भर्खरै :

क्युवा र अङ्गोला–स्वतन्त्रताको लागि युद्ध – ८

क्युवा र अङ्गोला–स्वतन्त्रताको लागि युद्ध – ८

कोपेल : यस्ता रणनीतिक आक्रमणको समयमा क्युवाली सेना र स्वापो लडाकुहरूबीचको सहकार्य कस्तो थियो ?
भिल्लेगस : स्वापो दक्षिणपश्चिम अङ्गोलामा आधारित थियो । त्यहाँबाट उनीहरूले उत्तरी नामिबियामा गतिविधि गरिरहेका थिए । अङ्गोलामा स्वापोले हामीसँग सैनिक हमलामा सहकार्य गरेन । बरु मुख्यतः सूचना दिने एकाइको रूपमा आपसी सहकार्य भयो । नामिबियाली सिमाना नजिक स्वापो र क्युवाली दस्ता मिलेर संयुक्त रेखदेख ग¥यौँ । स्वापोका लडाकुहरूलाई पहाडी भूगोलको विषयमा राम्रो जानकारी थियो । पहाडी भूगोलबारे मूर्त जानकारी आवश्यक पर्ने सैनिक कारबाहीमा स्वापोका दस्ताहरूले सूचना सङ्कलनमा महत्व भूमिका खेलेर मद्दत गरे । दक्षिण अफ्रिकीहरूले अवैधरूपमा नियन्त्रणमा लिएका नामिबे र कुनेने प्रान्तहरूमा स्वापोका लडाकुहरू भित्रभित्रसम्म पुगेर त्यहाँ दक्षिण अफ्रिकीहरूका गतिविधिको सूचना लिएर आउँथे ।
लडाइँको अन्तिम चरणमा हाम्रो फौज ठूलो सङ्ख्यासहित सिमानातिर अघि बढ्दै गर्दा स्वापो लडाकुहरू पनि हामीसँगै आए र महत्वपूर्ण भूमिका खेले ।
हाम्रा लडाकुहरूमा स्वापोका गुरिल्लाप्रति विश्वास थियो । उनीहरू बहादुर र आत्मबलिदानी थिए । उनीहरूले चर्को दमनको सामना गरेका थिए । नामिबियाली र क्युवाली लडाकुहरूबीच न्यानो मानवीय सम्बन्ध थियो । उनीहरू व्यवहारतः एक थिए । त्यसले क्युवाली सिपाहीहरूलाई अन्य सेनासँग संवाद गर्न, स्थानीय भाषा सिक्न, अङ्गोलियाली र नामिबियाली जनतासँग घुलमिल हुन निकै सहज बन्यो ।
कलेरो : सन् १९८८ का सुरुआती महिनाहरूमा विभिन्न घटना घट्न थालेसँगै दक्षिण अफ्रिकी र संरा अमेरिकी अधिकारीहरूले अङ्गोलियाली र क्युवालीहरू दक्षिणपश्चिममा नामिबियासम्म पुग्न कुनै पनि तगारा पन्छाउन सक्ने शक्तिसहित अघि बढिरहेको थाहा पाए ।
समयान्तरमा सार्वजनिक भएको प्रिटोरिका (दक्षिण अफ्रिका) को एउटा कागजातमा एक जना अधिकारीले दक्षिणपश्चिम अङ्गोलामा यदि क्युवाली सेनासँग दक्षिण अफ्रिकी सेना प्रत्यक्ष मुठभेदमा उत्रे दक्षिण अफ्रिकीहरूले केही दिनमै आफ्नो सबै वायुसेना गुमाउन सक्छ भनी चेतावनी दिइएको छ ।
भिल्लेगस : क्युवाले अङ्गोलालाई आवश्यक भएका सबै कुरा पठायो । यो सत्य हो । राउलले भन्नुभएको छ, आवश्यक भए हामी भित्री वस्त्रबिना पनि त्यहाँ जानेछौँ ।
दसौँ हजार नामिबियाली र क्युवाली फौजसहित स्वापो लडाकुहरू नामिबियाको सीमातिर अघि बढिरहेका थिए । दक्षिण अफ्रिकीहरूले लडाइँको एउटा मोर्चामा मात्र हामीसँग भएका ट्याङ्क, विमान र विमानप्रतिरोधी हतियार देखे । संरा अमेरिकाले पनि क्युवाबाट अतिरिक्त शक्तिको रूपमा जाँदै गरेका जहाजको सङ्ख्या गन्ती गरिरहेको थियो ।
लुबांगोको हाम्रो हवाई आधार नामिबियाको सीमाभन्दा पर थियो । त्यसकारण, दस साताभित्र क्युवाली निर्माण मजदुरहरूको एउटा दस्ताले काहामामा एउटा हवाई क्षेत्र बनायो । त्यो हवाई क्षेत्र नामिबियाको सीमासँग निकै नजिक थियो । त्यो हवाई क्षेत्रले हाम्रो विमानलाई दक्षिणी अङ्गोला र नामिबियाको सम्पूर्ण उत्तरी भेगमा पुग्न सम्भव बनायो ।
हाम्रा एमआईजीका चालकले हवाई क्षेत्रमा नियन्त्रण जमाउन सफल भयो ।
फिडेलले भन्नुभएजस्तै हामीले बनाएको सेना नामिबिया प्रवेश गर्नमात्र शक्तिशाली थिएन । बरु त्यो सेनाले दक्षिण अफ्रिका नपुग्दासम्म नरोकिने सामथ्र्य राख्थ्यो ।
दक्षिणी अफ्रिकी सेनामाथि हामीले गरेको हमलाले उनीहरूको मनोबल झा¥यो । उनीहरूले हामीलाई दक्षिणपश्चिमको चिपामा हमला गर्दा हाम्रा एमआइजी विमानहरूले कालेकी बाँध नजिक प्रत्याक्रमण ग¥यो । त्यो ठाउँ सीमा नजिकै थियो । त्यहाँ दक्षिण अफ्रिकीहरू ठूलो सङ्ख्यामा घाइते भए र मारिए ।
“एमआइजीले हाम्रो मुटुमै शुल गाड्यो”, दक्षिण अफ्रिकाका एक जना सिपाहीले त्यहाँको भित्तामा लेखेका थिए । यी शब्दले उनीहरूको मनोबल कति तल झरेको थियो भन्ने कुरा सङ्केत गर्छ ।
कुइटो क्वानाभाले र कालिकी दुई ठाउँमा भएका लडाइँले अन्तिम निष्कर्ष निधो ग¥यो । हामीले प्रतिरक्षाको नीतिमा विश्वास ग¥यौँ । कुनै ठूलो सैनिक मुठभेदबिना नै लडाइँमा जीत हासिल भयो । दक्षिण अफ्रिकी सरकार लडाइँमा ठूलो सङ्ख्यामा घाइते हुनसक्नेमा डराएको थियो किनभने त्यसको प्रत्यक्ष प्रभाव उनीहरूको आन्तरिक राजनीतिमा पर्ने थियो ।
कुइटो क्वानाभाले र दक्षिणपश्चिम अङ्गोलामा प्राप्त विजयले दक्षिण अफ्रिकालाई वार्ताको टेबुलमा आउन बाध्य बनायो । रणभूमिमा पराजित भएपछि उनीहरू आफ्नो सेना फिर्ता गर्न र नामिबियालाई स्वाधीन घोषणा गर्न बाध्य भयो ।
सन् १९८८ अगस्ट महिनाको अन्त्यसम्ममा दक्षिण अफ्रिकी सेना अङ्गोलाबाट फर्कियो । त्यही सालको डिसेम्बरमा दक्षिण अफ्रिका, अङ्गोला र क्युवाका सरकारहरूले न्यु योर्क सहरमा शान्ति सहमतिमा हस्ताक्षर गरे । सन् १९९० को २१ मार्चमा नामिबिया स्वतन्त्र देश बन्यो ।
अङ्गोलामा क्युवाली सैनिक मिसनका लागि कारबाही प्रमुखको नाताले मैले हाम्रो सेना त्यहाँबाट फिर्ता गर्न योजना निर्माण र कार्यान्वयनमा मद्दत गरेँ । सन् १९९० मा पोलो र म क्युवा फर्कियौँ । क्युवाको सबभन्दा अन्तिम खेपका लडाकु सन् १९९१ को मे महिनामा घर फर्केका थिए ।

कुइटो क्वानेभालेको लडाइँमा दक्षिण अफ्रिकाको पराजयपछि सयुक्त राष्ट्र सङ्घको अगुवाइमा न्यूयोर्कमा भएको शान्ति वार्ताको तस्बिर

इथियोपिया र मोजाम्बिकमा अन्तर्राष्ट्रवादी मिसन
कलेरो : अङ्गोलामा हजारौँ क्युवालीहरू स्वयम्सेवक भइरहेको समयमा सन् १९७७ मा क्युवाले इथियोपियाली सरकारलाई मद्दत गर्न सहमति जनायो । सन् १९७४ मा सम्राट हैली सेलास्सीको राजतन्त्र अपदस्थ भयो । नयाँ बनेको सरकारले मस्कोसँग सम्बन्ध विस्तार ग¥यो । भूमिसुधार लागु भयो । त्यसले इथियोपियाको सामन्तवादको ढाड भाँचियो । साम्राज्यवादी शक्तिको मनमा ढ्याङ्ग्रो ठोकियो ।
सन् १९७७ को जुलाइमा संरा अमेरिकाको सहायतामा छिमेकी देश सोमालियाको सरकारले इथियोपियामाथि कब्जा जमायो । इथियोपियापी सरकारको अनुरोधमा झन्डै बाह्र हजार क्युवाली लडाकूहरू सम्मिलित अन्तर्राष्ट्रवादी मिसनले उभार उठाउन मद्दत गरे । सन् १९७८ का सुरुआती महिनासम्ममा सोमालियाली हमला निस्तेज भयो ।
तपाईँ अङ्गोलामा पहिलो पटक पुग्नु र इथियोपियाली मिसन एकै समयमा भएको थियो । क्युवाले एकै समयमा अफ्रिकाका दुई देशमा उठाएको जिम्मेवारीसामु के कस्ता चुनौती थिए ?
भिल्लेगस : संरा अमेरिकाको उक्साहटमा सोमालियाली सरकारले ओगादेन भनेर चिनिएको पूर्वी इथियोपियाको विशाल भूभागमाथि कब्जा जमाएपछि इथियोपियाको लडाइँ सुरु भएको थियो । त्यो विशाल भूभागमाथि सोमालियाले आफ्नो दाबी ग¥यो ।
अफ्रिकामा अधिकांश सन्दर्भमा साम्राज्यवादी शक्तिहरूले खिचेका सीमा रेखाका वारिपारि एउटै आदिवासी जनताको बसोबास छ । उपनिवेशवादबाट मुक्त हुने क्रममा सबै अफ्रिकी देशहरू त्यही सीमालाई सदर गर्नेमा सहमत भए । त्यस्तो सहमति नहुँदो हो त अफ्रिका एकपछि अर्को द्वन्द्वको कारण हजारौँ देशमा विभाजित हुने थियो ।
सुरुमा इथियोपिया र सोमालिया दुवै देशमा क्युवाली सल्लाहकारहरू थिए । हाम्रो नेतृत्वले त्यहाँको द्वन्द्वको राजनीतिक समाधानको खोजी गरे । तर, सोमालियाले हठात् इथियोपियामाथि हमला ग¥यो । इथियोपियाले हामीलाई सैनिक सहायताको निम्ति आग्रह ग¥यो । हजारौँ क्युवाली स्वयम्सेवकहरू इथियोपियामा गए । अनि हामीले यो काम अङ्गोलामा हाम्रो सैनिक प्रतिबद्धतालाई कति पनि कमजोर नपारी अघि बढायौँ ।
अङ्गोलाका हाम्रा सबभन्दा अनुभवीमध्ये धेरै जनालाई इथियोपियामा खटाइयो । उदाहरणको लागि क्युवाली सैनिक मिसनका प्रमुख तथा पछि अङ्गोलाको पहिलो लडाइँमा दक्षिणी मोर्चाका प्रमुख पोलोले इथियोपियामा ट्याङ्क ब्रिगेडको नेतृत्व गरे ।
इथियोपियालीहरू निकै अब्बल लडाकु थिए । हाम्रा सिपाहीहरू पनि तालिम प्राप्त थिए । दुवै सेना मिलेर लडे । अनि केही महिनामा इथियोपियाबाट सोमालियाली सेनालाई धपाउन सफल भए । यो लडाइँमा तुलनात्मकरूपमा न्यूनमात्र क्षति भयो ।
इथियोपियाको अवस्थाले धेरै थरी जटिलता जन्मायो । त्यहाँ साम्प्रदायिक द्वन्द्व भयो । जस्तै उत्तरको इरित्रियामा त्यस्तो द्वन्द्व चर्कियो । इरित्रियालीहरू आफूलाई इथियोपियाली भन्दैनन् । अनि, उनीहरू अलग स्वाधीनताको निम्ति लडिरहेका छन् ।
इथियोपियाभित्र विभिन्न राष्ट्रबीचको झैझगडालाई इथियोपियाभित्रै समाधानका राजनीतिक उपायको खोजी गर्नुपर्ने पक्षमा क्युवा थियो । हामीले त्यो समस्यालाई त्यहाँको आन्तरिक समस्याको रूपमा लियौँ । इथियोपियाली र इरित्रियाली जनताबीचको झगडामा हामीले भाग लिएनौँ ।
अन्ततः इथियोपियाले इरित्रियाको स्वाधीनता स्वीका¥यो । इरित्रिया अलग स्वाधीन देश बन्यो । त्यसपछि धेरै वर्षदेखि इरित्रिया र इथियोपिया दुवै देशमा क्युवाली चिकित्सक र अरू नागरिक स्वयम्सेवकहरूले सेवा गरिरहेका छन् ।
वाटर्स : तपाईँ अङ्गोला मिसनमा हुँदैको समयमा क्युवाली अन्तर्राष्ट्रवादी मिसनको हिस्साको रूपमा दुई महिनाको लागि मोजाम्बिकमा जानुभएको थियो । त्यो मिसनको लक्ष्य के थियो ?
भिल्लेगस : सन् १९८६ हो वा १९८७, म विदेशको मिसनमा क्युवाको विशेष कमान्डको काम गरिरहेको बेला मोजाम्बिक सरकारले आफ्नो देशको सैनिक अवस्थाको मूल्याङ्कन गर्दै सहायताको लागि आग्रह ग¥यो । हाम्रो नेतृत्वले विभिन्न विषयमा विशेषज्ञहरूसहितको एउटा प्रतिनिधिमण्डल त्यहाँ खटाएको थियो । त्यो प्रतिनिधिमण्डलको नेतृत्व मैले गरेको थिएँ ।
फ्रिलिमो नामको सङ्गठनको नेतृत्वमा मोजाम्बिकले सन् १९७५ मा पोर्चुगलबाट स्वाधीनता प्राप्त ग¥यो । त्यसपछि फ्रिलिमो नै त्यहाँको शासक पार्टी बन्यो । मोजाम्बिकको स्वतन्त्रतापश्चात् रोडिसा र दक्षिण अफ्रिकी सरकारले त्यहाँको विपक्षी समूह मोजाम्बिक राष्ट्रिय प्रतिरोध (रिनामो) लाई साथ दियो । उनीहरू मिलेर नयाँ सरकारविरुद्ध निकै ध्वंसात्मक लडाइँ चर्कायो ।
त्यही लडाइँमा क्युवा सरकारले मोजाम्बिक सरकारसँग समन्वय गरी सैनिक सल्लाहकार र प्राविधिक विशेषज्ञहरू त्यहाँ पठाएको थियो । तर, अङ्गोलामा जसरी हाम्रो सेना बसेको थियो, मोजाम्बिकमा त्यस्तो थिएन ।
कलेरो : मोजाम्बिक आर्थिकरूपमा अङ्गोलाभन्दा कम विकसित देश थियो नि होइन र ?
भिल्लेगस : सन् १९७५ मा मोजाम्बिक संसारकै सबभन्दा गरिब देशमध्ये एउटा थियो । अङ्गोलाको तुलनामा मोजाम्बिकसँग खनिज पदार्थ कम थियो । तर, ऊसँग कोइलाखानी भने मनग्य थियो ।
लडाइँले त्यो देशमा गहिरो प्रभाव पारेको थियो । रिनामो आफैँ पनि सत्ता हत्याउन सक्ने अवस्थामा थिएन । तर, ऊ अस्थिरता निम्त्याउन सक्ने शक्ति थियो । उनीहरूले सर्वसाधारणको आम नरसंहार गरे, अर्थतन्त्रलाई अलगअलग बनाए ।
हामी मोजाम्बिक पुग्दा दुवै प्रतिस्पर्धी शक्तिबीच मचामचको अवस्था थियो । पुरा देशमा सरकारको पनि नियन्त्रण थिएन । उसको नियन्त्रणमा मुख्यतः सहरी क्षेत्रमा थिए । रिनामोले मोजाम्बिकको मध्य क्षेत्रमा मात्र नियन्त्रण जमाएको थियो । सरकारी संयन्त्रले पूर्णरूपमा काम गर्न सकेको थिएन ।
हाम्रो प्रतिनिधिमण्डल दुई महिना बस्दा हामीले पूरै मोजाम्बिकको यात्रा ग¥यौँ । हामी सबै सैनिक मोर्चा पुग्यौँ । हामीले फौजको अवस्था, सैनिक शिविरहरू, निर्देशन सम्प्रेषणका तरिकाबारे समीक्षा ग¥यौँ । हामीले खासमा के पायौँ भने त्यहाँ कुनै ठोस काम हुन सकेको थिएन । लड्न चाहनाको हामीले अभाव देख्यौँ ।
मैले राष्ट्रपति जाकिम चिसानो र रक्षामन्त्रीलाई भेटेँ । रक्षा मन्त्रीले मलाई जनताको आत्मबल बढाउन के गर्न सकिन्छ भनी सोधे । जनताको मनोबल बढे फौजले लड्नेछ र सैनिक परिस्थितिमा हेरफेर ल्याउन सकिने उनको आशय थियो ।
मैले जवाफमा हामीसँग कुनै जादुको छडी नभएको बताएँ । लड्नुको अर्को कुनै फरक बाटो थिएन । उनीहरूले सङ्घर्षलाई सङ्गठित गर्नुपथ्र्यो, एम्बुस थाप्नुपथ्र्यो, कमजोर बिन्दुमा हमला गर्नुपथ्र्यो र शत्रुलाई लगातार सताइरहनुपथ्र्यो । “जादुको छडी तपाईँकै हातमा छ । त्यो जादुको छडी भनेको लड्ने र जित्ने इच्छाशक्ति हो”, मैले भनेँ ।
त्यसो गर्न सबभन्दा पहिला शत्रु के हो र के होइन भन्ने कुरा बुझ्न जरुरी थियो । किनभने, त्यत्तिबेला सरकारी सेनाले सबै जनतालाई आफ्नो शत्रुजस्तो व्यवहार गथ्र्यो । त्यसो हुनु हुँदैनथ्यो ।
लडाइँको त्यस्तो अवस्थामा जनताले आफ्नो क्षेत्रमा जसको सैनिक नियन्त्रण बलियो भयो, उसैका कुरा स्वीकार्छन् । सरकारी सेना आइपुगे, उनीहरूकै कुरा मान्थे । यदि रिनामो शक्ति आए उनीहरूको लागि जनताले काम गर्थे । जनतालाई रिनामोको निर्ममताबारे राम्ररी थाहा थियो । जनता शान्तिपूर्वक बाँच्न चाहन्थे । जनता शत्रु थिएनन् । उनीहरूको विश्वास जित्न जरुरी थियो ।
सरकारले सेनामा जबरजस्ती भर्ती गर्ने नीतिमा समस्या थियो । अङ्गोलाको सन्दर्भमा यसअघि पनि मैले यो कुरा भनिसकेको छु । युनिटाको फौज सहरी क्षेत्रमा देखापर्थे र आफूसँगै युवाहरूलाई लिएर जान्थे । त्यसरी उनीहरूले जबरजस्ती उठाउने युवकहरू कोही पन्ध्रका त कोही एघार वर्षका हुन्थे । वास्तवमा अङ्गोलाका दुवै पक्षबाट यस्तो काम हुन्थ्यो । तर, विशेषतः युनिटाले यस्तो काम बढी गथ्र्यो ।
लडाइँको समयमा मोजाम्बिकमा पनि त्यस्तै भएको थियो । उनीहरूले मानिसको चेतनास्तरको आधारमा सेनामा भर्ती गर्थेन । किशोर र कहिलेकाहीँ त बालबालिकालाई समेत जबरजस्ती भर्ती गर्नु अफ्रिकाका अधिकांश र एसियाका केही देशको अझै पनि ठूलो समस्या हो । उनीहरू केटाकेटीलाई आफूसँगै लिएर जान्थे र हतियार चलाउन सिकाउँथे । तालिम र शिक्षादीक्षा त्यसरी नै भएकोले त्यस्ता किशोर र युवकहरू कहिलेकाहीँ हत्यारा हुन्थे ।
सन् १९९२ मा शान्ति सन्धिमा हस्ताक्षर नहुँदासम्म मोजाम्बिकको लडाइँ चालु रह्यो । लडाइँ अवधिभर हामीले सैनिक सल्लाहकार पठाइरह्यौँ । अङ्गोलामा प्राप्त विजय र रङ्गभेदी शासनको अन्त्यले मोजाम्बिक र अन्य छिमेकी देशहरूले राहतको अनुभव गरेका थिए ।
नेपाली अनुवादः नीरज

Leave a Reply

Your email address will not be published. Required fields are marked *