भर्खरै :

तःमुंज्या साहित्यिक, सांस्कृतिक र ज्ञान आर्जन गर्ने दबु

नेपालभाषा साहित्य तःमुंज्या साहित्यिक र सांस्कृतिक दबु हो । तःमुंज्याको यो दबुमा विभिन्न साहित्यकारहरूको कविता, कथा, निबन्ध आदि वाचन हुन्छ । विभिन्न विज्ञहरूबाट मन्तव्य दिइएको हुन्छ । यही मञ्चमा गीत नृत्य प्रस्तुत हुन्छ । यही दबुमा ख्याल, नाटक देखाइन्छ । यस हिसाबले नेपालभाषा साहित्य तःमुंज्या बहुआयामिक दबु हो । यस दबुबाट देश विदेशको राजनीति, इतिहास, शिक्षा, संस्कृति, स्वास्थ्य आदिबारे थाहा हुन्छ । किनभने, यस मञ्चमा शिक्षाविद्, संस्कृतिविद्, इतिहासविद्, चिकित्सक, मनोविद्, जलस्रोतविद्, अर्थविद्, साहित्यकार र राजनीतिज्ञहरूबाट मन्तव्य दिइएको हुन्छ ।
तःमुंज्या ज्ञान आर्जन गर्ने दबु हो । यस दबुबाट धेरै कथाकार, कवि, निबन्धकार जन्मे । धेरै कलाकारहरू जन्मे । धेरै गायकहरू जन्मे । धेरै व्यङ्ग्यकर र एकाङ्कीकार जन्मे । यसैले यो दबु महत्वपूर्ण दबु हो । यो स्थापित दबु हो । यो प्रगतिशील साहित्य वाचन हुने दबु हो । हरिबहादुर श्रेष्ठद्वारा रचित ‘जनताको साहित्य र साहित्यकार’ मा लेखिएको छ, “सबै माक्र्सवादी साहित्य प्रगतिशील हुन्छन् तर सबै प्रगतिशील साहित्य माक्र्सवादी हुँदैनन् ।” हो, सामन्तवाद, पुँजीवादी, विस्तारवाद, साम्राज्यवाद, पुरानो र नयाँ उपनिवेशवादको विरोध गर्ने साहित्य प्रगतिशील हुन्छ । किसान र पिछडिएको वर्गमाथिको शोषण र दमनको विरोध नै सामन्तवादको विरोध हो । विदेशी हमला, थिचोमिचो, असमान सन्धि, विदेशी एकाधिकार पुँजीको विरोध गर्नु, आर्थिक, राजनीतिक, सैनिक र सांस्कृतिक हस्तक्षेपको विरोध गर्नु सामन्तवाद र साम्राज्यवादको विरोध गर्नु हो । यस दबुमा यस्तै माक्र्सवादी साहित्य वाचन गरिएको हुन्छ ।
यो वर्षको तःमुंज्याको दबु विदेशीलाई सजिलैसँग नागरिकता दिन नहुने विषयमा केन्द्रित रह्यो । एमसीसी सम्झौताको विरोधमा केन्द्रित रह्यो । विदेशी हस्तक्षेप, सीमा अतिक्रमणको विरोधबारे केन्द्रित रह्यो । सिद्धान्त र विचारभन्दा पैसा, बल, धम्की दिने राजनीतिको विरोधमा केन्द्रित रह्यो । झूटको खेती गर्ने र आश्वासन दिने राजनीतिको विरोधमा केन्द्रित रह्यो । राजनीति श्रमजीवी वर्गको हितमा गर्नुपर्नेमा केन्द्रित रह्यो । देशबेचुवा दलको विरोध पनि यस दबुमा भयो । हरेक नागरिक देशभक्त, हुनुपर्ने र देश बचाउनुपर्ने अभियानमा लाग्न जोड दिइयो । हरेक नागरिकले इमानदारीपूर्वक कर्तव्य निर्वाह गर्नुपर्नेमा जोड दिइयो । यस्तो महत्वपूर्ण दबुलाई सफल पार्न सबैले आ–आफ्नो स्थानबाट सक्दो सहयोग गर्नुपर्नेमा जोड दिइयो । जनताको सहयोग र साथले नै तःमुंज्या स्थापित भइसकेको छ । यो देशभर नाम चलेको संस्था हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *