७३ बमोजिम दिएको आदेश कार्यान्वयनको लागि आफ्ना मातहत समिति, भ्रातृ सङ्गठन र उम्मेदवारहरूलाई तुरुन्तै निर्देशन दिने,
(ग) निर्वाचन आचारसंहिता कार्यान्वयनको लागि गठित विभिन्न समितिहरूमा अनिवार्य प्रतिनिधित्व गर्ने साथै निर्वाचन व्यवस्थापनको सिलसिलामा हुने सर्वदलीय वा सर्वपक्षीय बैठकहरूमा आमन्त्रण गरिएको बखत सहभागी हुने,
(घ) निर्वाचनसम्बन्धी प्रचलित कानुनी व्यवस्था एवम् निर्वाचन आचारसंहिता, २०७९ को कहीँ कतैबाट उल्लङ्घन गरेको पाइएमा लिखित वा मौखिक वा सामाजिक सञ्जाल वा विद्युतीय माध्यम वा अन्य कुनै तरिकाले सम्बन्धित निर्वाचन अधिकृतको कार्यालय वा मुख्य निर्वाचन अधिकृतको कार्यालय वा निर्वाचन कार्यालय वा स्थानीय प्रशासन वा निर्वाचन आयोगमा उजुरी वा सूचना दिई निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयनमा सहयोग र सहजीकरण गर्ने,
(ङ) राजनीतिक दल वा उम्मेदवारले आचारसंहिताको पालना तथा कार्यान्वयनका सम्बन्धमा नेपाल प्रहरी, अन्य सुरक्षा निकाय, कुनै कार्यालय वा व्यक्तिमार्फत आयोगले विवरण माग गर्दा आवश्यक सहयोग र सहजीकरण गर्ने,
(च) राजनीतिक दलहरूले आफ्नो प्रचारप्रसार गर्दा निर्वाचन आचारसंहिता, २०७९ एवम् प्रचलित निर्वाचन कानुनमा हरेक नागरिक तथा मतदाताले पालना गर्नुपर्ने भनी उल्लेख भएका विषयहरूबारे समेत जानकारी गराई जनस्तरबाटै स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय एवम् मितव्ययी निर्वाचनको वातावरण तयार गर्न सहयोग ।
(शालिग्राम शर्मा पौडेल)
सहसचिव एवम् प्रवक्ता
Leave a Reply