भर्खरै :

गरिबी निवारणमा सहकारी संस्थाहरूको भूमिका

विश्वका विभिन्न विकासशील देशमा गरिबी निवारणमा समुदायमा आधारित सहकारी संस्थाहरूको भूमिका प्रभावकारी रहेको पुष्टि भएका छन् । समुदायमा आधारित सहकारी संस्थाहरूले आर्थिक लगानी, सीप विकास र अवसरको सिर्जना तथा मार्गदर्शनमार्फत सदस्य र समुदायलाई नै गरिबीबाट उकास्ने गरेका छन् । नेपालमा पनि कतिपय समुदायमा गरिबी निवारणमा र आर्थिक विकासमा समुदायमा आधारित सहकारीहरूको भूमिका उल्लेखनीय देखिएका छन् । निश्चय पनि गरिबी निवारणका लागि सहकारीको भूमिकामात्र पर्याप्त हुँदैन, त्यसमा सरकारको अगुवाइ र व्यवस्थापन पनि जरूरी छ । कतिपय ठाउँमा समुदायले नै सहकारी आन्दोलनको उद्देश्य र कार्यविधि राम्ररी बुझ्न नसक्दा र सहकारीका सञ्चालकहरूले सहकारीको मूल मर्म र उद्देश्यअनुसार काम नगर्दा सहकारी एउटा सानो वित्तीय संस्थामा सीमित भइरहेका उदाहरण पनि छन् । समुदायमा आधारित नरहेका सहकारी संस्थाहरूका लागि आर्थिक कारोबार र नाफा नै मुख्य हुने गर्छ र समुदायको हित त्यसपछिको प्राथमिकता हुने गर्छ ।
गरिबी निवारणबारे छलफल चल्दा गरिबी र गरिबहरूबारे केही मतभिन्नताहरू देखापर्ने गरेका छन् । गरिबीसम्बन्धी धेरैको बेग्लाबेग्लै परिभाषा र धेरै देशका आ–आफ्नै मापदण्डहरू छन् । तर पनि संयुक्त राष्ट्र सङ्घ र त्यस मातहतका संस्थाहरूले तय गरेका मापदण्डभित्र परेका मानिसहरूलाई विश्वव्यापीरूपमा गरिबको रूपमा लिने गरिन्छ । हाम्रो सन्दर्भमा पनि ती मापदण्ड धेरै हदसम्म सही नै लाग्छ । भोकमरीले सताइएका, खानाका लागि घरमा अन्नको भण्डार नभएका, आवास नभएका र सार्वजनिक सडकपेटी, पाटीपौवा, पार्क आदिमा बास बस्न बाध्य, बिरामी भएर पनि डाक्टरले जँचाउन, अस्पताल जान र औषधि उपचार खर्च जुटाउन असमर्थ, आर्थिक अभावका कारण विद्यालय भर्ना हुन असमर्थ, रोजगार नभएका र पैतृक सम्पति वा कुनैखाले लगानी कतै नभएका, दैनिक दुई डलरभन्दा कम आम्दानी गर्ने र झुपडी घर तथा अस्वस्थ वातावरणको घरकोठामा बस्न बाध्य मानिसहरू गरिब हुन् । यी मापदण्डमध्ये कुनै न कुनै आधारमा हाम्रो समुदायका पनि मानिसहरू अझै गरिबीमा रहेका छन् ।
हाम्रै समुदायमा कतिपय मानिसहरू हातमा एउटाभन्दा बढी सीपमा पोख्त भएर पनि काम नपाउँदा र आफैले लगानी गरी स्वरोजगार बन्न नसक्दा लाचार भएर मागी मागी गुजारा चलाइरहेका पनि छन् । सहकारीकर्मीहरूले त्यस्ता मानिसहरूको सीपलाई समुदाय र समाजको उपयोगमा ल्याउने र तिनीहरूलाई रोजगारी दिलाउने वा स्वरोजगार बनाउने सम्भावनातिर पनि ध्यान पु¥याउनुपर्छ । धरौती राखी ऋण लिन असमर्थ सीपका धनीहरूलाई सदस्यहरूको जमानीमा लगानी गरिदिएर स्वरोजगार बनाउन र आम्दानी हुने वातावरण बनाउन सकिन्छ । हस्तकलाका सामानहरूको उत्पादन र बिक्री, व्यावसायिक तरकारी खेती र बजारीकरण, लुगा धुने साबुनको उत्पादन र बिक्री, परम्परागत घरबुन्ना कपडा उत्पादन र त्यसको बजारीकरण, पाउरोटीलगायत तयारी खानेकुराको उत्पादन र बजारीकरण, जुत्ता–चप्पल, ब्याग, ज्याकेट आदिको उत्पादन आदि स्वरोजगारका सम्भाव्य क्षेत्र रहेका छन् । सहकारी सदस्यहरूले विदेशबाट आयातीत वस्तुभन्दा आफ्नै समुदाय र सहकारीका सदस्यहरूले उत्पादन गरेका वस्तुको उपभोगमा जोड दिनुपर्छ । त्यसबाट एकातिर हाम्रो सहकारी र समुदायका सदस्यहरूको आर्थिक उत्थान हुनेछ भने अर्कोतिर देशको पैसा विदेशिनबाट रोकिएर देशको व्यापार घाटा कम गर्न सघाउ पुग्नेछ ।
हाम्रो समुदायमा शैक्षिक बेरोजगारहरूको सङ्ख्या दिनानुदिन बढ्दै गएको देखिरहेका छौँ । कुनै सरकारी नोकरीको लागि ४ वटा पदका लागि आवेदन माग गरिँदा ४ हजारभन्दा बढीले आवेदन दिएको समाचार पढिरहेका छौं । धेरैले भेटघाटको क्रममा भनसुन गरेर रोजगार मिलाइदिन अनुरोध गर्ने गरेको अनुभव हामीसित छ । यसले हाम्रो समुदाय र देशमा बेरोजगारीको समस्या कति गम्भीर समस्याको रूपमा रहेको छ भनी अनुमान लगाउन सक्दछौँ । हामीकहाँ अलि बढी तलब–सुविधा पाइने र कम मेहनत गर्नुपर्ने सरकारी वा अर्धसरकारी रोजगारी खोज्ने आम प्रवृत्ति कायमै छ । तर, सरकारले सकेसम्म आफ्नो खर्च कटौती गर्ने र जनताप्रतिको जिम्मेदारबिाट भाग्ने नवउदारवादी व्यवस्थामा त्यस्तो रोजगारीको अवसर निकै कम सङ्ख्याले मात्र पाउँछन् । अर्कोतिर मेहनत नगरी, पसिना नचुहाई, नयाँ नयाँ प्रविधि र तरिकाले काम नगरी हाम्रो सहरी जीवनको आवश्यकता पूरा नहुने तथा हाम्रो समुदाय र देशको विकास नहुने पक्ष पनि छर्लङ्गै छ । विज्ञान र प्रविधिको युगमा प्रवेश गरेसँगै हामीलाई डाक्टर, इञ्जिनियर, पाइलट, डेन्टिस्ट, अप्टिसियन,रेडियोलोजिस्टजस्ता उच्च दक्ष जनशक्तिका साथै दक्ष डकर्मी, सिकर्मी, प्लम्बर, इलेक्ट्रिसियन, अटोमेकानिक, मोबाइल मेकानिक्स, इलेक्ट्रोनिक्स, लुगा सिउने टेलर, कपाल काट्ने र मिलाउने हेयर ड्रेसर, अफिस तथा रुम डेकोरेटर, मिठो खाना पकाउने कुक तथा शेफहरू, हलुकादेखि भारी सवारी चलाउने चालकहरूलगायत आ–आफ्नो पेशामा पोख्त जनशक्ति पनि जरूरी छ । सहकारीहरूले समुदायमा कुनै पनि पेशा र श्रम महत्वपूर्ण छ भन्ने भावना विकास गर्नमा र समुदायलाई आवश्यक यस्ता सीपहरूको तालिम सञ्चालन गरी आफ्ना सदस्यहरूलाई स्वरोजगार बनाउनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नसक्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *