भर्खरै :

क्युवा र अङ्गोला–स्वतन्त्रताको लागि युद्ध – ९

क्युवा र अङ्गोला–स्वतन्त्रताको लागि युद्ध – ९

फिडेलको भूमिका निर्णायक थियो”
वाटर्स : सन् १९८७ को अन्त्यतिर कुइटो क्वानाभालेमा सुरु भएको अन्तिम लडाइँमा फिडेलले पोलोउर्फ जनरल लिओपोल्दो सिन्ट्रा फ्रायसलाई दक्षिणी मोर्चाको नेतृत्व गर्ने जिम्मेवारी दिनुभयो । तिनताक तपाईँले प्रत्यक्ष पोलोसँगै काम गर्नुभयो । अङ्गोला मिसनको प्रारम्भिक कालखण्डमा पनि तपाईँले उहाँको निकटमा रही काम गर्नुभयो । पोलो आजभोलि क्रान्तिकारी सशस्त्र सेना हेर्ने मन्त्री हुनुहुन्छ । उहाँले अङ्गोलामा कस्तो नेतृत्व गर्नुभएको थियो ?
भिल्लेगस ः कुइटो क्वानाभालेको समयमा पोलोले अङ्गोलामा धेरै अनुभव बटुलिसकेका थिए । सन् १९७५ मा दक्षिणी मोर्चाको प्रमुखको रूपमा अङ्गोला पुगेका क्युवाली अधिकारीहरूमध्ये उनी पनि एक जना थिए । दक्षिणी मोर्चाले सन् १९७६ मा दक्षिण अफ्रिकी आक्रमणकारीहरूलाई धपाउन सफल भएको थियो । मैले अगाडि पनि चर्चा गरिसकेको छु, उनी काङ्गाम्बा लडाइँ र त्यसपछि पनि क्युवाली सैनिक मिसनका प्रमुख थिए ।
पोलो काम गर्न निकै सजिलो व्यक्ति हुन् । उनी अङ्गोलियालीहरूलाई राम्ररी बुझ्थे । जनतासँग नजिक हुने विलक्षण क्षमताको लागि अङ्गोलामा दुई जना नेताहरू निकै कहलिएका थिए, एक जना पोलो र अर्का टोमासेविच । तपाईँलाई उनीहरू क्युवाली हुन् वा अङ्गोलियाली भनी छुट्याउन नै मुस्किल हुन्थ्यो किनभने उनीहरू अङ्गोलियालीहरूजस्ता थिए । अङ्गोलियालीहरू पनि पोलो र टोमासेविचलाई आफ्नै मान्छे ठान्थे ।
पोलोप्रति फिडेलको निकै गहिरो विश्वास थियो । पोलो निकै साधारण पृष्ठभूमिबाट आएका थिए । उनी पूर्वी क्युवाको सिएरा माएस्त्रा पहाडी क्षेत्रको एउटा किसान परिवारबाट आएका थिए । उनी म जन्मेकै यारा सहरका थिए । विद्रोही सेनामा सामेल भएपछि उनले निकै अब्बल सैनिक क्षमता प्रदर्शन गर्दै आएका छन् । उनी असामान्यरूपमा बफादार व्यक्ति हुन् । पोलोलाई कुनै कामको जिम्मा लगाए त्यो पूरा गरेरै छोड्ने कुरामा फिडेल विश्वस्त थिए । त्यही भएर फिडेल उनलाई सबभन्दा कठिन र जटिल जिम्मेवारीहरू दिनुहुन्थ्यो ।
पोलोले नेतृत्वको विशिष्ट क्षमता प्रदर्शन गरेका छन् । सन् १९८३ मा सैनिक मिसनको प्रमुखको जिम्मेवारी सुम्पिँदा म उनीसँगै काम गर्थेँ । त्यत्तिबेला म हवानाको विशेष कमान्ड शिविर र अङ्गोलाको सैनिक नेतृत्वबीच सम्पर्कको लागि सम्पर्क अधिकारी थिएँ ।
मैले अगाडि पनि व्याख्या गरिसकेँ, काङ्गाम्बाको लडाइँमा मेनोनग्वेबाट आएको अतिरिक्त सेनाको सशस्त्र दस्ता हराएपछि कसरी पोलोले मलाई र हेलिकप्टर एकाइका प्रमुखलाई दुई हेलिकप्टरमा गएर हराएको दस्ताको खोजी गर्न पठाएका थिए । सम्पर्क अधिकारीको रूपमा मैले सामान्यतः यस्तो काम त्यसअघि कहिले पनि गरेको थिइनँ ।


“हेर्नोस्, म उच्च नेतृत्वको प्रतिनिधि हुँ”, मैले पोलोलाई भनेँ ।
“श्रीमान्, मलाई उच्च नेतृत्वको प्रतिनिधिको कुरा नगर्नुस्”, उनले जवाफमा भने, “देख्नुभएन ? तपाईँ हाम्रो एक जना बन्धु हुनुहुन्छ । तपाईँ मेरो जन्मथलोबाट हुनुहुन्छ । तपाईँलाई भन्दा बढी मैले कसलाई विश्वास गर्नसक्छु र ?” यो कुरा सुनेपछि म हेलिकप्टरमा बस्न राजी भएँ ।
समयान्तरमा म क्युवाली मिसनको सैनिक कारबाहीको प्रमुख बनेँ । मैले सशस्त्र हमलाका योजना बनाउन मद्दत गरेँ । पोलोले मलाई आफ्नो सहयोगी पनि बनाए । उनी अङ्गोलाको एक ठाउँबाट अर्को ठाउँमा विमानमा आउजाउ गर्थे । कुनै दिन उनले ‘बिहान ७ बजे हामी जलचरी हुनेछौँ’ भने हामी त्यत्तिञ्जेल विमानमा उपस्थित भइसक्नुपथ्र्यो । उनी कसैलाई कुरेर बस्दैनथे । एक दिन पोलो चढेको विमानले उडान भर्न लाग्दा मैले दाँतसमेत नमाझी दौडेरै विमानमा पुगेको थिएँ । ‘हब्सी, के तिमी यहीँ बस्छौ ?”, उनले भनेका थिए । उनी त्यस्ता थिए ।
कोपेल ः अङ्गोलामा अन्तर्राष्ट्रवादी अभियानमा फिडेलको नेतृत्वबारे केही भन्न सकिन्छ ?
भिल्लेगस ः विजय प्राप्त गर्न फिडेलको नेतृत्व निर्णायक थियो । उहाँ दिनरात नभनी सबै कुराबारे जानकारी राख्नुहुन्थ्यो । उहाँ हरेक दिन कमान्डको कार्यालयमा पुग्नुहुन्थ्यो । काङ्गाम्बा लडाइँको समयमा पोलो हरेक दिन राति ७ बजे रेडियोमा कमान्डर फिडेलसँग कुराकानी गर्थे । लडाइँको समयमा फिडेलले देखाउनुभएको दूरदर्शिताबारे मैले भनिसकेको छु । उहाँले लडाकुहरूलाई उत्साहित गर्ने तरिकाबारे पनि चर्चा भइसकेको छ । उहाँ सदैव लडाकुहरूको भलाइको लागि चासो र चिन्ता राख्नुहुन्थ्यो ।
चेले भन्नुभएको थियो, “फिडेलको महानता कुनै पनि विषयलाई विस्तृतरूपमा लिनु हो ।” अङ्गोलाको सङ्घर्षको क्रममा उहाँले सबै कुरा आफैंले हेर्न चाहनुभयो । सबै कुरा आफैं छामेर प्रमाणीकरण गर्न चाहनुभयो ।
“पोलो वा ओकाओ अथवा अरू कसैले के भन्यो भन्ने कुरा मलाई नसुनाउनू”, उहाँ मलाई भन्नुहुन्थ्यो, “तिमी आफूले के देख्यौ र छाम्यौ, त्यो कुरा भन्नु । अनि यदि सम्भव भए तिमीले देखेको र छामेको कुराको केही प्रमाण लिएर आउनू ।” त्यही भएर भिडियो क्यामरा बोक्ने गृहमन्त्रालयका एक जना युवा सिपाही मसँगै हिँड्ने व्यवस्था मिलाइयो ।
युनिटाका काम बढेसँगै र अङ्गोलाको स्थायित्व थप अलमल भएपछि फिडेलले घटनाक्रमलाई अझ निकटबाट पछ्याउन थाल्नुभयो । हामीले उहाँलाई थप सूचना र धेरै पटक सूचना दिइरहनु परेको थियो ।
त्यस्ता दिन पनि थिए जब म बिहान सबेरै ल्वान्डाबाट हवानातिर उड्थेँ र हवानामा दिनको दस बजेतिर पुग्थेँ । उनीहरू त्यहाँ मलाई कुरिरहेका हुन्थे । हामी नक्सा तयार पारी सबै वस्तुस्थितिको जानकारी कमान्डरलाई गराउनुपथ्र्यो । हामी सेनाको मन्त्रालयमा पुग्दा फिडेल अवस्थाबारे जानकारी सुन्न बसिरहनुहुन्थ्यो । अर्को बिहान ६–७ बजेतिर म फेरि ल्वान्डा फर्कथेँ ।
“केही समयअघि मैले हटाउन भनेको यो ट्याङ्क अझै यहीँ किन छ ?”, फिडेल सोध्नुहुन्थ्यो, “यो नामिबियाको सीमाबाट निकै नजिक छ । दक्षिण अफ्रिकीहरू सजिलै सीमा पार गरेर त्यहाँ पुग्न सक्छन् । हाम्रा सल्लाहकारहरू त्यो ठाउँमा हुनुहुन्न ।”
उहाँ हाम्रो विचार सोध्नुहुन्थ्यो, “यदि यो काम यसरी नभई त्यसरी भएको भए तपाईँ के गर्नुहुन्थ्यो ?”
कुइटोको लडाइँको समयमा मलाई फिडेलले सोध्नुभएको थियो, “तपाईँलाई के दक्षिण अफ्रिकीहरूले हमला गर्छन् जस्तो लाग्छ ?”
“अहँ, मलाई त्यस्तो लागेको थिएन ।”
“उनीहरूले हमला गर्दैनन् भन्नेमा तपाईँ ढुक्क हो ?”
“हो, म ढुक्क छु ।”
“हेर्नुहोला । उनीहरूले हमला गर्नेछन् ।”
अनि म अङ्गोला फर्केँ । मैले यो कुरा अङ्गोलास्थित कमान्डरलाई सुनाएँ । “कमान्डर फिडेलले उनीहरूबाट हमला हुनसक्ने बताउनुभएको छ । त्यसकारण, हाम्रा निश्चित स्थानमा तयारी अवस्थामा बस्नुपर्छ ।”
त्यसपछि म हवाना पुग्दा फिडेलले मलाई फेरि सोध्नुभयो,“के तपाईँलाई उनीहरूले हमला गर्छन् जस्तो लाग्छ ?”
“हो, लाग्छ । तपाईँले त्यही कुरा त भन्नुभएको थियो ।”
“अहँ, उनीहरूले हमला गर्नेछैनन् ।”
अनि मैले आफैंलाई प्रश्न सोधेँ, अब म यो कुरा लिएर फेरि कसरी मिसनको प्रमुखलाई यो कुरा सुनाउन सकुँला ?
फिडेल सबै कुराको विश्लेषण गरिरहनुहुन्थ्यो । परिवर्तित विषयको विश्लेषण गर्दै उहाँ निष्कर्ष निकाल्नुहुन्थ्यो ।
कहिलेकाहीँ म आफैँ समस्यामा फसेको थिएँ । फिडेल यताउता हिँडिरहन्थे । म उहाँको पछाडि हिँड्थेँ । उहाँ मलाई प्रश्न सोध्नुहुन्थ्यो र म उत्तर दिन्थेँ । कहिलेकाहीँ भने उहाँले केही प्रश्न नसोध्दा पनि म मेरो विचार उहाँसमक्ष राख्थेँ । मेरो यस्तो व्यवहार देखेर केही अधिकारीहरू भन्थे, “भिल्लेगस, यस्तो व्यवहारले उहाँप्रति तिम्रो सम्मान कम भएको देखाउँछ ।” उनीहरू मैले कमान्डरलाई जानकारी सुनाएर, चुपचाप उभिएर थप केही कुरा नगरोस् भन्ने चाहन्थे ।
तर, मलाई त्यसो गर्न गाह्रो थियो । मैले सम्मानमा कुनै कमी गरेको थिइनँ । फिडेलले नै त्यस्तो आत्मविश्वास जगाइदिनुभएको थियो । उहाँले यस्ता खालको व्यक्तिगत सम्बन्धको विकास गर्नुहुन्थ्यो, तपाईँलाई आफ्ना सबै सोचाइ उहाँसमक्ष पोख्नु आफ्नो दायित्व जस्तो अनुभव हुन्थ्यो । अरूलाई यस्तो व्यवहार मन पर्दैनथ्यो । तर, फिडेललाई यस्तो व्यवहार ठीक लाग्थ्यो ।
वाटर्स ः सन् १९८९ का मध्यतिर अङ्गोलामा लडाइँ जितिसकेपछि जनरल अर्नाल्डो ओचाओसहित क्युवाली क्रान्तिकारी सेना र गृहमन्त्रालयका तीन जना अधिकारीहरूलाई विदेशी राज्यमाथि निर्मम कार्य, लागुऔषध ओसारप्रसार र अख्तियार दुरूपयोगको आरोपमा कारबाही भयो । (सन् १९८९ को जून–जुलाईमा क्युवाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य डिभिजन जनरल अर्नाल्डो ओकाओ, क्रान्तिकारी सेनामा ओकाओका सुरक्षाकर्मी र गृहमन्त्रालयका दुई जना अधिकारीहरूविरुद्ध मुद्दा दायर, दायर मुद्दामा उनीहरू दोषी प्रमाणित भए र त्यही कारण ज्यान सजाय दिइयो । गृहमन्त्रालय र सेनाका अन्य केही अधिकारीहरूमाथि पनि मुद्दा चल्यो र दोषीलाई दसदेखि तीस वर्षसम्म जेल सजाय दिइयो । उनीहरूको मुद्दा पत्रिकामा प्रकाशित भयो र टीभी तथा रेडियोमा पनि प्रसारण गरियो ।) तिनताक सन् १९८७–८८ सम्म ओकाओ अङ्गोलामा क्युवाली मिसनका प्रमुख थिए ।
फिडेलले यो कुरालाई यसरी व्यक्त गर्नुभयो, “अङ्गोलामा जतिबेला गौरवशाली इतिहास लेखिदै थियो । सबभन्दा लज्जास्पद अध्याय पनि लेखिँदै थियो । अझ सबभन्दा निन्दनीय कुरा त अङ्गोलामा क्युवाली सैनिक मिसनका प्रमुख आफैं यो लज्जास्पद काममा सामेल थिए ।”
सन् १९८० दशकको उत्तर्राद्धमा क्युवामा भएको शुद्धीकरण आन्दोलनसँगै क्युवाली क्रान्तिले हासिल गरेका सफलताका साथै अङ्गोलामा प्राप्त विजयले क्युवाको क्रान्तिकारी नेतृत्व र क्युवाली जनतालाई तीतोभन्दा तीतो शृङ्खला सामना गर्न पनि सम्भव बनाएको थियो । तपाईँ यी घटनाक्रमको महत्वलाई कसरी हेर्नुहुन्छ ?
भिल्लेगस ः क्रान्तिको नेतृत्वलाई जब ओकाओको अवस्थाबारे जानकारी भयो, तब तत्कालै तथ्यको अनुसन्धान थालियो र यो चुनौती समाधान गरियो । यो मुद्दाको निरूपण क्युवा र सिङ्गो संसारसामु गरियो । यसको अनुसन्धान र निरूपण आन्तरिकरूपमा पनि गर्न सम्भव थियो । तर, पार्टी, सरकार र क्रान्तिकारी सेनाले कस्तो व्यवहार गरेको थियो भन्ने कुरा संसारसामु देखाउनु थियो । केही पनि काम गुपचुप गरिएन भन्ने कुरा देखाउनु महत्वपूर्ण थियो । अपराधका दोषीलाई आवश्यक कारबाही हुने कुरा देखाउनु थियो । अनि भयो पनि त्यही ।
अङ्गोलामा ओकाओका भ्रष्ट व्यवहार भौतिकरूपमा कम महत्वको घटना थियो । उनले केही हिरा ल्याएर कालो बजारमा बेचेका थिए । उनलाई हिराबारे थाहा थिएन । उनले हिरा भनेर स–साना ढुङ्गा किनेका थिए । त्यस्तो ढुङ्गा कसले किनोस् । त्यही भएर ती ढुङ्गा त्यसै रहे । तर, चोरी र आर्थिक स्रोतमा हिनामिना समाजवादमा अक्षम्य हुन्छ ।
ओकाओ अङ्गोलामा सैनिक मिसनका प्रमुख थिए । तर, पोलोलाई लडाइँको अन्तिम परिणाम निर्णय हुने र विजय प्राप्त हुने दक्षिणी सैनिक मोर्चाको कमान्डर बनाइयो । त्यतिबेला ओकाओलाई मुख्यतः क्युवाली मिसनका अन्य जिम्मेवारीमा संलग्न गरियो । त्यसको सैनिक कारबाहीमा खास केही महत्व थिएन ।


ओकाओ विद्रोही सेनाका लडाकु, भेनेजुयला र इथियोपियामा अन्तर्राष्ट्रवादी भूमिका र गणतन्त्रका नायकको विगतको आधारमा अङ्गोलामा पठाइयो । अङ्गोलामा सैनिक मिसनको प्रमुख हुनुको नाताले उनले हाम्रो क्रान्तिको इज्जतको प्रतिनिधित्व गर्थे ।
मुद्दा सुनुवाइको क्रममा ओकाओको लागुऔषध ओसारप्रसारमा पनि संलग्नता पुस्टि भयो । उनका सचिव कप्तान जोर्ज मार्टिनेजले मेदेलिन लागुऔषध सञ्जालका प्रमुख पाब्लो इस्कोबरलाई भेटेर इस्कोबारका कारोबारको लागि क्युवाली भूमि प्रयोग गर्न सकिने सम्भावनाबारे छलफल गरेका थिए । ओकाओले आफूमाथि लागेका सबै आरोप स्वीकारे ।
संरा अमेरिकाले यी सबै कुरालाई आफ्नो झूट फैलाउने अभियानमा प्रयोग गरी क्युवा सरकारलाई लागुऔषध ओसारप्रसारमा लागेको प्रचार गर्न सक्थ्यो ।
हाम्रो क्रान्तिकारी नेतृत्वको प्रतिक्रिया इमानदारी, भ्रष्टाचारविरुद्ध लड्ने र समाजवादका सिद्धान्तको रक्षाका उदाहरण हुन् । यसले क्युवाली क्रान्तिको उँचो नैतिक बल प्रदर्शन भएको थियो ।
नेपाली अनुवादः नीरज

Leave a Reply

Your email address will not be published. Required fields are marked *