भर्खरै :

पुस्तक समीक्षा मिहिनेत, परिश्रम, बचत र मितव्ययीको जादू ?

आजको संसारमा हामीजस्ता नयाँ पुस्ताको चाहना, आवश्यकता तथा आकाङ्क्षा धेरै हुनु स्वाभाविक हो । आवश्यक सामानहरूको सूची बनायौँ भने यो धेरै लामो हुन्छ । ती आवश्यकताहरू परिपूर्तिको लागि हामी धेरै हतारिन्छौँ र हामी त्यो प्राप्त गर्न चाहन्छौँ । हामी विद्यार्थीहरूको आप्mनै कमाइ हुँदैन, न त बचत । हामी ती कुराहरू प्राप्त गर्न अभिभावकलाई दबाब दिन्छौँ । तर, हाम्रा अभिभावकले त्यसको बन्दोबस्त कसरी गर्छन् हामी त्यसको मतलब गर्दैनौँ । हामी धनी हुने सपना पनि देख्छौँ । धनी व्यक्तिहरूको बाह्य जीवन हेर्छौँ र धनी भएको कल्पनामा डुबुल्की मार्छाैँ । तर, उनीहरू कसरी धनी भएका थिए भन्नेबारेमा केही बुझ्ने कोशिशसम्म गर्दैनौँ । उनीहरूको सफलताको रहस्य बुझ्नु आवश्यक छ र हामीले बुझ्नुपर्छ । यही विषयलाई सरल भाषामा बुझाउने उद्देश्यले प्रकाशित पुस्तकको नाम हो – ‘द रिचेस्टम्यान इन बेबिलोन’ अथवा बेबिलोनका सबभन्दा धनी व्यक्ति ।
पुस्तकमै दिइएको विवरणअनुसार बेबिलोन मानव सभ्यता सुरु भएको प्राचीन सहर हो । अन्य प्राचीन सभ्यताका मानिसले ढुङ्गाको हतियारहरू प्रयोग गर्दा बेबिलोनका वासीले धातुका हतियार प्रयोग गरिसकेका थिए । त्यस्तै, मूर्तिकला तथा चित्रकला बनाइ सुनका गहना बनाउनेजस्तो कलामा बेबिलोनवासी अत्यन्तै सिपालु देखिन्थे । कलाकौशलमा मात्र नभई व्यापार र पैसा लेनदेनमा पनि यिनीहरू सिपालु, सामानको किनबेच र साटासाट गर्न यहीँ पैसाको आविष्कार गरिएको दाबी गरिएको छ । त्यतिबेला बेबिलोनका मानिसले आफ्नो कथा र अनुभवहरूलाई माटोको ट्याब्लेटमा लिपिबद्ध गरेका थिए । उत्खननमा फेला पारेका यिनै ट्याब्लेटका लिपिलाई अनुवाद गरेर यस पुस्तकमा कथाहरू लेखिएको लेखकले भनेका छन् ।
एउटा कथा यस्तै थियो । डाबासिर एक उटको व्यापारी थियो । उसले आफूलाई ऋण दिने ऋणीलाई आफू बेबीलोनकै एक धनी व्यक्ति कसरी सफल भयो भन्ने कहानी सुनाउँछ । डाबासिरलाई सिरियामा दास बनाइएको थियो । दास हुनु अगाडि ऊ गाउँमा घोडाको काँठि बनाउँथ्यो । उसले आफ्नो आम्दानीभन्दा खर्च बढी गर्न थाल्यो । ऊ ऋणमा नराम्ररी डुब्छ र ऋण तिर्न लुटेरा बन्छ । तर, डमास्कसमा पक्राउ परेपछि डाबासिरलाई दास बनाइन्छ । डाबासिरका मालिकको दोस्रो श्रीमती सिराले उसको अतीतलाई कोट्याउँदा ऊ ऋणमा डुबेको कुरा थाहा पाउँछ । उँटको व्यापार गर्ने काममा लगाउँछ । पछि सिराले एउटा उँट दिएर डाबासिरलाई उँटको व्यापार गरी ऋण तिर्न पठाउँछ । उँटको व्यापारमा निपुण भई ऊ सबैको ऋण तिर्न सफल हुन्छ । अर्को कथामा अर्कड भन्ने व्यक्तिले इँटा बनाउने मानिस अजमूरलाई पैसा सापत दिन्छ । कसरी पैसा तिर्छौँ भन्दा अजमूरले त्यो पैसाले सुनका राम्रो गहना बनाएर फर्काउँछु भन्छ । आखिरमा अजमूरले न सुन किन्न सक्छ न राम्रो गहना बनाउँछ अन्ततः पैसा डुब्छ ।
बेबिलोनका राजा सारगन युद्धबाट फर्केर घर आउँदा सरकार प्रमुख चान्सलरले बेबिलोनवासीहरू बेरोजगार भएर केही सामानहरू किन्न नसक्दा सबै जनताकै आर्थिक अवस्था ठप्प भएको सुनाउँछ । राजाको आदेश र निर्देशनमा विशाल नहर र भव्य भवनहरू बनाउँदा उनीहरूले कमाउन पाए उनीहरूको आर्थिक कारोबार राम्रै थियो । तर, ती निर्माणको काम सकिएपछि उनीहरू कामविहीन भएको राजालाई सुनाए । राजाले आश्चर्य चकित भएर सोधे – मैले लडाइँ जितेर ल्याएका यतिका सुन चाँदीहरू तीन घर, भव्य मन्दिर र भवन बनाउन खर्चेका थिए । ती कहाँ गए त ? ती सबै प्राकृतिक नियमानुसार अब थोरै धनीहरूको हातमा गयो । बजारमा सुन चाँदीको किनबेच पनि थप्प भयो । जवाफ सुनेर राजा आश्र्चयमा पर्छन् र फेरि जिज्ञासा राख्छन् – यी थोरै मानिसहरूले मात्र कसरी ती सुन हातमा पार्न सके त ? चान्सलरले जवाफ दिए किनकि तिनीहरूसित कसरी धन आर्जन गर्ने भन्ने ज्ञान छ । त्यही ज्ञानको कारणले तिनीहरूले सुन चाँदी थुपार्न सफल भएको भए उनीहरूलाई सजाय पनि गर्न मिलेन महाराज । त्यसपछि राजाले अर्को जिज्ञासा राखे, के यी सर्वसाधारणलाई यस्तो ज्ञान सिकाउन सकिँदैन र ? राजाको यही जिज्ञासाले बेबिलोनमा सबभन्दा धनी व्यक्ति आरकाडलाई राजाले डाक्छन् र सर्वसाधारणलाई पैसा जोगाउने र धनी हुने ज्ञान सिकाउन अ¥हाउँछन् । आरकाडले सभाहलमा दुई सय सर्वसाधारणलाई सात दिन लगाएर सातवटा शत्रुको व्याख्या गर्छ ।
पुस्तकले बचत गर्ने किन र कसरी भन्ने कुरालाई बुझाउन खोजेको छ । मिहेनत नगरी कमाइँदैन, लगानी गर्दा सही ठाउँमा सही समयमा गर्नुपर्ने, विषयवस्तुमा ज्ञान नभएकोलाई त्योसँग सम्बन्धित काममा लगाउन नहुने कुरालाई जोड दिइएको छ । पुस्तकले आफ्नो आम्दानीभन्दा खर्च बढी गर्न नहुने, कमाएको धनलाई अझ वृद्धि कसरी गर्ने र त्यसको खर्च के कस्ता ठाउँमा सही तरिका र सही समयमा खर्च गर्ने भन्ने पाठ सिकाउँछ । मानिस वैभवशाली बन्न भाग्यमा होइन काम र परिश्रममा विश्वास गर्नुपर्ने र विलासिताको लागि अपव्यय खर्चबाट टाढा रहनुपर्ने कुरालाई विशेष जोड दिइएको छ । विद्यार्थीहरूलाई प्रारम्भिक वित्तीय ज्ञानको लागि यो पुस्तक साह्रै उपयोगी देखिन्छ । यो पुस्तक हरेक व्यक्तिले जीवनमा एकपटक पढ्नैपर्ने हो कि जस्तो लाग्छ ।
(पल्पसा हाल एमबीबीएस पढ्दै गरेकी विद्यार्थी हुन् ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *